नगर प्रमुखले भने, ‘ बसपार्क सडक ११ मिटरमै बन्छ’

हुलाकी राजमार्गको मापदण्ड ३० मिटर, स्थानीय घरधनीको सहमति २२ मिटर । सडक निर्माण सुरु गरियो ११ मिटरमा । नेपालगन्जको पुष्पलाल चोकदेखि बसपार्क सम्मको सडक साँघुरो पारिएको विरोधमा उत्रिएका स्थानीयवासीको आशा भरोसाको केन्द्र, नेपालगन्जको समग्र विकासको नेतृत्व लिएरका नगरप्रमुख डा. धवलसम्शेर राणा ।

 

‘हाम्रो सबै आशा निराशामा परिणत भयो, मेयर सा’ब एउटा धारणा बनाएर बस्नुभएको रहेछ,’ सोमवार स्थानीय घरधनीहरुसँगको छलफलपछि नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान कोषाध्यक्ष विष्णु प्रसाद गौतमले भने । गौतमसँग संवाद चलिरहँदा दैनिक नेपालगन्जलाई प्रेस नोट प्राप्त भयो, ‘नेपालगन्जको पुष्पलाल चोक देखि बसपार्क सम्मको सडक बिबाद समाधान भएको छ ।’ नेपालगन्ज उप महानगरपालिकाको आयोजनामा सोमवार भएको सरोकारवालाहरु बिचको छुट्टा छुट्टै छलफल पश्चात सडक विवाद समाधान भएको प्रेस नोटमा उल्लेख छ । ‘बसपार्क–पुष्पलाल चोक सडक निर्वाध रुपले काम अगाडि बढ्छ, कुनै बिबाद छैन सबैको सहमति भएको छ,’ नगर प्रमुख राणालाई उदधृत गर्दै भनिएको छ ।

 

वास्तवमा स्थानीयवासीले सडक निर्माणमा कहिंकतै अवरोध गरेका छैनन । ‘मुस्किलले बन्दै गरेको बाटो केही गरि रोकिनुहुन्न भन्नेमा हामी उच्च संवेदनशील छौं,’ बाटो चौडा हुनुपर्ने कुरामा जोड दिइरहेका गौतमले भने, ‘हामीलाई लाग्यो, अब मेयर सा’ब भन्दा माथी हाम्रो सुनुवाई गर्ने कोही छैन, अदालत जाँदा त्यही बहानामा काम रोकिने खतरा छ ।’ नगरप्रमुख डा. राणाका कुराबाट आफु चकित परेको धारणा राख्दै गौतमले भने, ‘देशकै नमुना सहर बनाउँछु भनेर भाषणबाजी गरिरहेका डा. राणा जनभावना विपरित कसरी बाटो साँघुरो पार्न सहमत भए ?’

 

‘यो गलत निर्णय भयो,’ संघर्ष समितिका सल्लाहकार श्यामलाल अर्यालले दैनिक नेपालगन्जमा टेलिफोन सम्पर्क गरेरै भने, ‘जनताले बाटो चौडा बनाउ भनेर आफ्ना घर संरचना आफै भत्काएर ठाउँ ंिददा पनि उल्टोमुखी जान खोज्नु दुर्भाग्य हो ।’ अन्ततः यसको असर दीर्घकालसम्म नकारात्मक पर्ने उनको भनाइ थियो । उपहानगरपालिकाबाट प्राप्त जानकारीमा ‘सडकको मापदण्ड ३० मिटर गर्ने भनिएता पनि ९५ प्रतिशत संरचना भत्काउनु पर्ने भएपछि अब ११ मिटरको पिच, दुबै तर्फ नाला र फुटपाथ बनाइने’ भनिएको छ ।

 

गज्जबको कुरा त के भने, सडक निर्माण ११ मिटर क्षेत्रमै बनेपनि जग्गा भने हुलाकी राजमार्गको मापदण्ड भित्र पर्ने ३० मिटरनै छोड्नुपर्नेछ । ‘भनेपछि धुँवाधुलोले हामीलाई नछोडने भो,’ स्थानीय घरधनीहरु भन्छन्, ‘खाली जग्गामा संरचना पनि बनाउन नपाउने भनेपछि समस्या उस्तै रहने भो ।’ दैनिक ४/५ सय बस ओहोर दोहोर गर्ने बसपार्क सडक साँघुरो पारेर विकास विरोधी काम गरेको उनीहरुको टिप्पणी छ । ‘हेर्नुस्, २/३ वर्षमै पछुतो मान्नु बाहेक केही रहन्न,’ संघर्ष समितिका सल्लाहकार अर्यालले भने ।
विकासप्रेमी कहलिएका डा. राणाले नगरको नेतृत्व सम्हालेपछि नेपालगन्जले कायाकल्प गर्ने आशा गरिएको छ । एसियाली विकास बैंकको अनुदानमा नेपालगन्जका आन्तरिक सडक सुधारका लागि काम भइरहेको बेला करोडौंको ऋण सहयोगमा नेपालगन्ज बसपार्क पनि अत्याधुनिक बनाउने काम भइरहेको छ । ‘नेपालगन्जको एउटा आकर्षणको केन्द्र बन्दैछ बसपार्क, त्यहीं आवागमन गर्ने बाटो साघुँरो पार्ने चलखेल भयो,’ नगरप्रमुख सँगको छलफलपछि निराश हुँदै गौतमले भने । बसपार्क हुलाकी सडकको ४४ किलोमिटर दुरीमा झण्डै एक किलोमिटर सडक कम्तिमा २२ मिटर चौडा बनाइदिन स्थानीयहरुले गरेको माग सुनुवाई नभएको हो । ‘यो विल्कूल बिडम्बनापूर्ण निर्णय हो,’ पूर्ण नगरप्रमुख विजय कुमार गुप्ताले राजनीतिक रुपमा एकठाउँमा बसेर विकासका पक्षमा सहमति जुटाइनुपर्ने प्रतिक्रिया दिंदै भने, ‘जनताले विकास चाहिरहेका बेला नगरपालिकाले उल्टो निर्णय कसरी लिन्छ ?’
दैनिक नेपालगन्जलाई पनि लाग्यो, नगरप्रमुख डा. राणा किन किन जनचाहना विपरित गए ? ‘११ मिटर पीच सडक बन्छ, २०÷२५ वर्षलाई मजाले चल्छ,’ ३० मीटर सडक बनाउँदा ९५ प्रतिशत घर भत्किने भएकाले सडक साँघुरो बनेको तर्क गर्दै भने, ‘४÷४ वटा बस एकैपटक मजाले ओहोर दोहोर गर्ने सडक बन्दैछ, त्यहाँ भन्दा के चाहियो ?’ डा. राणाले सडक निर्माण कार्यलाई निर्वाध अगाडी बढाइने पनि बताए ।
सडक साँघुरो बनाइपछि विकास विरुद्ध षड्यन्त्र भएको भन्दै असन्तुष्ट पुष्पलाल चोक–बसपार्क रोडका स्थानीयवासी ४ दिनदेखि छलफलमा थिए । सुनुवाईका लागि नगरप्रमुख डा. राणाको पर्खाइमा बसेका उनीहरु सोमवार नेपालगन्ज उप महानगरपालिकाकामा डेलिगेसन गएका हुन् । उपप्रमुखलाई कार्यबाहक नदिएरै गएका नगरप्रमुख डा. राणा राजधानीबाट फर्किए लगत्तै यथास्थितिको निर्णय सुनाएका छन् । ‘हामीले सकेनौं,’ गौतमले छलफलमा भने, ‘तपाईबाट हामीले विकास विरोधी आशा गरेका थिएनौं ।’ ‘त्यति भनेर निस्किएँ,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा गएको स्थानीय घरधनीहरुको प्रतिनिधिसँग उपमहानगरपालिकामा सोमवार भएको छलफलमा डा. राणाले आर्थिक वर्षबाट चक्रपथ सडक निर्माण गर्ने, जमुनाह राँझा सडक स्तरोन्नती गर्ने, सुर्खेतरोडको नाला सफाई गर्ने लगायतका बिषयमा चर्चा भएका थिए । छलफलमा उप प्रमुख उमा थापा मगर, हुलाकी राजमार्ग आयोजना योजना कार्यालय बाँकेका सब ईन्जीनियर सरुभर दास, बसपार्क सडक संघर्ष समितिका अध्यक्ष लिलानाथ अधिकारी, सचिव होमनाथ गिरी समितिका अन्य पदाधिकारी, हुलाकी राजमार्ग निर्माणको जिम्मा पाएको गणपति कन्ट्रक्सनका राजेश ढकाल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया