नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनमा ढकालको नेतृत्व

नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनको दोस्रो अधिवेशन बाट अध्यक्षमा नन्दलाल ढकाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष बाहेकका पदहरुमा भने निर्वाचन भएको संस्थापक अध्यक्ष विनोद मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार, उपाध्यक्षमा शिवराज रिजाल, सचिवमा टेक बहादुर थापा, सहसचिवमा सुरेन्द्र कुवर, कोषाध्यक्षमा दामोदर सापकोटा निर्वाचित भए । त्यस्तै, सदस्यहरुमा देव बहादुर कुवर, मुकेश वाडिया, मदनलाल जैसी, राजेन्द्र कुमार साहू, राम कुमार प्रसाई, अब्दुल वाहिद अन्सारी निर्वाचन भएको मैनालीले जानकारी दिए ।
त्यसअघि, विद्युतीय सामाग्री कारोबार गर्ने व्यवसायीहरुले विद्युतीय सामाग्रीको मूल्यमा एकरुपता ल्याउन आवश्यक रहेको औंल्याएका छन् ।

 

शनिबार नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनको दोस्रो अधिवेशन र तेस्रो बार्षिक साधारणसभा उद्घाटन बोल्दै एशोसिएनका विभिन्न जिल्लाका नेतृत्वहरुले स्वच्छ प्रतिस्पर्धाका लागि मूल्यमा एकरुपता आवश्यक रहेको बताएका हुन् । अधिवेशन उद्घाटन सत्रमा बोल्दै नेपाल विद्युतीय व्यवसायी सहासंघका केन्द्रीय अध्यक्ष तेज नारायण खरेलले विद्युतीय तारको गुणस्तर र मूल्यका सम्बन्धमा महासंघले उत्पादकहरुसग पहल गरिरहेको जानकारी दिए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका खरेलले गुणस्तरीय वस्तु बिक्री र प्रयोगमा जोड दिंदै व्यवसायीहरुलाई त्यसतर्फ सजग रहन सुझाव दिए ।

 
व्यवसायीहरुले उत्पादकबाट सामान खरिद गर्दा मूल्य भन्दा कममा बिल लिने गरेको तर्फ संकेत गर्दै अध्यक्ष खरेलले त्यसबाट खरिद र बिक्रीमा देखिने फरकले ठूलो मुनाफा देखिदा व्यवसायीले झन्झट व्यहोर्नु परिरहेको बताए । लेखा व्यवस्थापनमा हुने कमजोरी र गल्तीका कारण व्यवसायीहरुले झेल्दै आएको बताउदै अध्यक्ष खरेलले भने, ‘जिल्लाले माग गरेमा तालिमको समेत व्यवस्था महासंघले गर्नेछ ।’ उनले संगठनका सदस्यहरुलाई आवश्यक प्राविधिक लगायतका तालिम दिन महासंघ तयार रहेको उनले बताए ।

 
लोडसेडिङ्ग कम गर्न सिएफएल, एलइडि बल्ब प्रयोग बढाउनु पर्ने धारणा राख्दै अध्यक्ष खरेलले उत्पादकले सामाग्री बनाउ“दा गुणस्तरमा ध्यान दिनुपर्ने र सेवाग्राही तथा बिक्रेताले समेत गुणस्तर चिन्ह प्राप्त विद्युतीय बस्तु मात्र खरिद र प्रयोग गर्नुपर्ने धारणा राखे ।

 
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले व्यवसायीहरुलाई ठेक्का, टेण्डरहरुबाट काम गर्दा ध्यान पुर्याउन आग्रह गरे । उनले प्रतिस्पर्धामा टेण्डर हात पार्न कममा टेण्डर स्वीकार गर्दा पछि काम नै गर्न नसक्ने अवस्था आउन सक्ने भएकाले व्यवसायीहरु त्यसतर्फ सचेत हुनुपर्ने धारणा राखे । उनले विद्युत खपत कम गर्न सिएफएल, इलइडि बल्बलाई प्रोत्साहन गर्ने बताए ।
नगर प्रमुख डा. राणाले नगरमा सरसफाईको कामले गति लिन थालेको उल्लेख गर्दै भने, ‘२ वटा ट्याक्टर रहेको उपमहानगरपालिकामा हाल ६ वटा ट्याक्टरले फोहोर उठाइरहेका छन् ।’ बर्षा मौसम भएकाले मर्मत कार्य तत्काल गर्न नसकिने अवस्था रहेको भन्दै सडक निर्माण र मर्मत सम्भारका लागि नगरबासीले केही समय कुर्न आग्रह गरेका थिए ।

 
अधिवेशनमा एशोसिएसनका सचिव शिवराज रिजाल खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसक्रममा उनले व्यवसायीबाट लिइ“दै आएको प्रति कार्टुन ५ रुपैया गत असार देखि अन्त्य गरेको जानकारी दिए ।
एशोसिएसनका अध्यक्ष विनोद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हिरालाल प्रसाईले स्वागत गरेका थिए । त्यसक्रममा एशोसिएसनका कानुनी सल्लाहकार इश्वरी प्रसाद ज्ञवालीले एशोसिएनमा बढी भन्दा बढी इलेक्ट्रिकल व्यवसायीलाई समेट्न तर्फ ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन ओविराज आचार्यले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया