बन्ला त दुइ लेनकाे एकलैनी !

नेपालगन्जन्यूज । २० बर्षदेखि रोकिएको एकलैनी सडक सुधार योजना अघि बढाउन पहल सुरु गरिएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि वहालीभएपछि सडक सुधार योजना अगाडी बढाउन पहल सुरु गरिएको हो । ‘सडक बिस्तारमा अवरोध पुर्याउनेहरुसग भेटघाट र छलफल सुरु गरिसकिएको छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने । वैश्यले उद्योगी, व्यवसायीहरुकै फाइदाका लागि सडक बिस्तार भएकाले संघले सदरलाइन बिस्तारमा जस्तै एकलैनीका लागि पनि पहल लिएको बताए ।
नेपालगन्ज उपमहानगर–पालिकाका नगरप्रमुख धवल समशेर राणाले निर्वाचनकै क्रममा धेरै स्थानीयबासीले सडक बिस्तार बारे चासो र चिन्ता राखेको बताए । ‘मैले उतिबेलै पनि सडक बिस्तार बारे सकारात्मक हुन अनुरोध गरेको थिए’ २० बर्षअघि आफु नगर प्रमुख छदाको स्मरण गर्दै राणाले भने, त्यतिबेला केही गरी अगाडी बढाउन नसकिएको एकलैनी सडक सुधार अब नगरी हुदैन ।
२०५३ सालमा तत्कालीन नेपालगन्जका नगरप्रमुख विजय कुमार गुप्ताले सदरलाईनको वैकल्पिक सडकका रुपमा एकलैनी बिस्तार योजना अघि सारेका थिए । झण्डै ५० मिटर सडक बिस्तार कार्य अगाडी बढेपछि एकाएक विरोधका स्वरहरुले रोकिएको सडक अहिलेसम्म ज्यूँका त्यूँ छ । मानिसहरु निहीत स्वार्थमा केन्द्रित हुँदा सडक बिस्तार हुन सकेको थिएन, तत्कालीन नगर प्रमुख गुप्ताले नेपालगन्जन्यूजसँग भने, ‘स्वार्थको राजनीतिले विकास अवरुद्ध भएको हो ।’ गुप्ताले आफु पछि कसैले पनि बिस्तार कार्यलाई गम्भीरतापूर्वक नलिएको चिन्ता गरे ।
नगर प्रमुख राणाले उद्योग वाणिज्य संघ देखि राप्तीपथ फुल्टेक्रा रोडसम्म सडक सुधार कार्यक्रमलाई अगाडी बढाइने बताए । त्यसअघिको योजना अहिले बनिसकेको छैन, नगर प्रमुख राणाले नेपालगन्जन्यूजसंग भने, ‘उपमहानगरपालिकाको आफ्नै स्रोत र साधनबाट यथाशक्य छिटो उक्त सडक कार्य अगाडी बढाइने छ ।’
राणाले आन्तरिक कोषबाटै सडक बनाइने जानकारी दिंदै स्थानीयबासीहरुबाट विकास निर्माणमा कुनै किसिमको बाधा नपुर्याउने प्रतिबद्धता पनि आइरहेको बताए ।
तत्कालीन नगरपालिकाले राप्तीपथ गुणमण्डी देखि अगाडी ट्रयाक समेत खोल्न बीचमा पर्ने सर्वसाधारणको घर खरिद पनि गरिसकेको थियो । ‘मुआब्जा तिरेर घर समेत नगरपालिकाको नाममा पास भैसकेको थियो’, गुप्ताले भने ।
तत्कालीन नगरपालिकाले एकलैनी, राप्तीपथ, गणेशपुरहुँदै बसपार्क पुर्याउने योजना पास गरिसकेको थियो । ‘बसपार्कबाट पुरानै ट्रयाक हुँदै नेपालगन्ज विमानस्थल सम्म सडक जोड्ने योजना हो’, तत्कालीन नगरप्रमुख गुप्ताले भने । उनले नवनिर्वाचित नगरप्रमुख राणासँग विकासको अपेक्षा गरिएको भन्दै उक्त बाटोलाई राँझासम्म पुर्याउने योजनालाई मूर्त रुप दिन आग्रह गरे ।

याे पनि पढ्नुहाेस् ।

यो गल्ली, नेपालगन्ज विकासको कलंक

प्रतिक्रिया

प्रतिक्रिया