निर्वाचन पछि समृद्धि

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले २००७ सालदेखि हालसम्म राजनैतिक अस्थिरता कायम हुदै आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका हुन् ।

 

 
सुर्खेतबाट धनगढी जाने क्रममा बा“केको गाभरमा पत्रकारहरुसग संक्षिप्त कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था लागु गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘विगतमा अन्य दलहरुले समेत प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा सहमति जनाइ सकेकाले लागु गर्न अवरोध नहोला’, उनले भने । राष्ट्रिय हितका लागि सबै दल मिलेर अगाडी बढ्न आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

 

 
स्थानीय तहको निर्वाचनमा काग्रेस सगै गरिएको तालमेल प्रभावकारी नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा थप गृहकार्य गरेर तालमेल गर्ने संकेत गरेका छन् । उनले भने, ‘अबका दिनमा थप गृहकार्य गरेर तालमेललाई अगाडी बढाइनेछ ।’ उनले आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी समेत गरे ।
प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण उपलब्धीमूलक रुपमा लिएको अध्यक्ष प्रचण्डले बताएका थिए । उनले संविधान संशोधनका विषयमा भने प्रधानमन्त्री देउवाले अनावश्यक रुपमा बोलेको टिप्पणी गरे । उनले भने, ‘संविधान संशोधनको विषय आन्तरिक भएकाले भारतमा बोल्न आवश्यक थिएन ।’ प्रचण्डले संंविधान संशोधनको विषय अहिलेलाई सकिएको पनि बताए ।
प्रचण्डले प्रदेश र केन्द्रको चुनाव निर्धारित समयमै हुने दावी गरे । स्थानीय तहको चुनाव २ नम्बर प्रदेशमा सफलतापुर्वक हुने कुरामा शंका नगर्न जोड दिएका प्रचण्डले मंसिर १० गते तोकिएको प्रदेश र केन्द्रको निर्वाचनमा समेत त्यसैगरी व्यापक जनसहभागिता रहने विश्वास गरे ।
तोकिएका सबै निर्वाचन गरेर संविधान कार्यान्वनको प्रक्रियालाई सुनिश्चित गर्नेमा आफुहरुको सम्पूर्ण ध्यान नै केन्द्रित भएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले ‘त्यसपछि देश राजनीतिक स्थीरता र आर्थिक समृद्वि तिर अगाडि बढ्ने’ टिप्पणी गरे ।
माओवादी अध्यक्ष प्रचण्ड, माओवादी नेताहरु नारायण काजी श्रेष्ठ, राम बहादुर थापा, महेश्वर गहतराजलाई गाभर भ्यालीका सचिव कृष्ण चौधरी लगायतले स्वागत गरेका थिए । त्यसक्रममा सचिव चौधरीले गाभरको विकासका लागि भावी योजना बारे माओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया