बाँकेको बाढी प्रभावित वस्तीमा युवाको हातेमालो

बाँकेको राप्तीपारि विभिन्न क्षेत्रमा बाढीले प्रभाव परेपछि राहत र उद्दारको कार्य अघि बढे संगै युवाहरुको एउटा टोली गाउँमै गएर पीडितहरुलाई सघाउँदै आएको छ ।
गाउँमा बाढीका कारण ध्वस्त भएका घर, विद्यालय सहित अन्य भौतिक पूर्वाधारहरु पुर्ननिर्माणमा सहयोग र सरसफाई ब्यवस्थापन जस्ता कार्यमा सहयोग गर्न गाउँ पुगेका युवाहरु अहिले स्थानीयहरु लाई सघाइरहेका छन् ।
बाढीबाट चारैतिर प्रभावित भएपछि कामदार नपाउने समस्यालाई समाधान गर्दै युवाहरुले निःशुल्क रुपमा श्रमदान गर्न थालेका हुन् । भत्किएको घर, गोठ, विद्यालय लगायतको भौतिक संरचनाहरु निर्माणमा युवाहरुले भूमिका निर्वाह गरेका छन् ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नं.५ र ६ मटेहिया तथा गंगापुरमा क्रियटिभ चियर्स नेपाल, बागेश्वरी असल शासन क्लब (बास), आइएचआरसी र क्रियटिभ पिस भोलेन्टियर क्लबबाट सो क्षेत्रमा दिनहुँ १६ जना युवाहरु श्रमदान गर्दै आएका हुन् । मुख्य रुपमा गंगापुर स्थित जयकिसान माविमा करिब ५ फिट सम्म बाढी कारण माटो र बालुवा जमेको थियो त्यसलाई पूरै सफा गरियो, दैनिक नेपालगन्ज संग कुरा गर्दै स्थलगत रुपमा खटिएका खेम विष्टले भने, त्यसपछि स्थानीय भोजपुरमा रहेको मदरसामा सरसपफाई भएको हो ।

 

 

‘विद्यालयमा पठनपाठनको वातावरणनै थिएन’,विष्टले भने, ‘हामीहरुले आवश्यक सरसफाई गरेपछि अहिले स्थिति राम्रो भएको छ ।’ ‘त्यसपछि बाढीका कारण धवस्त भएको सडकमा खाल्डो पुर्ने कामहरु भएको छ’, उनले भने, ‘कम्तिमा मोटरसाइकल आवत जावत हुने खालको सडक सुचारु भएको छ ।’

 

गाउँमा युवाहरुको टोली निशुल्क काम गर्न पुगेपनि स्थानीयहरुबाट भरपर्दो सहयोग प्राप्त नभएको उनीहरुको गुनासो छ । हामीहरुलाई आवश्यक औजार समेतको सहयोग माग्न समस्या भइरहेको बताउदै भण्डारीले भने, ‘तरपनि केहि काम गर्ने प्रयास भएको छ ।’


स्थानीयहरुको घर आँगन पुनः राम्रो स्थितिमा फर्कियोस भन्ने उद्देश्यले गाउँ पुगेका युवाहरुले करेसाबारीमा पुरिएको माटो समेत हटाएका छन् । ‘युवाहरुलाई यसरी निःशुल्क श्रममा लगाएर बाढी पीडितहरुलाई केहि सहयोग गर्न खोजिएको हो, युएनडीपीका सतीष पाण्डेले भने, ‘चारैतिर राहत र उद्दारको चर्चा भइरहँदा यसरी युवाहरुलाई श्रमदानका लागि गाउँमा पठाइएको हो ।’

 


‘राज्यबाट प्राप्त हुने सुविधा बाढी पीडितले पाउँछन् नै’, दैनिक नेपालगन्ज संग कुरा गर्दै पाण्डेले भने, ‘पीडाको समयमा पीडितहरु संग कुरा गर्ने र उनीहरुको काममा हातेमालो गर्ने ब्यक्ति कोही पनि देखेर युवाहरुलाई नयाँ किसिमबाट परिचालन गरिएको हो ।’ ‘यो नितान्त भोलिन्टियर सेवा हो, अभियानमा सहभागी रहेका युवा सुरेन्द्र चलाउनेले भने, ‘स्थानीयहरुमा पनि यसरी नै एकअर्काको सहयोग गर्ने वातावरण बनोस भन्ने उद्देश्यले यो अभियान संचालन गरिएको हो ।’

 
‘विद्यालयमा विद्यार्थी बस्ने अवस्था थिएन, मदरसाको हालत र सडकको दुर्दशापनि उस्तै थियो, पछिल्लो पाँच दिन भित्र विभिन्न स्थानमा सुधारका कामहरु भएका छन्’, चलाउनेले भने, ‘विद्यार्थीहरु बस्ने लायक भएको छ विद्यालय ।’ पछिल्लो दुई दशक देखि बाढीले हरेक वर्ष गंगापुर, मटेहिया, विनौना, बैजापुर, होलिया, बेतहनी लगायतको क्षेत्रलाई प्रभावित पार्दै आएको छ । सरकारी संयन्त्र राहतमा सक्रिय भएका बेला युवाहरुले श्रमबाटै पनि राप्तीपारिका बासिन्दालाई केहि सुविधा उपलब्ध गराएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया