कहिले होला सुग्घर नेपालगन्ज ?

के नेपालगन्ज सफा हुन्छ ? नेपालगन्जका मेयर डा. धवल समशेर राणा शनिबार कर्मचारी मिलन केन्द्रमा हतारिंदै थिए । सम्वाददाताको प्रश्नमा संगै रहेकी उपमेयर उमा थापातिर हेर्दै उनले भने, ‘सम्भव छ । १५ वर्ष त सफाइ कर्मचारी सडक मै गएनन् । अब म आफै सडकमा कुचो लगाउन आउँछु ।’

 
नगर प्रमुखको दृढ विश्वासमा शंकाको लाभ त दिन सकिन्छ । तर, व्यवस्थित ल्याण्डफिल साइटसम्म आफ्नै नभएको नेपालगन्ज उपमहानगरपालिका साँच्चिकै सफा होला र ! शंका प्रशस्त छ । क्लीन नेपालगन्ज ग्रीन नेपालगन्ज भनेर नेपालगन्जमा ५० हप्ता देखि निरन्तर सडक बढारेका सफाइ अभियन्ता डा.विनोद कर्ण भन्छन्, ‘चेतना वृद्धि भएको छ ।

 

पहिले झगडा गर्न आउनेहरुले अहिले रियलाइज गरेका छन् । अब हामी प्लाष्टिक फ्रि नेपालगन्ज बनाउन तिर जानुपर्छ ।’
नेपालगन्ज उपमहानगरपालिका फोहरमैला व्यवस्थापन शाखाका प्रमुख अशोक केसी भन्छन्, ‘नेपालगन्जमा हाल दैनिक करिब ३० ३२ टन फोहर उत्पादन हुन्छ ।’ उनले यसमध्ये करिब ६५ प्रतिशत मात्र अर्थात २२ टन सम्म मात्र उठ्ने गरेको उनले जानकारी दिए । हाल ५८ जना सफाइ कर्मचारी (स्वीपर) रहेको नेपालगन्ज उप महानगरपालिकाले प्रत्येक वडामा स्वीपरको दरबन्दी पुर्याउने भन्दै २५ जना नयाँ स्वीपरको आवेदन मागेको छ ।

 
नेपालगन्ज उपमहानगर पालिकाको अहिले ल्याण्डफिल साइट बनिरहेको छैन । फोहरको व्यवस्थापन गर्ने ठाउँको अभावले फोहर उठ्न सकेको छैन । छाडा चौपाया मरे भने कहाँ व्यवस्थापन गर्ने समस्या रहेको केसीले बताए । उपमहा नगरपालिकासंगको सहकार्यमा नेपालगन्जमा तीन संस्थाहरुले फोहर उठाउने काम गरिरहेका छन् ।

 
सामुदायिक सशक्तिकरणका लागि साझा प्रयास बाँकेले उपमहा नगरपालिकाको ५ र ६ नं. वडाहरुमा फोहर उठाइरहेको जानकारी संस्थाकी अध्यक्ष बालिका रावतले दिइन् । उनले भनिन्, ‘करिब ३ सय केजी फोहर हरेक दिन उठाउँछौं ।’ डम्पिंग साइट नभएर समस्या परेको छ । हामी कहिले काहि खाल्डो बनाएर समेत फोहर गाड्छौं ।’ नेपालगन्ज सफा हुन धेरै चुनौती छ । उनी भन्छिन्, ‘गृहणीहरुमा परिवर्तन आउन जरुरी छ ।’

 
हुन पनि अहिलेसम्म नेपालगन्जको फोहरलाई जैविक र अजैविक भनेर छुट्याएर उठाइदैन । यसले फोहर व्यवस्थापन ठिकसंग भएको मानिंदैन । नेपालगन्जमा नै दैनिक ७ टनसम्म फोहर उठाएको दावी गर्ने नेपाल स्वच्छ वातावरण सिर्जना केन्द्रका भानुभक्त केसी भन्छन्, ‘हामीले विगत ४ वर्ष देखि नेपालगन्जका सुर्खेत रोड, बसपार्क, गणेशपुर, भृकुटिनगर तथा कोरियनपुर लगायतका टोलहरुका फोहर उठाइरहेको बताउँछन् । हामीसंग रहेको २ टयाक्टरले दिनहुँ २ सिफ्टमा फोहर उठाइरहेका छन् ।’

 
फोहरलाई श्रोतबाट नै छुट्याउनु पर्दथ्यो । तर हामीले त्यसो गरिरहेका छैनौं । यसैले कुहिने र नकुहिने दुवै फोहर डम्प गर्नु पर्ने वाध्यता छ । हामीले नगरपालिकालाई जग्गाको खोजी गर्न सहयोग गरेका छौं तर व्यवस्थि तगर्न अझै पनि नगरपालिकाले सकिरहेको छैन । उनको संस्थाले २ हजार ३ सय घर र व्यापारिक प्रतिष्ठानहरुको फोहरलाई व्यवस्थापन गरिरहेको छ ।

 
सफा शहरले नेपालगन्जको पहिचानलाई अव्बल बनाउन मद्दत गर्छ । पर्यटकीय हबका रुपमा स्थापित हुदै गइरहेको नेपालगन्जको फोहर चुनौती रहेको होटल व्यवसायी भाष्कर काफ्ले बताउँछन् । हुन पनि आफ्नै साधन र श्रोतले करिब ५० प्रतिशत मात्र फोहर उठाउने नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सफा नेपालगन्जको यात्रा चुनौतीपुर्ण छ । जनचेतना बढाउनु पर्छ । तर कारबाहि पनि दरो हुनुपर्छ । नत्र फोहर कहिल्यै सफा हुदैन । हाम्रा स्वीपरलाई घरको बार्दलीबाट फोहरले हिर्काएको अनुभव पनि छ हामीसंग ।

 
तर जनचेतना मात्रैले सफा शहर सम्भव छैन । मापसे चेकिंगका क्रममा ट्राफिक प्रहरीले देखाएको तदारुकताले जसरी मापसे नियन्त्रण भयो नि त्यस्तै तदारुकता देखाउन सक्नु पर्छ । जानकारहरु भन्छन् । ‘फोहर फाल्नु हुदैन भन्ने चेतना कस्लाई पो छैन र, तर पनि मानिसहरु फोहर फालिरहेका छन् । यसको निदान केवल जनचेतना मात्र हैन भन्ने यसले नै प्रमाणित गर्छ हैन र’, सुर्खेत रोडका एक होटल व्यवसायी भन्छन् ।

 
वास्तवमा फोहर संकलन गरेर ल्याण्डफिल साइटमा फाल्दैमा नगर सफा भैहाल्दैन । नेपालगन्ज सफा हुन धुलो रहित हुन उत्तिकै जरुरी छ । अलिकति गर्मी हुने वित्तिकै मोटरसाइकल चलाउन सकिन्न धुलोले । अनियन्त्रित हर्न, निर्माण सामाग्रीको बाटोमा नै स्टोर अनि हिलो, धुलो र धुवाँ नेपालगन्ज सफाका चुनौती हुन् । व्यवस्थित ढल र खुल्ला दिसामुक्त वडाहरुको घोषणा पनि सफा नगरका सूचकहरु हुन् ।

 
सफाई अभियन्ता डा. विनोद कर्ण भन्छन्, ‘जननिर्वाचित प्रतिनिधिहरु आएका छन् । उनीहरुलाई सफा बनाउनका लागि निरन्तर घच्घचाउनु जरुरी छ । र, हातेमालो गरेर नागरिकले नागरिक कर्तव्य पालन गर्नु पर्छ । चेतनामा बृद्धि भएको छ । अब त्यो व्यवहारमा लागु हुनुपर्यो ।’

 
नेपालगन्ज उपमहा नगरपालिकाका उपमेयर उमा थापा नेपालगन्जलाई जसरी पनि सफा बनाउन लागि पर्ने बताउँछिन् । अहिले म अध्ययन गरिरहेको छु, बाहिरका सफा नगरका अभ्यासहरुलाई हामीले यहाँ पनि लागु गर्न सक्छौं ।
मेयर डा. धवलको आत्मविश्वास र उपमेयर उमाको सिकाइमा निर्वाचित वडा अध्यक्षहरुको रचनात्मक सहयोग र आम नेपालगन्जवासीहरुको सहकार्यले पक्कै नेपालगन्ज सफा हुन सक्छ । तर यसका लागि उक्लनु पर्ने सिढिचाहि धेरै नै छ ।

प्रतिक्रिया

प्रतिक्रिया