कोट फि बिनै चेक अनादर मुद्दा दर्ता हुने

बसन्त गौतम
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासद्वारा चेक अनादर मुद्दाको फिराद दर्ता गराउँदा कोट फि रकम नलाग्ने आदेश गरेको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र गणेश प्रसाद बरालको संयुक्त इजालसले चेक अनादर मुद्दा दुनियावादी फौजदारी भएकोले त्यस्तो मुद्दामा कोर्ट फि नलाग्ने आदेश गरेको हो । ‘उक्त आदेश पछि अब चेकको रकम बैंकबाट भुक्तानी हुन नसकेको चेक अनादर सम्बन्धी मुद्दा कोट फि लाग्दैन,’ मुद्दामा बहस गरेको अधिवक्ता लोक बहादुर शाहले भने ।
यसअघि सम्म बाँके जिल्ला अदालतले चेक अनादर मुद्दालाई देवानी मुद्दा मानी फिरादपत्र दायर गर्दा दावी विगोको लगभग दुई प्रतिशत कोर्ट फि लिने गरेको थियो । बर्दिया तथा काठमाडौँ जिल्ला अदालतमा समेत चेक अनादर मुद्दालाई दुनियावादी फौजदारी मानी कोर्ट फि नलिई फिराद दर्ता हुने गरेपनि बाँकेमा भने कानूनको मनसाय बिपरित कोट फि रकम लिदै मुद्दा दर्ता गर्ने गरिएको छ । ‘गलत भइरहेको थियो,’ कानुन व्यवसायी भन्छन् ।

बाँके जिल्ला अदालतमा समेत केहि समय पहिले कोर्ट फि नलिई फिराद दस्तुर वापत ५० रुपिया“ मात्रै लिई फिरादपत्र दर्ता गरी पैmसला हुने गरेको थियो । तर, पछिल्लो समय अदालतमा नयाँ श्रेस्तेदार सरुवा भई आए पश्चात चेक अनादर मुद्दामा कोर्ट फि लिने र देवानी दायरीमा फिरादपत्र दर्ता गर्ने प्रचलन रहेको अधिवक्ता पवन कुमार गुप्ताले बताए ।
चेक अनादर मुद्दामा स्थानीय विशाल आलेले श्री बाँके जिल्ला अदालतमा कोर्ट फि नराखी फिराद दर्ता गर्न गएकोमा दर्ता नहुने भनी श्रेस्तेदार दण्डपाणी लामिछानेले मिति गत बैशाख २० गते फिरादपत्र दरपीठ गरि दिएका थिए । उक्त दरपीठ आदेश बदर गरी पाउँ भनी आलेले जिल्ला न्यायाधीश समक्ष उजूरी निवेदन दिएका थिए । उक्त निवेदन उपरको सुनुवाईमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले समेत चेक अनादर मुद्दा देवानी प्रकृतिको भएकोले फिरादपत्र दर्ता गर्न कोर्ट फि राख्नै पर्ने भनी गत जेठ ५ गते आदेश गरेका कारण फिराद पत्र दर्ता हुन सकेको थिएन ।
‘श्रेस्तेदार र जिल्ला न्यायाधीशको उपरोक्त बमोजिमको आदेश पश्चात पनि विशाल आलेको कानूनी लडाई जारी राखे,’ अधिवक्ता शाहले भने । जिल्ला अदालतका श्रेस्तेदार र न्यायाधीशले गरेको आदेश बेरित र गैरकानूनी रहेको भन्दै दुबै आदेश बदर गरी पाउँ भनी उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दिइएको उजुरी निवदेन उपर सुनुवाई भएको हो ।
‘चेक अनादर मुद्दालाई देवानी मानी कोर्ट फि लिने गरी श्रेस्तेदार र जिल्ला न्यायाधीशबाट भएको दुबै आदेश रितपूर्वकको नदेखिँदा बदर गर्दै चेक अनादर मुद्दा दुनियावादी फौजदारी दायरीमा दर्ता गरी अ.बं.७५ नं. बमोजिम रु.५० फिराद दस्तुर लिई फिरादपत्र दर्ता गर्र्र्नु’ उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासबाट उक्त मुद्दामा भएको आदेशमा भनिएकोे छ ।
उच्च अदालतबाट उपरोक्त बमोजिम भएको आदेशले न्यायको अनुभूति मिलेको निवेदक आलेले बताए । चेक अनादर मुद्दाको फिराद दायर गर्दा कुनै जिल्ला अदालतले देवानी मानी कोर्ट फि लिने र कुनै जिल्ला अदालतले दुनियावादी फौजदारी मानी कोर्ट फि नलिने गरी अदालत पिच्छे असमान कार्यविधि रहेकोमा यस आदेशले स्पष्ट दिशानिर्देश दिएको अधिवक्ता शाहले बताए । यसरी बाँके जिल्ला अदालतले लामो समयदेखि चेक अनादर मुद्दाको कोर्ट फि लिने गरेकोमा अबदेखि कोर्ट लिन नपाउने भएपछि न्यायका उपभोक्ता लाई सहज र सरल बनेको छ ।

 

निवेदकका तर्पmबाट वरिष्ठ अधिवक्ता भोला सिंह हमालका साथै अधिवक्ताहरु टिकाजंग सिंह, मोहम्मद अयूब सिद्दिकी, लोक बहादुर शाह, पवन कुमार गुप्ता, र जनक बहादुर शाही समेतले बहस पैरवी गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया