बाके : सुनुवाईमा उपभोक्ता अधिकार

बाँकेको क्षतिपूर्ति समितिले उजुरीहरुको सुनुवाई प्रक्रिया अगाडी बढाएको छ । समितिमा दर्ता भएका ४ वटा उजुरीहरुमा सुनुवाई प्रक्रिया अगाडी बढाइएको हो । समितिका संयोजक समेत रहेका, बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले अस्पतालमा चिकित्सकले उपचारमा लापरवाही गरेका कारण क्षति पुगेको भन्दै समितिमा दायर उजुरीहरुको कारवाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।
विहीवार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको क्षतिपूर्ति समितिको बैठकले उजुरीमा बिपक्षी बनाइएका ब्यक्ति तथा अस्पतालहरु संग लिखित जवाफ माग्ने निर्णय गरेको छ । ‘मुख्य बिवादित बिषयमा सम्बन्धित बिशेषज्ञको राय लिने निर्णय पनि गरिएको छ,’ समितिका सदस्य, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले दैनिक नेपालगन्ज सँग भने । प्रजिअ पन्थका अनुसार, बाँकेका बिभिन्न अस्पतालहरुले बिरामीको उपचारका क्रममा लापरवाही गरेका कारण आफुहरुलाई मर्का परेका भन्दै समितिमा हाल ४ वटा उजुरी बिचाराधिन अवस्थामा छन् ।

 

क्षतिपूर्ति समितिमा भेरी अंचल अस्पताल अस्पतालले हेमा देवी छन्त्यालको उपचारका क्रममा लापरवाही गरि क्षति पु¥याएको भन्दै पहलमान सुनारले उजुरी दर्ता गराएका छन् । निवेदक इश्वर कुमार गिरीले फत्तेबाल आँखा अस्पताल फुल्टेक्राले आँखाको अपचारका क्रममा लापरवाही गरेको आरोप लगाउदै क्षतिपूर्ति मुद्धा दायर गरेका छन् ।
त्यस्तै निवेदक सब्बिर अलि साईले नेपालगन्ज मेहिकल कलेज शिक्षण अस्पताल कोहलपुर बिरुद्धमा क्षतिपूर्ति समितिमा उजुरी दर्ता गराएका छन् भने निवेदक नारायण प्रसाद भट्टराईले नेपालगन्ज स्थित माँ जानकी हस्पीटल प्रातिका बिरुद्धमा क्षतिपूर्तिको उजुरी दायर गरेको समितिले जनाएको छ । निवेदकहरुले अस्पताल र चिकित्सक विरुद्ध उजुरीगरेका हुन् ।

 
यसअघिनै पनि बाँके जिल्ला स्थित क्षतिपूर्ति समितिले लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज समेतका बिरुद्धमा परेको एक उजुरीका सम्बन्धमा सुनुवाई गर्दै पीडित पक्षलाई रु एक लाख रुपिया क्षतिपूर्ति दिलाई दिने निर्णय गरेको थियो ।
नेपालगन्ज भृकुटीनगरकी राज कुमारी शाह कर्णले आफ्नी आमा तेज कुमारी शाहको उपचारमा अस्पतालले लापरवाही गरेका कारण मृत्यु भएको भन्दै दश लाख रुपिया क्षतिपूर्तिको माग गर्दै गत २०७३ साल मंसिर २० गते उजुरी दायर गरेकी थिइन् ।

 
उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ अनुसार ऐनको बिपरित हुने गरि कुनै उपभोग्य बस्तु तथा सेवा बिक्री वितरण तथा प्रदान गरेको कारणबाट कुनै उपभोक्तालाई कुनै किसिमको हानी नोक्सानी हुन गएमा त्यस्तो उपभोक्ता वा उपभोक्ताको तर्फबाट कुनै उपभोक्ता संस्थाले त्यस्तो उपभोग्य बस्तु वा सेवा बिक्रि बितरण वा प्रदान गर्ने ब्यक्तिबाट क्षतिपूर्ति भराई पाउँ भनी निवेदन दिन सक्ने ब्यवस्था छ । क्षतिपूर्ति समितिमा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ अध्यक्ष, जिल्ला सरकारी अधिवक्ता टेक बहादुर थापा, जिल्ला मेडिकल अधिकृतमा भेरी अंचल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बिरेन्द्र बहादुर चन्द, नेपाल सरकारले तोकेको जिल्ला उपभोक्ता संस्थाको प्रतिनिधिको रुपमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता बसन्त गौतम, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र नेपाल सरकारले तोकेको अधिकृत सदस्य रहने ब्यवस्था छ ।

के के बिषयमा गर्न सकिन्छ उजुरी ?

अनुचित ब्यापारिक क्रियाकलाप संग सम्बन्धित कुनै काम कारवाहीमा कुनै ब्पापारी संलग्न रहेको, खरिद गरेको वा खरिद गर्नु पर्ने वा खरिद गर्न मन्जुर गरेको कुनै उपभोग्य बस्तु कमसल भएको पाइए उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार क्षतिपूर्ति समितिमा उजुरी दिन सकिन्छ ।

 

जानकारहरुका अनुसार, उपभोक्ताले प्राप्त गरेको वा प्राप्त गर्न मञ्जुर गरेको सेवामा कुनै किसिमको त्रुटि वा कमि रहेको अवस्थामा पनि उजुरी लाग्छ । ‘निर्धारित मुल्य भन्दा बढी मुल्य लिई उपभोग्य बस्तु वा सेवा बिक्रि बितरण वा प्रदान गरेको वा गर्ने नियत राखेको पाइएपनि उजुरी दिन सकिन्छ,’ समितिका सदस्य अधिवक्ता बसन्त गौतमले भने । उपभोक्ताको जिउ, ज्यान, सम्पत्तिमा खतरा वा जोखिम पुग्ने वा पुग्न सक्ने किसिमका उपभोग्य बस्तु बिक्रि बितरण गरेको वा गर्ने नियत राखेको पाइएपनि उजुरी दिन सकिने अधिवक्ता गौतमले बताए ।

 

अधिवक्ता गौतमका अनुसार, उपभोक्ता संरक्षण ऐन र नियमावली वा अन्य प्रचलित कानूनको बिपरित उपभोक्ताको हक हितमा प्रतिकुल असर पर्ने किसिमको कुनै काम कारवाहीमा कुनै ब्यक्ति वा सस्थाको संलग्नता रहेको पाइएमा सम्बन्धित उपभोक्ता, उपभोक्ताको अधिकारको क्षेत्रमा कार्यरत सस्था, नेपाल सरकार वा नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्व भएको कुनै सस्था वा एकै प्रकृतिका सामुहिक हितसंग सम्बन्धित एक वा एक भन्दा बढी उपभोक्ताले उजुरी दिन सक्ने कानूनी ब्यवस्था छ ।

प्रतिक्रिया

प्रतिक्रिया