नाला बनाउदा नेपालगन्ज–३का वडाध्यक्ष माथि सांघातिक आक्रमण, अवस्था चिन्ताजनक

देबेन्द्र राज पौडेल

पानीको निकासका लागि नाला व्यवस्थित गर्न पुगेका नेपालगन्ज–३का वडाध्यक्षमाथि आक्रमण हुदा उनी गम्भीर घाइते भएका छन् ।

 

नेपालगन्ज उपमहा–नगरपालिका–३ मा पानीको निकास खोल्ने कार्य गराउने क्रममा वडा नं। ३ का अध्यक्ष अय्युव सिद्दिकीमाथि कुटपिट भएको हो । ‘पानीका कारण सडक जलाम्मे हुने गरेपछि राप्तीपथमार्गमा नाला व्यवस्थित गर्ने क्रममा आक्रमण गरियो’, अध्यक्ष सिद्दिकीले दैनिक नेपालगन्जसग भने, ‘मलाई टाउकोमा गम्भीर चोट लागेको छ, चक्कर लागिरहेको छ ।’

 

‘बुधबार पनि नाला व्यवस्थित गर्ने छलफलका क्रममा मो हुसेन हलवाई लगायतले अवरोध गर्न खोजेपछि प्रहरीको सहयोग लिएको थिए’, अध्यक्ष सिद्दिकीले बिहीबार नालामा काम गर्न पठाएका मजदुरमाथि हातपात गर्दै सामान फालिदिएपछि आफु त्यहा पुगेको जानकारी दिंदै भने, ‘म पुग्ने बित्तिकै मै माथि आक्रमण भयो ।’

नेपालगन्ज नर्सिङ्ग होमले रेफर गरेपछि बिहीबार राती नै सिद्दिकीलाई लखनउ लगिएको पत्रकार सकिल कादरीले जानकारी दिए । अध्यक्ष सिद्दिकी अचेत अवस्थामा रहेको कादरीले बताए । वडा नं ३ का सदस्य मो नसिबले यसअघि देखि नै नाला खोल्ने विषयमा हुसेनले अवरोध गर्दै आएको जानकारी दिंदै बिहीबार काम रोकिदिएपछि पुगेका अध्यक्षलाई सांघातिक आक्रमण गरिएको जानकारी दिए ।

 

‘टाउको, छाती र हातमा उहालाई चोट लागेको छ’, नसिबले भने । ‘मो। हुसेनले यसअघि देखि नै नालामा अवरोध पुर्याउदै आएका थिए’, स्थानीय गुड्डु खाले बुधबार नाला खोलेर पानीको निकास दिने सहमति भएको जानकारी दिंदै
भने ।
प्रहरीले वडाध्यक्ष माथि हातपात गर्ने तीन जनालाई पक्राउ समेत गरेको छ । ‘उजुरी परेका तीनै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी पठाएको छु’, वडा प्रहरी प्रमुख राजन गौतमले भने ।

स्थानीयबासीले डुबान मुक्त गराउन वडाध्यक्षमाथि सांघातिक आक्रमण भएको भन्दै दोषीहरुलाई कडा कानुनी कारवाहीको माग गरेका छन् ।

बिहीबार राती ठूलो संख्यामा अय्युवका शुभचिन्तकहरु अस्पताल पुगेका छ। नेपालगन्ज उपमहानगरपालिका नगर उपप्रमुख उमा थापा, माओवादी नेता दामोदर आचार्य लगायतका व्यक्तिहरु अय्युवको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका थिए । अय्युवको अहिले भारतको लखनउमा उपचार भैरहेको छ ।

(2074-04-13)

(सबै तस्वीर : सकिल कादरी)

प्रतिक्रिया

प्रतिक्रिया