बाढी पीडित भन्छन्, ‘चिउरा, चाउचाउ होइन दाल, चामल देउ’

साप्ती सोनारी गाउपालिका अन्तरगत बैजापुर क्षेत्रका बाढी पीडितहरुले आफुहरुलाई चिउरा चाउचाउ होइन दाल चामल र नुन तेलको आवश्यकता भएको बताएका छन् ।

 
बाढी प्रभावित क्षेत्रको अवस्था बुझन बैजापुर पुगेका मानव अधिकारकर्मीहरुको टोलीसंग बाढी पीडितहरुले घरमा भएका सबै खाद्यबस्तु बाढीले नष्ट गरिदिएको कारण जिउनका लागि खाद्यान्नको साथै अस्थायी
बसोवासका लागि त्रिपाल र लत्ताकपडाको आवश्यकता परेको बताएका हुन् । राप्तीसोनारी गाउँपालिका अन्तरगत वडा नं ३ को साइपुरमा प्राय सबै जसो घरहरु भत्किदा भण्डारण गरिएका अन्नपात लगायत घरायसी बस्तुहरु नोक्सानी पुगेको बताउदै स्थानीय अत्तोरी थारुले गोठ भत्किएर ठुलो संख्यामा घरवालुवा जनावर समेतको मृत्यु भएको बताए ।

 

 
लालपुरको अवस्था अझ बिकराल छ । लालपुरका झण्डै ४० घर पूर्ण रुपमा नष्ट भएका छन् । घर भित्रका सामान सबै काम नलाग्ने भएका छन् । लालपुरमा ३ बालिकाहरूको मृत्यु भएको थियो । लालपुरमा अहिले सम्म गाऊँ पालिका बाहेक कोहि पनि नपुगेको पीडितले गुनासो गरेका छन् । गाउँका बासिन्दा दिनभरी भत्किएका घर वरिपरि पीडामा रन्थनिने गरेका छन् भने रातीको समयमा नजिकैको बिद्यालयमा गएर ओत लाग्ने गरेका छन् । बाढी प्रभावितहरु बैजापुर स्थित सरस्वती र गणेशपुर प्राबि स्कूलमा रातीको समयमा बस्ने गरेका छन् ।

 

 
राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेल, इन्सेकका क्षेत्रीय संयोजक भोला महत, फियानका क्षेत्रीय प्रमुख सुरेश कुमार गौतम र अधिकृत प्रकाश नेगी, उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष वसन्त गौतम, थर्ड एलायन्सका आलम खाँ, अधिकारकर्मीहरु रबिन्द्र कर्ण, कमला पन्थ लगायतको टोलीले राप्ती सोनारी गाउँपालिका अन्तरगत बैजापुर क्षेत्रका बाढीले पु¥याएको क्षति र बाढी पीडितहरुको अवस्था बारे जानकारी लिएको थियो ।

 

 
यस क्रममा गाउँपालिकाका प्रमुख लाहुराम थारुले गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ का सिनापुर, साईपुर, नारायणपुर, भवानीयापुर, लालपुर, भगवानपुर, ललही, आलिपुर सुनटेपरी, फत्तेपुर, झगडिया लगायतका क्षेत्रमा बढी प्रभावित तुल्याएको जानकारी दिए । बाढी प्रभावितहरुका लागी अव चाउचाउ र चिउरा भन्दा पनि दाल चामल र नुन तेलको आवश्यकता रहेको अध्यक्षले थारुले बताए । यस क्षेत्रका अधिकांश घर भत्किएकाले अस्थायी बसोवासका लागि त्रिपाल लगायतका लत्ता कपडाको आवश्यकता परेको अध्यक्ष थारुले बताए । बाढी प्रभावित क्षेत्रमा गाईवस्तु पुरिएर मरेका कारण माहामारी फैलन सक्ने भएकाले त्यस तर्फ सम्बन्धित क्षेत्रको ध्यान जानु पर्ने एमाओवादीका पूर्व सांसद पल्टु थारुले बताए ।

 

 
अधिकारकर्मीहरुको स्थलगत भ्रमणका क्रममा साईपुर र लालपुर क्षेत्रमा प्राय सबै जसो घर भत्किएको, घरका अन्नपात लगायतका सामाग्रहरु पुर्ण रुपमा नष्ट भएको र बाढीले घरवालुवा जनावर राख्ने गोठ समेत भत्किएका कारण गाई भैसी भेडा बाख्रा लगायतका घरवालुवा जनावरको पुरिएर मृत्यु भएका कारण गाउँमा दुगन्ध फैलिएको पाइएको अनुगमनमा संलग्न अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

 
बाढीले बैजापुर क्षेत्रका घरगोठलाई मात्रै होइन बालबालिकाले पढ्ने बिद्यालय समेतलाई नोक्सानी पु¥याएको छ । ३ सय ५० जना बिद्यार्थीले पढ्ने बैजापुरको नवलपुरमा रहेको जनजागृती आधारभुत बिद्यालयलाई बाढीले बिद्यालयका सम्पूर्ण सामाग्राीहरु नोक्सान पु¥याएको छ ।

 
८ कक्षासम्म पढाई हुने उक्त विद्यालयका सबै कक्षा कोठामा हाल हिलाम्ये छ भने कक्षा कोठामा विद्यार्थी बस्ने कार्पेट, चकटी, फर्निचर लगायत बिद्यालयको प्रशासन कक्षमा रहेका कम्युटर, पुस्तक लगायतका सामाग्रीलाई पूर्ण रुपमा नोक्सानी पु¥याएको पाइएको अनुगनमा संलग्न फियानका क्षेत्रीय प्रमुख सुरेश कुमार गौतमले जानकारी दिए । विद्यालयमा बाढी पसी कक्षा कोठामा अझै हिलाम्य छ भने सामाग्री हरु काम नलाग्ने गरि नोक्सानी पु¥याएको इन्सेकका भोला महतले बताए ।

 
यसैबीच, बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेका अधिकारकर्मीहरुले आज बिहीबार प्रमुख जिल्ला अधिकारीलाई भेटी बाढी प्रभावित क्षेत्रको अवस्था र जिल्ला दैवी प्रकोप उद्दार समितिले गर्नु पर्ने कार्यका बारेमा ध्यानाकर्षण गराउने राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया