सोमबार मृत भेटिएका नेपाल बैंक लिमिटेड बर्दियाका प्रबन्धक प्रमोद बर्माको घटनाबारे प्रहरीले पोष्टमार्टम रिपोर्ट पर्खिरहेको जनाएको छ ।
बेपत्ता भएको तीन दिनपछि अगैया जंगलमा झुण्डिएको अवस्थामा फेला परेका बर्माको घटनालाई ‘हत्या या आत्महत्या’ भन्ने कुराको एकिन गर्न पोष्टमार्टम रिपोर्टले मात्रै सम्भव हुने प्रहरी अधिकारीको भनाइ छ । ‘घटनाबारे हामी गम्भीर छौं’, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी सुरेश काफ्लेले भने ।
घटनाको छानविन माग
नेपाल बैंक लिमिटेड वर्दियामा कार्यरत प्रमोद वर्माको रहस्यमय मृत्युका सम्वन्धमा तत्काल सत्य तथ्य सार्वजनिक गर्न अधिकारकर्मीले माग गरेका छन् ।
मानव अधिकार तथा शान्ति समाज दाङले घटनाको तत्काल छानविन गरी दोषीलाई कानूनी वमोजिम कारवाहीको माग गरेको छ । समाजका सभापति सुरेश हमाल र सचिव शरद रेग्मीले विहीवार एक विज्ञप्ती जारी गरी घटनाका वारेमा गम्भिर वन्न स्थानीय प्रहरीलाई अनुरोध समेत गरेको छ ।
त्यसैगरी राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले पनि घटना वारे प्रहरीको ध्यानाकर्षण गराएको छ ।
समितिका वरिष्ठ उपाध्यक्ष भरतनाथ योगी र प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले विज्ञप्ती जारी गरी समितिका पूर्व कर्मचारी सिताराम वर्माको छोराको ‘हत्या’ भएको भन्दै घटनाको यथासक्य छिटो छानविन गर्न माग गरेको छन् ।