खजुराको ‘किस्मत’

किरण ढकाल/नेपालगन्जन्यूज

‘छोड दिए हम ने ऐतबार किस्मत कि लकिरो पे,
जो दिलों मे बसे जाए, वो लकिरो मे नहि मिलता ।’

माथिको सायरी झैं रह्यो खजुराको ‘किस्मत’ । सायद प्रारब्धलाई यहि मन्जुर थियो । गुल्जार खजुरा एकाएक सन्न
भयो । उसकै अगाडि हुर्किदै गएको कोहलपुरको सम्वृद्धिका अगाडि खजुरा बौना हुनुपर्यो ।

विगतले खजुरालाई ठगेको छ । अन्याय गरेको छ । ३५ वर्ष अगाडिसम्म एअरपोर्ट खजुरा, हुँदा हँुदा स्थानीय तहको संरचना हुँदा समेत नगरपालिका नभएको पीडालाई आत्मबोध गरिरहनु परेको छ ।

हो, यसै मेसोमा खजुराको ‘संजीवनी’ बन्दै जुर्मरायो एउटा सपना । त्यस्तो सपना जस्लाई धेरैले पत्याएनन् । धेरैले हाँसोमा उडाए । खजुरामा क्यान्सर अस्पताल असम्भव छ भन्नेहरुको भीडमा निरन्तर त्यो सपनालाई पुरा गर्न ज्यानै फालेर लागे एक जना खजुरावासी ।
त्यो सपनालाई मूर्तरुप दिने तिनै खजुरा क्यान्सर अस्पताल निर्माणका कमान्डर किस्मत खजुरा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । अर्थात, खजुराका ‘किस्मत’ बनेका छन् । खजुरा चिनाउने पर्यायवाची बनिसकेको छ, खजुरा क्यान्सर अस्पताल ।
स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षमा किस्मत कुमार कक्षपति निर्वाचित भएका छन् । र, अबको ५ वर्ष खजुराको किस्मत (भाग्य)लाई जगमगाउँदो बनाउने जिम्मेवारी प्राप्त भएको छ किस्मतलाई । खजुराको भविष्य लकिर (रेखामा) मा हैन, मुटुमा सजाउने प्रण गर्दै खजुरावासीले किस्मतलाई दिलमा बसाएका छन् । अर्थात विश्वास दर्शाएका छन् । त्यो विश्वास जोगाए भने उनले बदल्नेछन्, खजुराको किस्मत ।
०५२/०५३ मा खजुरामा स्थायी बसोबासका लागि आएका किस्मत कुमार कक्षपतिले आफ्नो व्यापार व्यवसाय संगै सामाजिक कर्ममा जोड्दै लगे । ०३५/०३६ को विद्यार्थी जीवनमा नै राजनीतिको चस्का पसिसकेको थियो उनलाई । क्याम्पसे राजनीति पछि शिक्षक रहेर केहि बर्ष अध्यापन गराउँदा देखि नै उनी बामपन्थी राजनीतिमा झुकाव राख्न थालिसकेका थिए ।
राजनीतिक रुपमा सचेत, संगठित खजुरामा उनको लोभलाग्दो सक्रियताबाट एमाले बेखबर हुने कुरै भएन । उनको क्षमतालाई नजिकबाट महशुस गरेका राजेन्द्र सापकोटा भन्छन्, ‘उनमा सक्रियतापुर्वक काम गर्ने क्षमता थियो । हामीलाई खजुरा खानेपानीमा कांग्रेसको वर्चस्वलाई तोड्नु थियो ।

त्यसैको लागि उनलाई अध्यक्ष बनाइयो । खजुरा खानेपानीको चुनावमा किस्मत र उनको टिमले शानदार जीत हासिल गर्यो ।’ त्यहाँबाट सुरु भयो खजुरामा किस्मतको जादू ।
खजुरा खानेपानीको २ कार्यकाल अध्यक्ष भएपछि उनी खजुरामा निर्विकल्प सामाजिक अगुवाका रुपमा स्थापित हुदै गए । खजुरा खानेपानीलाई संस्थागत गर्न उनले थुप्रै कामहरु गरे । परिणामत उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुुपरेन ।
खजुराको सामाजिक कर्महरुमा उनी निर्विकल्प नेतृत्वकर्ता बन्दै रहे । र, खजुराको भविष्य रिभाइब हुने गरी क्यान्सर अस्पताल निर्माणमा रहेको क्रियाशिलता र नेतृत्व क्षमतालाई समग्र खजुरा क्षेत्रका जनताका माझमा प्रमाणित गरे उनले ।
खानेपानीको अध्यक्ष भएपछि किस्मत एमालेमा संगठित भए । एमालेमा संगठित गर्दा त्यसबेलाका एमाले जिल्ला कमिटि सदस्य समेत रहेका सापकोटा भन्छन्, ‘उनको प्रवेशले खजुरामा एमालेलाई बलियो बनाउन प्रशस्त आधारहरु दियो ।’ एमाले बाँकेका प्रचार विभाग प्रमुख रहेका किस्मत कुमार कक्षपति चुनावी मैदानमा उत्रने बाँके एमालेका सबैभन्दा शिर्ष नेता हुन् ।
स्पष्ट वक्ता किस्मतका बारेमा सापकोटा भन्छन्, ‘स्वच्छ छवि भएका नेता हुन् । खजुराको भविष्यलाई उज्जवल बनाउन उनी एकदम ठिक छनोट हुन् । आँटेको काम पुरा गर्ने उनी आत्मविश्वासका धनी व्यक्तित्व हुन् ।’
खजुराको सम्बृद्धिका लागि खजुरा गाउँपालिकालाई २ क्षेत्रमा बाँडेर हेर्नुपर्ने हुन्छ । वडा नं.१ देखि ४ र ५ देखि ८ सम्म । दुवै फरक छन् । सामाजिक सूचकांकमा साविकका राधापुर, सीतापुर र वागेश्वरी अब्वल छन् । तर, रनियापुर, सोनपुर र उढारापुरको अवस्था केहि फरक छ । सापकोटा भन्छन्, आँट हुने हो भने खजुराको सम्बृद्धि सम्भव छ । र किस्मतसंग त्यो ‘जज्बा’ छ ।
किस्मतलाई बधाई दिदै बाँकेका पूर्व स्थानीय विकास अधिकारी विश्वराज डोटेल भन्छन्, ‘बाँके कै नमूना र व्यवस्थित आवासीय शहरका रुपमा खजुराको निर्माण गर्न सफलता मिलोस् ।’
किस्मत योजनामा विश्वास गर्छन् । पंक्तिकारको करिब २ दशक लामो निकटस्थ संगतका आधारमा भन्न सकिन्छ, कि उनीमा सपना देख्ने हुटहुटी मात्र छैन, त्यो पुरा गर्न सक्ने सक्रियता पनि छ । अप्ठ्यारो नभएको पक्कै हैन । जीत सहजै भएको पनि हैन । निरन्तर चलायमान भइरहने र सचेत मतदाताहरुको रोजाइमा पर्न थोत्रा भाषणले काम गर्ने वाला पक्कै थिएन ।

 

उनी निर्वाचनमा खाली हात गएका थिएनन् । उनीसंग भिजन थियो । मिसन थियो । र, गोल तय थियो । ‘किनभने खजुरा सम्बृद्धि चाहन्छ’ भन्दै एमाले खजुराको घोषणापत्र सहित उनी भोट माग्न गएका थिए ।
प्रचारमा उनी जहाँ पुगे, त्यहि उनले भने, हाम्रो खजुरालाई राम्रो बनाउनु मेरो कर्म हो । ‘त्यो दस्तावेजको आधारमा नै हो किस्मतले काम गर्ने,’ घोषणापत्र मस्यौदामा योगदान गरेका सापकोटा दैनिक नेपालगन्ज सँग भन्छन् ।
८०२४ मत प्राप्त गरी विजयी भएका किस्मत खजुराको तमाम समस्यासंग ‘वाकीफ’ छन् । शिक्षा नै सम्बृद्धिको मूल आधार मान्ने उनी भन्छन्, ‘हाम्रो गाउँपालिकामा शिक्षामा कुल बजेटको २५ प्रतिशत खर्च गरिने छ ।’ ओरालो लागेको खजुराको साखलाई उँचो बनाउन उनले धेरै गर्नुपर्ने छ ।
१ उपाध्यक्ष, ५ वडा अध्यक्ष र २४ वडा सदस्य सहित विजयी बनेका किस्मतसंग भरिला, सक्रिय युवाहरु देखि खारिएका अनुभवी हस्तीहरुको टिम छ । अझ त्यसमाथी उनलाई साथ दिने पार्टीको द¥हो संगठन छ । उनको सक्रियतासंग खजुराको भविष्य जोडिएको छ । उनको क्रियाशीलता संग खजुराको शान जोडिएको छ ।
किस्मतको जोश र सक्रियताले खजुरालाई सुन्दर र व्यवस्थित शहरका रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने प्रशस्त आधारहरु छन् । सायद त्यहि आधारहरु देखेर हुनुपर्छ मतदाताले उनलाई विश्वास गरे । अपेक्षा यहि हो, त्यो विश्वास नटुटोस् । र, खजुराको ‘किस्मत’ बनेर जनताको दिलमा छाइरहुन् । शुभकामना !

प्रतिक्रिया

प्रतिक्रिया