मालपोत कार्यालय बाँकेमा तनाव

सेवा सुस्त गतिमा प्रदान गरिएको भन्दै मालपोत कार्यालय बाँकेमा सेवाग्राहीले मालपोत प्रमुखलाई घेरेका छन् ।
अहिले सेवा सुस्त गति र मनपरी समयमा प्रदान गरिएको भन्दै सेवाग्राहीले विरोध गरिरहेका छन् । कसैलाई विहानै सेवा दिने र कसैलाई ११ बजेसम्म पनि सेवा नदिने गरेकाले विरोधमा उत्रिनु परेको सेवाग्राहीले बताएका छन् ।

 

मालपोत कार्यालय बाँकेमा सुरुवात भएको कम्प्युटर (अनलाइन प्रणाली) को कारोबारबाट समयमा काम नहुने समस्या उत्पन्न भएपछि अहिले गुनासो बढेको छ । अधिकारीहरुले अनलाइन प्रविधिबाट काम छिटो छरितो र पारदर्शी हुने दावी गरिरहेका बेला जनताले समयमा काम नभएको बारे आक्रोश पोखेका छन् । लेखापढी कानून ब्यवसायी एशोसिएशन बाँकेका अध्यक्ष हृदय नारायण यादवले कम्प्युटरका कारण झेल्नै नसकिने समस्या उत्पन्न भएको बताएका छन् ।

 
अनलाइन प्रविधिबाट भ्रष्टाचार घट्ने र जालसाजी तथा ठगी सम्बन्धी भइरहेका घटनाहरुमा कामि आउने विश्वास लिइएको समयमा सेवाग्राही मर्कामा परेको यादवले बताए । ‘काम गराउनै मुस्किल छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘सामान्य जग्गा खरीद बिक्रीमा पनि ३÷४ दिन लाग्ने गरेको हो ।’ नामसारीको विषयमा एक साता देखि मालपोत धाउँदै आएका नेपालगन्ज ६ बस्ने भागमन्त प्रसाद गुप्ताले कर्मचारीहरुले छिटो काम गर्न नसकेका कारण समस्या देखिएको बताए । मालपोतका पूर्व कर्मचारी समेत रहेका गुप्ताले कामको चाप बढि हुनु र कर्मचारी कम्प्युटरमा दक्ष नहुनु समस्याको मुख्य कारण हो उनले भने ।
श्रावण ३ गतेबाट संचालनमा आएको नयाँ भवन अगाडी पार्किंगको समेत समस्या रहेको लेखापढी ब्यवसायी राम चेतन तिवारीले बताए । ‘मालपोतको अगाडी ठेलाहरु लाग्ने भएकोले सवारी साधन राख्ने ठाउँ छैन’, उनले भने, ‘समयमा काम नभएर झन समस्या थपिएको छ ।’ केहि वर्ष यता बढ्दै गएको जग्गा खरीद बिक्रीको कारोबारले मालपोत कार्यालयमा कर्मचारीको ब्यस्तता बढाएको छ । सेवाग्राहीको माँग अनुसार कर्मचारी नरहेको अवस्थालाई पनि कार्यालयले स्वीकार गरेको छ ।
४ वटा स्थानबाट रजिष्ट्रेशन, मोठ र नामसारी सम्बन्धी काम भइरहेको छ । अहिले ६ वटा गाउँपालिका र २ वटा नगरपालिकाको काम अनलाइन प्रविधि मार्फत हुने गरेको छ । एउटा रजिष्ट्रशन फाँटबाट एक दिनमा करिब १५ वटा रजिष्ट्रशन पास भइरहेको मालपोत कार्यालय बाँकेका प्रमुख मालपोत अधिकृत ऋषिराम केसीले बताए ।
‘यसअघि काम चाँडै हुने गरेकोमा केहि ढिलाई भएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै अधिकृत केसीले भने, ‘यद्यपि ४ वटा थप डिभाइस र कम्प्युटरहरु थप्ने तयारी छ ।’ उनले भने, ‘तत्कालै हामी सेवा प्रवाहमा सरलता ल्याउन तर्फ तात्पर छौं ।’ मालपोत प्रमुखले सेवाग्राहीलाई सम्बोधन गर्दै ५÷६ दिनमा समस्या समाधान समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया