सुन तस्करीमा मूर्ति चोरीका अभियुक्त

बाँकेमा लामो समय देखि नक्कली सुन बेच्दै आएको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेपछि पुराना मुद्दा र अभियोजनहरु पनि खुलेका छन् । ल्याब रिपोर्ट प्राप्त नभएपनि प्रहरीले दावी गरेको नक्कली सुन बरामद प्रकरणमा पक्राउ परेका तीन जना मध्ये जाजरकोट सक्ला गाउँपालिका वडा नं.६ बस्ने २६ वर्षिय पूर्ण बहादुर बिक २०७१ माघ २२ गते बुद्ध मूर्ति सहित पक्राउ परेका थिए ।

 
अभियुक्त बिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरी प्राचीन स्मारक चोरी मुद्दा दर्ता गरी ५० हजार रुपैया“ धरौटीमा उनी रिहा भएका थिए । त्यसअघि बिक दांग जिल्लामा पनि प्राचीन स्मारक मुद्दा खेपी सकेका थिए ।
शनिवार नेपालगन्ज स्थित एउटा होटलमा सुनको अवैध खरीद बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले कारवाही गर्दा पूर्ण बहादुर बिक, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.५ बस्ने ४० वर्षिय कृष्णलाल श्रेष्ठ र बाँके राप्ती सोनारी गाउँपालिका वडा नं.६ बस्ने २८ वर्षिय मंगल प्रसाद थारु पक्राउ परेका हुन् ।

 
प्रहरीले उनीहरु सुन खरीद बिक्रीको कारोबारमा संलग्न रहेकै अवस्थामा होटल रोयलको रुम नं.२०३ मा तीनै जनालाई रंगे हात पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार पत्रकार भेटघाट गरी बरामद भएको सुन र अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

 
अभियुक्तहरुले यसअघि बरामद भएको सुनको तौल ४ केजी रहेको दावी गरेपनि प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बरामद भएको वस्तु सुन नभई फलाम, प्लास्टिक र सिसा मिश्रित सुनझै देखिने लेप लगाएको २ केजी ३०५ ग्राम ५ पिस वस्तु भएको दावी गरेको छ ।

 
‘यद्यपि सुन ब्यवसायी संघको प्रारम्भिक जाँचबाट प्रहरीले बरामद भएको वस्तु सुन नभएको दावी गरेको हो । ल्याब जाँच र रिपोर्ट आएपछि उक्त वस्तु बारे यकिनका साथ भन्न सकिन्छ’, पत्रकारहरु संग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले भने, ‘सामान्य रुपमा हेर्दा पनि सुन नभएको देखिन्छ, ।’

 
सर्व साधरणहरु झुक्याएर सुनको नाममा फलाम र सिसा बेच्ने गरेको अवस्थामै रंगे हात पक्राउ गरिएका अभियुक्तहरु यसअघि बाँकेमा विभिन्न ब्यक्तिहरुलाई सुनको नाममा नक्कली धातु बिक्री गरिसकेको तथ्य खुलेका छ । ‘यिनीहरुको गिरोहले नयाँ र अनुभवहीन ब्यक्तिहरुलाई सुनको नाममा ठगी गर्दै आएको हो’, एसपी तामांगले भने, ‘सुन बारे राम्रो जानकारी नभएको ब्यक्तिलाई मात्रै गिरोहले सुन बेच्ने काम गरेको छ ।’

 
‘पर्दा भित्र धेरै ब्यक्तिहरु छन्, विस्तारै अनुसन्धान अघि बढाएका छौं’, एक अनुसन्धान अधिकृतले भने, ‘हामी तह सम्म पुग्छौं ।’ ‘नक्कली सुन मात्रैको विषय होइन, यो ठगीको पनि सन्दर्भ हो’, उनले भने, ‘सामान्य नागरिकहरुलाई सुनको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको हो ।’ पक्राउ परेका तीनै जना माथि कालो बजार तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन २०५२ अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया