बिरामी भेट्न जादा खाम किन नलाने ?

श्रृजना आचार्य

कहिले कांही कसैले लेखेको सामान्य कुराले मान्छेको मथिङ्गल खलबल्याईदिन्छ । हुन त कुनै पनि कुरा मानिसले त्यसै लेख्दैन त्यसमा उसको भोगाई लुकेको हुन्छ । जुन कुरा धेरै मानिसले भोगेको भए पनि सबैले ब्यक्त गर्दैनन् ।
केही दिन अघिको कुरा हो । फुर्सदको समयमा संधै जस्तै ल्यापटपमा फेसबुक चलाउंदै थिएँ । एकाएक कसैले लेखेको एउटा स्टाटसमा आंखा गयो । बिरामी भेट्न जांदा किन खाममा पैसा लिएर नजाने ? हेर्दा सामान्य लागे पनि त्यो स्टाटसले मेरो मथिङ्गल खलबल्यायो ।
मानिस एउटा सामाजिक प्राणी हो । समाजमा बसे पछि आफन्तलाई परेका दुख सुखमा सहभागी हुनु उसको दायित्व हो । तर त्यो सहभागिता आफन्तका लागि कत्तिको सार्थक भयो भन्ने कुराको हेक्का हामी कमैले राख्ने गरेका छौं होला । यसो भन्दै गर्दा म मेरै जीवनमा परेको दुई घटनालाई दाजेर हेर्न चाहन्छु ।

एक सातामा भएका यी दुई घटना । पहिलो, मेरो कुनै आफन्तको विवाहमा निम्तो आयो । विवाहको निम्ता कार्डमा लेखिएको थियो कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला । यसको अर्थ जिन्सी नल्याउनु नगद बोकेर आउनु भन्ने हो ।

त्यो विवाहको लागि तयार हुन मलाई कम्तिमा तीन दिन लाग्यो । पहिलो दिन म संग विवाहमा लगाउने रातो साडी थिएन । एउटा साडी सहित त्यसमा आवश्यक पर्ने सबै कुरा किने । ब्लाउज सिलाउन दिंए । मेरो कपाल प्राकृतिक रुपमा कर्ली छ त्यसैले दोस्रो दिन कपाल सिधा पारें । तेस्रो विवाहको दिन थियो । त्यो दिन साडी, गहना लगाएर विवाहमा गएँ । साडी र गहना लगाए पछि सार्वजनिक गाडीमा पार्टी प्यालेस जान अप्ठेरो, ट्याक्सी चढेर गएँ ।

गरिब दुई घण्टा विवाह उत्सवमा विताएर आएँ । त्यो दुई घण्टा विवाह समारोहमा बिताउन मलाई तीन दिन देखिको तयारी गर्नु पर्यो भने आर्थिक हिसाबले मेरो साडी लगायत सबै मिलाएर करिब पांच हजार रुपैया लगानी समेत गरेँ ।
दोस्रो, मेरो कान्छि सानीमाको जेठाजुको १० वर्षिय छोरा जसलाई उपचारका लागि अन्नपुर्ण न्युरो अस्पतालमा भर्ना गरीएको थियो । उनलाई भेट्न जान मन लाग्यो । तर बिरामी भेट्न के लिएर जाने ? हामीले सामान्य सोच्ने गरेको हर्लिक्स, फलफुल, जुस, बिस्कुट यस्तै त हो । बच्चा भेट्न जाने हो भन्ने सोंचेर नजिकैको पसलबाट विस्कुट किनेर लिएर गए । अस्पतालमा ६र७ जना अन्य आफन्तहरु पनी भेट्न आउनुभएको थियो ।

भाईलाई राखिएको वेडमा पुगे तर भाई मैले लगिदिएको विस्कुट खाने अवस्थाको थिएनन् । भाईको बुवालाई त्यो विस्कुट दिए । केही बेर भाईको बुवा (अंकल) संग कुरा गरेपछि विरामी कुर्ने कोठामा निस्कियौं । त्यहां भाइको आमा, दिदी लगायत अन्य आफन्त पनि हुनुहुन्थ्यो ।
बर्दियाको गुलरीयाबाट छोराको उपचारका लागि आउनुभएको अंकल, आन्टि लगायत त्यो दिदीहरुलाई कति पीडा थियो होला । तर पनि भेट्न आएका आफन्तहरुको स्वागत सत्कारमा कुनै कमी राखेनन् । अस्पतालको कुरुवा कोठामा समेत सबै आफन्तको लागि चिया बोकेर ल्याए । काठमाण्डौको ठाउंमा आफ्नै त बस्ने खाने ब्यवस्था नभएको अवस्थामा भेट्न आउनेलाई खाजा खान आग्रह समेत गरे ।

मलाई त्यो चिया खाउं कि नखाउं लाग्यो । आफुले सहयोग गर्नुपर्ने यस्तो अवस्थामा उल्टै उहांहरुको लागि समस्या पो बन्न आए की जस्तो । पहिलो घटनामा मैले मेरो अहमता राम्रैसंग प्रदर्शन गर्न सफल भएँ भने दोस्रो घटनामा मैले मानवताको भूमिका राम्रोसँग निभाउन नसकेको महशुस गरेँ ।

मैले त्यो विस्कुट लिएर जाने ठाउंमा कम्तिमा खाममा पांच सय रुपैया हालेर लगेको भए त्यो परिवारलाई एक पटक खाजा खाने समस्या त समाधान हुन्थ्यो । तर, त्यहाँ त म झन त्यो परिवारलाई समस्या थप्न पुगेँ । पहिलो घटनामा म मेरो आफन्तको सुखमा सरिक हुन जांदै थिए । त्यसको निम्तो कार्डमा बकाइदा नगद लिएर आउनु भन्ने उल्लेख गरेकाले म खाममा नगद बोकेर सरीक हुन गए । त्यसको तयारीका लागि गरेको खर्च त छुट्टै छ । हामी कसैको खुसीमा सरीक हुन जांदा लागेको खर्चको हिसाव किताव गर्दैनौं । किनकी त्यहाँ आफ्नो अहमता प्रदर्शन गर्ने मौका मिल्छ ।

खुसीमा सहभागी हुन बोलाउँदा नगद लिएर आउनु भन्ने संस्कार हामीले स्थापित गरेका छौं । तर दुख वा अप्ठेरोमा परेको बेला सहभागी हुन जाँदा किन कुनै संस्कार स्थापना गर्न सकेका छैनौं ?त्यो भाई जसलाई दुई महिना काठमाण्डौमा राख्दा पनि उपचार सम्भव नभए पछि भारतको दिल्ली पुर्याइयो । आर्थिक हिसावले परिवारले लाखौं रुपैया खर्च गर्नुभयो । दिल्लीमा ६ महिनाको उपचार पछि अहिले भाई गुलरीयामा छन् । अहिले पनि भाई दुई वर्ष सम्म चिकित्सकको परामर्शमा चल्नुपर्छ ।
एक वर्ष देखि श्रीमती ममताको उपचारका लागि काठमाण्डौमा रहेका पत्रकार कर्ण वोहोराको गएको मङ्सीरमा मृत्युभयो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष समेत रहेका बोहरा मुटु रोगी थिए । दुवै मृगौला फेल भएकी ममतालाई छाडेर उनी सदाका लागि अस्ताए ।

 

भीमदत्त नगरपालिका कञ्चनपुरका स्थायी बासीन्दा कर्ण श्रीमतीकै उपचारका लागि काठमाण्डौ आएका थिए । ममताको मध्यबानेश्वर स्थित भेनस अस्पतालमा उपचार भइरहेको थियो । जवसम्म कर्ण जीवित थिए ममताको कसैलाई वास्ता भएन । म जस्ता विरामी भेट्न जानेले पक्कै पनि फलफुल र विस्कुल लिएर गएको हुनुपर्छ । ममता अस्वस्थ्य हुदा देखी नै हामी सबैले थोरै थोरै आर्थिक सहयोग गरेको भए सायद अहिले कर्णलाई गुमाउनु पो पर्ने थिएन की ?

एक वर्ष सम्म घर छोडेर श्रीमतीकै उपचारका लागि भन्दै काठमाण्डौ बस्दा उनलाई कती मानसीक पीडा भयो होला ? आर्थिक रुपमा कति समस्या पर्यो होला ती कुरा वाहिर आएनन् । पारीवारीक र आर्थिक समस्याले पारेको तनावका कारण कर्णको ज्यान गएको हुनसक्छ ।
बोल्दा हांसेर बोल्ने, पीडा नदेखाउने कर्णको मनमा कती पीडा लुकेको होला भन्ने कसैले अन्दाज गर्न सकेन । कर्णको मृत्युपछि ममतालाई बचाउन आर्थिक संकलन अभियान संचालन भए । अहिले ममता उपचारको लागि भारतको दिल्लीमा छन् ।

समस्या भन्ने कुरा कसैले निम्तो दिएर आउंदैन । जसलाई जतिबेला पनि समस्या पर्न सक्छ । अन्न पानीको शरीर हो ब्यालेन्स बिग्रीन के बेर ? तर त्यस पछि पर्ने समस्यालाई सबैको सानो सानो सहयोगले सामना गर्न सजिलो
हुन्छ । एक जनाले गरेको सहयोग रकमले त्यो बिरामीको लागि एक पटक औषधि किन्न पुग्ने भयो भने परिवारको लागि कति सजिलो हुन्छ होला ? त्यती बेला हामीले औपचारिकता पुरा गर्न लिएर गएको फलफुलको कुनै अर्थ राख्दैन ।

त्यसैले सामाजिक दायित्व निभाऔं, औपचारिकता होइन । कम्तीमा अस्पतालमा बिरामी भेट्न जांदा जति सकिन्छ खाममा पैसा लिएर जाउं । समस्या बल्झिनु अघि नै त्यसको समाधानको लागि सबैको हातेमालो भयो भने पक्कै पनि परिवारलाई सजिलो हुन्छ । उपचारकै लागि आर्थिक संकलनका लागि सामाजिक अभियान संचालन गर्नुपर्ने आवश्यकता नआउला ।

प्रतिक्रिया

प्रतिक्रिया