बैजनाथको बजेट ३८ करोड बढी

बैजनाथ गाउँपालिकाका लागि ३८ करोड बढी बजेट प्रस्ताव गरिएको छ । बिहीबार गाउँपालिकाको प्रथम गाउँसभामा उपप्रमुख शारदा विश्वकर्माले आ.व. ०७४÷०५ का लागि ३८ करोड ३० लाख ३५ हजार ३० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेकी हुन् ।

 
कार्यक्रममा उपप्रमुख विश्वकर्माले चालु खर्च तर्फ ५ करोड ४८ लाख ८३ हजार ४ सय ६० रुपैया, पूँजीगत खर्च तर्फ २१ करोड ९३ लाख ७७ हजार ४ सय सत्तरी रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाको योजना व्यवस्थापनका लागि १८ लाख ९८ हजार रुपैयाँ बजेट छुट्याउने प्रस्ताव उपप्रमुख विश्वकर्माले गरेकी थिइन् ।

 

विषयगत कार्यालयको लागि संघीय सरकारबाट सशर्त अनुदान १० करोड ६८ लाख ८५ हजार रुपैयाँ रहेको कार्यक्रममा उपप्रमुख विश्वकर्माले प्रस्तुत गरेकी थिइन् । अनुमानित आय प्रस्तुत गर्दै उपप्रमुख विश्वकर्माले १ करोड रुपैयाँ राजश्वबाट प्राप्त हुने अनुमान प्रस्तुत गर्दै मौज्दात ५६ लाख ५७ हजार ७ सय २९ रुपैयाँ, राजश्व बचत ६ लाख उनन्पचास हजार ३ सय १ रुपैयाँ र संघीय सरकारबाट समानिकरण अनुदान २५ करोड ९८ लाख, ४३ हजार रुपैयाँको प्राप्त हुने गाउँसभामा जानकारी दिएकी थिइन् ।

 
कार्यक्रममा बोल्दै उपप्रमुख विश्वकर्माले बजेटमा गाउँपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार, साँस्कृतिक तथा पर्यावरण, संस्थागत तथा सामुदायिक विकासलाई प्राथमिकीकरणमा राखिएको जानकारी दिइन् । उनले बजेटले आर्थिक विकास र गरिवि निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक र छिटो प्रतिफल प्राप्त हुने, राजश्व परिचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

 
गाउँसभामा गाउँपालिका प्रमुख मान बहादुर रुचालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद लगायतका क्षेत्रको विकासका लागि विशेष जोड दिइएको छ । गाउँपालिका प्रमुख रुचालले सभामा भौतिक पूर्वाधार विकासको लागि सार्वजनिक, निजी साझेदारीको अवधारणालाई प्रोत्साहित गर्ने नीति लिने जानकारी गराएका थिए । त्यसका लागि गाउँपालिकामा ५० प्रतिशत गाउँपालिकाबाट र ५० प्रतिशत निजी वा उपभोक्ता क्षेत्रबाट लगानी गर्ने गरी भौतिक पूर्वाधार निर्माणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए ।

 
कार्यक्रममा बोल्दै प्रमुख रुचालले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने व्यवस्था गर्ने जानकारी दिएका थिए । विद्युतीय क्षमता अभिवृद्धि नीति लिइने जानकारी दिंदै प्रमुख रुचालले त्यसका लागि गाउँपालिका स्तरमा नै टूान्सफरमर, विद्युत पोल र तारको व्यवस्था गर्ने बताए ।

 

 
विपद् व्यवस्थापनका लागि पालिका स्तरमा कोषको व्यवस्था गर्ने, अपांगता मैत्री संरचना निर्माण गर्ने, अपांग प्रवद्र्धन कोष स्थापना गर्ने, एक वडा एक खेल मैदानको नीति लिइने, कभर्ड हलको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो ।

 
गाउँपालिकाको विकासका लागि ५ बर्षे रणनीतिक योजना तयार गरी यसैबर्ष देखि कार्यान्वयन गर्ने जानकारी दिंदै प्रमुख रुचालले व्यवस्थित सहरीकरणका लागि सार्वजनिक तथा प्रति जग्गाको लगत संकलन गरी गाउँपालिकाको सम्पत्तिको रुपमा अभिलेखिकरण गरी बस्ती विकास योजना तर्जुमा निर्माण गर्न सम्बन्धित निकायमा आवश्यक गरिने जानकारी दिएका थिए ।

 

 
गाउँपालिकाको नीति तथा कार्यक्रममा प्राविधिक शिक्षालयका लागि पहल गर्ने, वातावरण संरक्षणका लागि प्रत्येक घरधुरीले कम्तिमा ४ वटा रुख लगाउनु पर्ने, करेसाबारी बनाउनु पर्ने लगायत उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया