प्लाष्टिक रोक्न सचेतना अभियान

वातावरणका लागि निकै ठूलो चुनौति बन्दै गैरहेको प्लाष्टिक झोलाको प्रयोग रोक्न नेपालगन्जका युवाहरुले सचेतना अभियान सुरु गरेका छन् । हिमालयन क्लाइमेट इनिसियटिभको पहलमा राष्ट्रिय स्वयंसेवकहरुले शुक्रबारदेखि प्लाष्टिक विरुद्ध सचेतना अभियान सुरु गरेका हुन् ।

 
‘९ महिनाभित्र १ लाख जनाको हस्ताक्षर संकलन गरी प्लाष्टिक झोला प्रयोग विरुद्ध नेपालगन्ज उपमहानगरपालिकालाई बुझाइदै छौं’, शुक्रबार अभियान शुभारम्भमा ३ सय १० जनाको हस्ताक्षर संकलन गरिसकेको जानकारी दिंदै टिम लिडर अवधराज शर्माले भने । उनका अनुसार, प्लाष्टिक प्रयोग विरुद्ध प्रतिबद्धताको हस्ताक्षर संकलन सगै गणेशमान चोकदेखि युवाहरुको सचेतना र्याली पुष्पलाल चोकसम्म पुगेको थियो ।

 
सचेतना र्यालीमा सहभागी युवाहरुले विभिन्न चोकमा नृत्यसगै प्लाष्टिक झोलाको नकारात्मक प्रभावबारे जानकारी गराएका थिए । ‘पर्दैन ! म सग आफ्नो झोला छ’ हिमालयन क्लाइमेट इनिसियटिभको अगुवाईमा भैरहेको अभियानले प्लाष्टिक झोलाको विकल्पमा कटनको झोला प्रयोग गर्न जोड दिएको छ । ‘त्यसका लागि मुक्त कमैया विकास मञ्चलाई अनुरोध गरेका छौं’, कपडाको झोला उत्पादनमा सामुदायिक महिलाहरुको अग्रसरता खोजीरहेको जानकारी दिंदै शर्माले दैनिक नेपालगन्जसग भने, ‘कागजको झोलाका लागि बि–ग्रुपसग साझेदारी गर्न खोजिरहेका छौं ।’ त्यसका लागि जमुनाहका शिख समुदायका महिलाहरुलाई पेपर ब्याग तालिम पनि दिन लागिएको शर्माले जानकारी दिए ।
‘यो वातावरण जोगाउने महान अभियान हो’, हिमालयन क्लाइमेटिभ इनिसियटिभका प्रमुख कार्यक्रम प्रमुख शर्माले राष्ट्रिय स्वयंसेवा कार्यक्रम मार्फत स्वयंसेवकहरु तयार गरिएको जानकारी दिंदै भने, ‘यसमा सबै क्षेत्रका सकारात्मक शक्तिहरु जोडिएर जान सक्छन् ।’ नेपालगन्जमा ४० जना युवाहरु राष्ट्रिय स्वयंसेवक तयार भैसकेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया