नेपालगन्ज उपमहा नगरपालिकाका लागि छाडा पशु व्यवस्थापन गतिलो चुनौतिका रुपमा देखा परेको छ । छाडा पशु नियन्त्रणमा लिई जंगलमा छाड्ने गरिएको भएपनि केही समयमै सडकमा छाडा पशुको संख्या उस्तै देखिन थालेपनि उपमहानगरका लागि हैरानी बनेको छ ।
नगर क्षेत्रमा छोडिएका पशुहरु उपमहानगरपालिकाले प्रहरीको सहायतामा कान्जी हाउसमा पुर्याउने गरेको छ । ‘कान्जी हाउसमा लगिएका पशु पशुधनी लिन आएमा जरिवाना गरेर छाड्ने गरेको छौं’, नेपालगन्ज उपमहानगरपालिकाका निरीक्षण शाखा प्रमुख पवन कुमार कनोजियाले भने, ‘कोही लिन नआएपछि पशुलाई जंगलमा लगेर छाडिन्छ ।’ उनले बुधबार मात्र ८९ वटा पशुचौपाया दाङ्गको इमलिया जंगलमा लगेर छोडेको जानकारी दिए । सडकमा छाडिएका पशुका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले उपमहानगरपालिकाले पशु नियन्त्रणमा लिने गरेको छ । उपमहानगरपालिकाले कान्जी हाउसमा राखेका पशुको संरक्षण र दानापानीका लागि कर्मचारीको समेत व्यवस्था गरेको छ । जंगलमा छाडिएको कतिपय पशु स्थानीयबासी लग्ने गरेपनि केही पशु पुनः नेपालगन्ज नै फर्किने गरेको बताइन्छ ।
निकुञ्जमा छाडा चौपाया निषेध
बाके राष्ट्रिय निकुञ्ज क्षेत्रमा लगेर छाडा चौपाया छोड्न लागेपछि निकुञ्ज प्रशासनले आपत्ति जनाएको छ । नेपालगन्ज उपमहा–नगरपालिकाले नगर क्षेत्रमा भएका छाडा चौपाया लगेर निकुञ्जको मध्यवर्तीमा छोड्ने गरेपछि निकुञ्ज प्रशासनले आपत्ति जनाएको हो ।
‘दुई पटकसम्म मध्यवर्ती क्षेत्रका विभिन्न ठाउमा छाडा चौपाया छोडिएको सूचना आएपछि अहिले निषेध गरिएको छ’, निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले भने ।
संरक्षण अधिकृत भण्डारीका अनुसार, निकुञ्ज क्षेत्रमा छाडा चौपाया छोडिदा वन्यजन्तु संक्रमणको जोखिम रहन्छ । ‘अहिले त्यसको असर तत्काल देखिंदैन’, भण्डारीले दैनिक नेपालगन्जस“ग भने, ‘दीर्घकालीन रुपमा वन्यजन्तु
संक्रमणको ठूलो जोखिम देखापर्न सक्छ ।’ भण्डारीका अनुसार, अन्यत्र लैजाने भन्दै मध्यवर्ती क्षेत्रमा छाड्न थालिएपछि निकुञ्ज चनाखो बनेको हो ।
‘जथाभावी चौपाया छाडिदा सडक दुर्घटनामा पछि वृद्धि भएको छ’, भण्डारीले भने, ‘निकुञ्ज क्षेत्रमा चौपाया छाड्ने काम गलत हो ।’ समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालका अध्यक्ष कृष्ण चौधरीले छाडा चौपाया जैविक विविधताका लागि चुनौति भएको बताए । ‘यसरी छाडा चौपाया निकुञ्ज क्षेत्रमा कुनै हालतमा छोड्न दिइन्न’, अध्यक्ष चौधरीले भने ।