के हो स्मार्ट सिटी ?

नविन किशोर गैह्रे

देशमा स्थानीय तहका दुई चरणका निर्वाचनहरु भर्खरै सम्पन्न भएका छन् । निर्वाचन सम्पन्न भएका अधिकांस नगरपालिकाहरुका धेरै उम्मेदवारहरुले‘स्मार्ट सिटी’को मुद्दालाई नीकै जोडबलले उठाए । गरीवि, अव्यवहारिक शिक्षा र बेरोजगारी जस्ता समस्याले थिचिएका आम नागरिक माझ राम्रै खपत भयो स्मार्ट सिटीको नारा । निर्वाचित जनप्रतिनिधीहरुले विकास गराउने स्मार्ट सिटी कस्तो हुनेछ, त्यो हेर्नको लागि पाँच वर्ष प्रतिक्षा गर्नै पर्नेछ । नेपालको सन्दर्भमा स्मार्ट सिटीको अवधारणा नयाँ भएकोले यो लेखमा स्मार्ट सिटीको बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
के हो स्मार्ट सिटी :
स्मार्ट सिटी, सूचना तथा संचार प्रविधीले ल्याएको क्रान्ती संगै विकसित भएको अवधारणा हो । यस्को कुनै निश्चित परिभाषा छैन । यो शहरबासी र शहरको नेतृत्वले देख्ने सपना हो । सन् २०५० सम्ममा विश्वको करिब ७० प्रतिसत् जनसंख्या शहरमा बस्ने अनुमान गरिएको छ । शहरमा बढ्ने यो जनसंख्याका कारण ठूलो मात्रामा उर्जा खपत हुने, धेरै हरितगृह ग्यास उत्सर्जन हुने, शिक्षा, स्वास्थ्य, यातायात जस्ता सेवामा कठिनाई उत्पन्न हुने, लगायत अन्य धेरै नकारात्मक असरहरु पर्ने हुनाले त्यसको न्यूनीकरण गर्न स्मार्ट सिटीको आवश्यकता महसुश भएको हो । स्मार्ट सिटी भन्ने वाक्यांस सन २००० पछि बढी अपनाउन थालिएको भएता पनि ९० को दशकको शुरुवात देखिनै धेरै शहरहरु स्मार्ट सिटीको रुपमा विकसित हुंदै आएका छन् ।
सूचना तथा सञ्चार प्रविधीमा पछिल्लो समय भएको विकासले मानव जीवन निकै सहज भएको छ । संसारको जुनसुकै कुनामा सस्तो र सहज सञ्चार सम्भव भएको छ । तथ्याङ्क , सूचना र ज्ञानको श्रोतहरुसम्मको पहुँच सजिलो भएको छ फलस्वरुप विश्व नीकै सांघुरो बनेको छ । स्मार्ट सिटीमा ब्रोडब्याण्ड सञ्जालको विस्तार, स्मार्ट उपकरणहरुको प्रयोग, वेबमा आधारित एप्लिकेशन र ईलेक्ट्रोनिक सेवाहरुको विकास, स्मार्ट पूवाधार्रहरुको निर्माण, सरकारी लगायत अन्य तथ्यांकमा सहज पहुंच आदि अनिवार्य सर्तहरु हुन । स्मार्ट सिटीमा नागरिकहरुको गुणस्तरीय जीवन यापनको लागि भौतिक पूर्वाधारहरुमा सूचना तथा सञ्चार प्रविधीलाई एकिकृत गरिएको हुन्छ । शहरमा उपलब्ध सेवा तथा सुविधाहरु प्राप्त गर्न प्रयोग गरिने वस्तुहरुलाई आपसमा जोडेर इन्टरनेट अफ थिंग्स भनिने सञ्जाल बनाइएको हुन्छ । यो सञ्जालमा जोडिएका सम्पूर्ण वस्तुहरुले एकापसमा तथ्यांक एवं सूचनाहरु आदान, प्रदान र प्रशोधन समेत गर्न सक्दछन । शहरी कृयाकलापहरुमा सूचना तथा सञ्चार प्रविधीको प्रयोगले शहरी गतिविधी सञ्चालनको प्रभावकारीता र कार्यक्षमता बढ्दछ ।

 

स्मार्ट सिटीका घटकरु :
–स्मार्ट पूर्वाधार ः स्मार्ट पूर्वाधार स्मार्ट सिटीको मेरुदण्ड हो र सूचना तथा सञ्चार प्रविधीको पूर्वाधार स्मार्ट पूर्वाधारको आधार हो । सडक, भवन, पूल, अस्पताल, विद्दुत जस्ता भौतिक पूर्वाधारहरुलाई विभिन्न सेन्सरहरु, वाइफाई, अप्टिकल तार, थ्रीजी÷फोरजी जस्ता सूचना प्रविधीका पूर्वाधारहरुले जोडेर स्मार्ट पूर्वाधार बनाइएको
हुन्छ ।

 

–स्मार्ट अर्थतन्त्र : सूचना तथा सञ्चार प्रविधीलाई अपनाएका स्मार्ट उद्योग र कलकारखानाहरुको स्थापना गरिएको हुन्छ । नागरिकहरुमा उद्दमशीलताको भावना र केही नयां गर्ने शोचको भोकले स्मार्ट सिटीलाई प्रगतिको बाटोमा डोर्याइरहेको हुन्छ । शहरको उत्पादकत्व उच्च हुन्छ । सहज र सरल बैंकिंग सेवा सबै नागरिकहरुको पहुंचमा हुन्छ ।

– स्मार्ट प्रशासन :  पारदर्शी प्रशासन, निर्णय प्रकृयामा जनसहभागिता, छिटो र प्रभावकारी सार्वजनिक सेवाको प्रवाह आदिले स्मार्ट सिटी निर्माणमा महत्पूर्ण भूमिका खेल्दछन । शहरमा कृयाशील राजनैतिक दल र सामाजिक संघसंस्थाका ठीक नीति र स्पष्ट दुरदृष्टि पनि स्मार्ट सिटी निर्माणका एकाई हुन ।
– स्मार्ट यातायात सेवा : स्मार्ट यातायात सेवाले सहरबासीहरुलाई सस्तो, छिटो, सुरक्षित, र भरपर्दो सवारी साधनको छनौट गरेर यात्रा गर्ने सुविधा प्रदान गर्दछ । शहरका सडक सञ्जाल र सवारी साधनहरुमा सेन्सर, जीपीएस र अन्य स्वचालित यन्त्रहरु जडान गरेर विभिन्न सूचनाहरु संकलन गरिन्छ र यात्रालाई अधिकतम सहज बनाउने प्रयास गरिन्छ । साथै सहरमा सुरक्षित साइकल लेन र पैदल यात्रुहरुलाई यथेष्ट फुटपाथको व्यवस्था गरिेएको हुन्छ ।
– स्मार्ट नागरिक : स्मार्ट सिटी निर्माणमा शहरका नागरिकहरुको शैक्षिक योग्यता एक महत्वपूर्ण अंग हो । शैक्षिक योग्यताका साथै नागरिहरुको सामाजिक सेवामा सहभागिता, सिर्जनशीलता, खुल्ला सोच, जीवन पर्यन्त सिकाईको अभिलाषा, परिवर्तनलाई स्वीकार गर्न सक्ने जस्ता गुणहरुले शहर कति स्मार्ट छ भन्ने मापनमा सहयोग पुर्याउंछ ।

– स्मार्ट वातावरण : जनसंख्याको बृद्धिसंगै उर्जाको अधिक प्रयोगले हुने कार्वन उत्सर्जनलाई कम गर्नु नीकै चुनौतिपूर्ण काम भएको छ । प्रदुषणलाई कम र पर्यावरण संरक्षण गर्नको निम्ति उचित नीति र योजना आवश्यक हुन्छ । प्राकृतिक सम्पदाको संरक्षण र उर्जा र अन्य श्रोतहरुको दीगो व्यवस्थापन गरिनु पर्दछ । कार्वन कम उत्सर्जन गर्ने सौर्य उर्जा, हावाबाट उत्पादित उर्जा, बायोग्यास जस्ता हरित उर्जाहरुको उत्पादन र प्रभावकारी वितरण गरिनु पर्दछ ।

– स्मार्ट जीविका : गुणस्तरीय जीवनका विविध पक्षहरु जस्तै सुविधायुक्त आवास, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, शुरक्षा, मनोरञ्जन आदिको उचित व्यवस्थाले स्मार्ट सिटीमा अर्को आयाम थप्दछन । नागरिकहरुबीच कायम हुने धार्मिक एवं जातिय सहिष्णुता र सामाजिक एवं सांस्कृतिक सदभावले शहरलाई स्मार्ट बनाउंछ ।
अन्त्यमा, स्मार्ट सिटी हुनको लागि माथि उल्लेखित सबै हुनुपर्दछ भन्ने होइन । यीनिहरुनै सबैथोक पनि होइनन । आफुसंग उपलब्ध श्रोतहरुको अधिकतम उपयोग गर्दै जे जति सकिन्छ हासिल गर्दै जाने हो ।
स्मार्ट सिटी कुनै गन्तव्य होइन यो त सूचना प्रविधिलाई अंगिकार गर्दै शहरबासीको सुविस्ताजनक र गुणस्तरीय जीवन यापन गराउने तर्फको निरन्तर यात्रा हो ।

(कम्ययुनिकेशन्स इन्जिियिर्समा स्नातकोत्तर गैरे भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा कार्यरत छन)

प्रतिक्रिया

प्रतिक्रिया