नेपालगन्जमा होटल व्यवसाय फस्टाउँदै गइरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले गरेको विशेष अध्ययनले नेपालगन्जमा पर्यटकीय स्तरका होटलहरुको संख्या ३६ रहेको पाइएको हो ।
मानसरोवर यात्रालाई लक्ष्य गरेर अहिले नेपालगन्जमा तारे होटलहरु पनि संचालनमा रहेका छन् । नेपालगन्जमा अध्ययन गरिएका होटलहरुमा करिब १ हजार ६ सय ६८ शैय्या रहेको विशेष अध्ययनका आधारमा नेपाल राष्ट्र बैंक निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए ।
नेपालगन्ज र कोहलपुरमा रहेका एक तारे होटलहरुमा २ सय १३, तीन तारे होटलहरुमा ३ सय ५९, चार तारे होटलहरुमा १ सय ७६ र अन्य सामान्य पर्यटकीय स्तरका होटलहरुमा १ हजार ३ सय ३० शैय्याहरु रहेका छन् ।
अध्ययनका अनुसार, ३६ पर्यटकीय होटलहरु मध्ये २८ होटलहरुमा पुराना व्यवसायी संलग्न छन् भने ८ वटा होटलहरुमा संलग्न व्यवसायीहरु नयाँ रहेको पाइएको छ ।
अध्ययन अनुसार क वर्गका वाणिज्य बैंकहरुले नेपालगन्जका होटलहरुमा करिब १ अर्ब ३२ करोडको लगानी गरेका छन् । भने ख वर्गका बैंकहरुले करिब ११ करोड कर्जा लगानी गरेका छन् । प्रत्येक वर्ष लगानी समेत बढिरहेको अध्ययनमा पाइएको छ । ‘गत वर्षको तुलनामा करिब २२ प्रतिशतले क बर्गका बैंकहरुले लगानी बढाएका छन् भने ख वर्गका बैंकहरुको लगानी १८ प्रतिशतले बढेको छ’, पौडेलले भने ।
अध्ययनमा भनिएको छ, मध्य तथा सुदुर पश्चिमको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको नेपालगन्जमा सरकारी उच्च अधिकारी, कुटनीतिक नियोग, अन्तराष्ट्रिय गैसस लगायतका विशिष्ट पाहुनाहरु आइरहने स्थान पनि रहेको र मध्यपश्चिम क्षेत्रमा रहेका विभिन्न पर्यटकीय र धार्मिक स्थल तथा प्रसिद्ध कैलाश मानसरोवरसम्म आवत जावत गर्नका लागि बाँके जिल्ला ह“ुदै पर्यटक र तीर्थयात्रीहरु आफ्नो गन्तव्यमा पुग्ने भएकोले यहाँका होटल तथा रेष्टुरेन्टमा थुप्रै अवसर
देखिन्छ ।
होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्ले ढाक्रेहरु आएर बस्ने नेपालगन्जका होटलहरुमा पछिल्लो समय पर्यटकहरु आउन थालेको बताउँछन् । साना तिना गरी करिब १ हजार होटलहरुले नेपालगन्जमा २५ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको उनले बताए । ‘पहिले लोडसेडिंग समस्या थियो तर अहिले त्यो विस्तारै हट्दै गइरहेको छ’, काफ्लेले भने ।
अध्ययन प्रतिवेदनका अनुसार, नेपालगन्जका होटलहरुको चुनौती पनि लोडसेडिंग र भित्री बाटाहरु फराकिलो नहुनु देखाएको छ । राष्ट्र बैंकका निर्देशक पौडेल भन्छन्, ‘नेपालगन्ज प्राकृतिक रुपमा नै टान्जिट प्वाइन्टका रुपमा रहेको छ । होटल व्यवसायका लागि उपयुक्त ठाउँको रुपमा नेपालगन्ज विकास हुन सक्छ ।’
‘नेपालगन्जमा पछिल्लो समय राम्रा र स्तरीय होटलहरु बनिरहेका छन्’, होटल व्यवसायी संघका पूर्व अध्यक्ष काफ्ले भन्छन्, ‘अब नयाँ ढंगले व्यवसायिक भएर सोचिएन भने होटल व्यवसाय गर्न गारो छ ।’
नेपालगन्जमा होटल व्यवसाय भारतीय सामानहरु लिन आउने र आफ्ना सामानहरु बेच्न आउने ढाक्रेहरुलाई सत्कार दिंदै सुरु भएको बताइन्छ ।
यस पछि स्वास्थ्य उपचारका लागि मध्य पश्चिमी पहाडका नागरिकलाई आतिथ्यता दियो नेपालगन्जले । पछिल्लो समय नेपालगन्जमा होटल व्यवसाय उदाउनुमा न्यूरोड र सशस्त्र द्वन्द्वका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय गैसस तथा सरकारी कार्यालयहरुको क्षेत्रीय गोष्ठि सेमिनारको थलो भएर होटल व्यवसाय फस्टाएको हो । काफ्लेले भने, ‘अब चाहि विशुद्ध पर्यटकीय स्थलहरु घुम्न जाने पर्यटकहरुको बढोत्तरी र मानसरोवर लगायतको रुटका कारण भारतीय पर्यटकहरुको आगमनले नेपालगन्जमा होटल व्यवसाय उकालो लागेको छ ।’
पर्यटकहरुलाई टिकाइ राख्नका लागि नेपालगन्ज आसपास अझै सम्म पर्यटकीय स्थलहरु छैनन् । जानकारहरु भन्छन्, ‘बाँके राष्ट्रिय निकुन्जले पर्यटकहरुको बसाइलाई नेपालगन्जमा लम्व्याउन सकिन्छ ।’ भाष्कर काफ्ले भन्छन्, ‘अब होटलहरुले समेत पर्यटकीय प्रचार प्रसारका लागि बजारीकरण गर्नुपर्छ । उहि पुरानो ढाँचाले त अब होटलहरु संचालन गर्न सकिदैन ।’