बाँकेको खल्ला गाउमा किशोरीहरुमा ‘अनौठो’ रोग (भिडियो सहित)

ममता थापा
बाकेको राप्तीसोनारी गाउपालिका–८ खल्ला गाँउका किशोरीहरुमा अनौठो रोग देखा परेको छ । शुक्रबार बेलुकी गाँउमा भएको तिज गीतको रमाइलो हेरेर घर फर्किएका उनीहरुमा राती साढे १० बजेपछि एकाएक अनौठो रोग देखा परेको हो ।
स्थानीयबासीका अनुसार, १२ देखि १८ बर्ष उमेर समूहका एक किशोर सहित सात किशोरीमा एकाएक समस्या देखा परेको हो । बर्बराउने, काम्ने, एक्कासी ढलेर बेहोस हुने समस्या देखिएपछि अभिभावकहरु आत्तिएका हुन् ।

‘धामी, झाक्री कहा लगेर झारफुक गराएपनि केहीबेर ठिक हुन्छ तर, फेरि उस्तै हुन्छ’, अभिभावक भन्छन्, ‘रातभरी ननिदाएर हेरचाह गरिरहेका छौं ।’ उनीहरुका अनुसार विरामी उत्तेजित भएर बर्बराएपछि क्रमशः सास फेर्न गाह्रो हु“दै बेहोस हुने अवस्था आउछ । गाउलेहरुले भुत, प्रेत र बोक्सी लागेको भन्दै ढकेरी स्थित गुरुवा कहाँ दिनभर झारफुक गरेपनि विरामी निको नभएपछि शनिबार राती गाउमै बोलाइएको छ ।

 

बिरामी गम्भीर रोग लागेजस्तो देखिन्छ । बिरामी काम्ने र अर्काे मानिस भएर बोल्छ । हेर हेर म तँलाई खान्छु र मार्छु आदी कुरा बर्बराउ“छन् । ‘बुढापाकाहरुले भुत, प्रेत र बोक्सी लागेको भन्दै झारफुकलाई जोड दिइरहेका छन्’, स्थानीयबासीले भने । ‘केही मिनट त ३/४ जना लगाएर थाम्नु पर्छ’, स्थानीय युवराज खड्काले नेपालगन्जन्यूजसंग भने, ‘गाउँमा यसखालका घटनाहरु पटकपटक पुनरावृत्ति हुन थालेका छन् ।’ ‘झारफुक गरेपछि अवस्था सामान्य हुन्छ र फेरि अरुमा त्यही समस्या देखा पर्छ’, खड्काले भने । ‘गाउँमा यो समस्या सामान्य जस्तो भैसक्यो’, स्थानीय अगुवा वीर बहादुर थापाले भने, ‘के कारणले यस्तो समस्या भैरहेको छ भन्ने एकिन नहुदा निर्मूल पार्न सकिएको छैन ।’ ५ जनाबाट सुरु भएको समस्या शनिबार रातीसम्म ९ जनामा फैलिइसकेको स्थानीयबासीले जनाएका छन् ।
गाँउलेले प्रहरी समक्ष पनि समस्या पुर्याएका छन् । ‘गाउँबाट समस्या देखिएको गुनासो आएपछि स्थानीय प्रहरीलाई गस्तीमा गएर ध्यान दिन निर्देशन दिएको छु’, इप्रका कोहलपुरका इन्चार्ज डिएसपी सुरेश काफ्लेले भने ।
चिकित्सकहरुलाई घटनालाई मनोवैज्ञानिक समस्या भनेका छन् ।

‘तपाई भने अनुसारकाे लक्षणले यो कन्भर्सन डिसअर्डर हो’, भेरी अञ्चल अस्पतालका वरिष्ठ चिकित्सक डा. बद्री चापागाईले नेपालगन्जन्यूजसंग भने, ‘यो मानसिक समस्या हो ।’
कतिपय ठाउँमा मास हिस्टेरियाका रुपमा चर्चा गरियो रोग वास्तवमा चिकित्सकको भाषामा कन्भर्सन डिसअर्डर हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका मनोरोग विशेषज्ञ डा. तनवीर अहमद खाँका अनुसार सामान्यतया मानसिक तनावको व्यवस्थापन गर्ने क्षमता अभावले यसखालको समस्या देखा पर्छ । ‘धेरै मानिसहरु एकै चोटी देखिने मनोवैज्ञानिक समस्या नै कन्भर्सन डिसअर्डर हो’, डा. तनवीरले भने ।
चिकित्सकका अनुसार, यसमा मानिसमा एक प्रकारको डर पैदा हुन्छ जस्ले गर्दा जव कुनै मानिसमा कुनै लक्षण देखियो अर्को मानिसमा पनि त्यस्तै देख्न थाल्छ । मानिस ढल्ने र वेहोस हुने गर्दछ भन्ने त्रास जब फैलन्छ अनि एउटा मानिस जव ढल्छ फेरि अकैमा पनि ढल्छ, बेहोस हुन्छ र आत्तिन्छ डराउछ । ‘यस्तो बेला अचानक एकाएक त्यसखालका शारीरिक लक्षण देखिन थाल्छन्’, डा. तनवीरले भने, ‘अचानक बोली रोकीने, अचानक हातखुट्टा नचल्ने, काम्ने र वाक्ने आदि समस्या देखिन सक्छ ।’
डा. तनवीरका अनुसार, यस्ता रोगका बिरामीको उपचार पनि चुनौतीपूर्ण हुने गर्छ । ‘बिरामीको लक्षणलाई ध्यान दिई रहँदा अझै बढ्न जान्छ’, डा. तनवीरले भने, ‘उनीहरुको जोखिमको अवस्था मूल्यांकन गर्दै अलग्गै राख्नुपर्छ ।’ ‘सकभर पुरै वेवास्ता गर्नुस्’, उनले नेपालगन्जन्यूजसंग भने, ‘मानसिक रुपमा तनाव बुझ्ने, स्कुल नपठाउने र सर्न नदिन अरु संग घुलमिल हुन नदिनुस् ।’
श्वाँस बढेको बिरामी अघि गई आतिएको खण्डमा अझै बढि रुपमा रोग देखिन्छ । बिरामीसंग अन्य कुरा गरि दिमाग अन्य कुरामा मोड्नु पर्छ । बिरामीलाई मनका कुरा खुल्ला रुपमा भन्न प्रोत्साहन गर्नु पर्छ । ‘झारफुकले क्षणिक रुपमा सुधार देखिएपनि अन्ततः त्यसबाट समाधान सम्भव हुँदैन रोग दोहोरिन्छ’, डा. तनवीरले अभिभावकलाई सुझाव दिंदै भने, ‘विशेष किसिमले हेरचाह गर्ने, भीडभाड नगर्ने, नोक्सान पुर्याउन नदिने गरी एक्लै छोड्ने गर्नुपर्छ ।’ अन्त्यमा बिरामीलाई तत्काल अस्पताल लगि उपचार गराउनु नै अन्तिम उपाय भएको जानकारी दिंदै मनोरोग विशेषज्ञ डा. तनवीरले विशेषज्ञबाट मनोसामाजिक उपचार गर्नुपर्ने सुझाव दिए । ‘साइकोथेरापीबाट उपचार गरिन्छ’, उनले भने, ‘मनमा अन्तरद्वन्द्व कम गर्ने औषधीको प्रयोगवाट रोग निको हुन्छ ।’ मनोपरामर्शदाताबाट समस्या समाधानका लागि विरामीलाई विशेष काउन्सिलिङ्ग गर्नुेपर्ने डा. तनवीरको भनाइ छ ।
‘यसलाई डिसोसियटिभ डिसअर्डर पनि भनिन्छ’, डा. तनवीरले मनमा रहेको तनाब विचलन हुन गएकोले यसखालका समस्या बढी जसो टिन एजका किशोर किशोरीलाई देखापर्ने जानकारी दिंदै भने ।

 

प्रतिक्रिया

प्रतिक्रिया