निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु गरेपछि बाकेमा दैनिक १ हजार मतदाता थपिएका छन् ।
साउन १ गतेदेखि क्षेत्रीय निर्वाचन कार्यालयमा नामावली दर्ता गराउने व्यवस्था रहेपनि गत सोमबार देखि स्थानीय तहमा दर्ता व्यवस्था मिलाइएको हो । क्षेत्रीय निर्वाचन अधिकारी बसन्त राज अधिकारीका अनुसार, मंगलबार र बुधबार दैनिक एक हजार बढीले मतदाता नामावली दर्ता गराएका छन् ।
बुधबार ५ सय १५ महिला सहित १ हजार ५७ जनाले बाकेमा मतदाता नामावली दर्ता गराएका छन् । आठ वटै तहको तथ्यांका अनुसार, सबैभन्दा बढी नेपालगन्ज स्थिति क्षेत्रीय कार्यालयमा २ सय ७० र कोहलपुरमा २ सय ३५ जना जना मतदाता थपिएका छन् ।
मंगलबार १ हजार ८५ जनाले नामावली दर्ता गराएका छन् । नामावली दर्ता गराउनेमा सबैभन्दा बढी ५ सय ५९ जना महिला छन् । सबैभन्दा बढी क्षेत्रीय निर्वाचन कार्यालयमा ३ सय ४९ जनाले नामावली दर्ता गराएको अधिकारीले जानकारी दिए ।
क्षेत्रीय निर्वाचन अधिकारीका अनुसार, सोमबार पनि ८ सय ८५ मतदाता थपिएका थिए । ती मध्ये आधा बढी ४ सय ५५ जना महिलाले मतदाता नामावली दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसअघि साउन १५ गतेसम्म क्षेत्रीय निर्वाचन कार्यालयमा साउन १ गते यतामात्रै ४ हजार ३ सय १ महिला सहित ८ हजार ७ सय ५५ मतदाता थपिएको क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले जानकारी दिए ।