‘भिजनरी’ डा. धवल

किरण ढकाल

डा. धवल शम्शेर राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी भएका छन् । उनी दोश्रो पटक नेपालगन्जको मेयर बनेका हुन् ।
‘डा. धवल शम्शेरको जीत विकासको चाहनाको जीत हो ।’ राप्रपा नेता तेजविक्रम शाह भन्छन् ।
नेपालगन्जको चुनाव परिणामले प्रष्ट सन्देश दिएको छ कि मतदाता राजनीतिक अजेण्डामा मात्र दिलचस्प छैनन् । शाह भन्छन्, डा. धवल टेष्टेड हुन् । उनको कामको मूल्यांकन समेत भएको छ ।
हुन पनि डा. धवलले अघिल्लो इनिंगमा ‘पपुलर’ काम गरेका थिए । उनले गरेका ठूला संरचना निर्माण त एउटा पक्ष मात्र हो । उनले नगरपालिका आउने सर्वसाधारणहरुको पीरमर्का आफैले सुन्ने र समाधानको बाटो देखाउने काम समेत गरेका थिए ।
डा. धवलसंग अघिल्लो पटक वडा अध्यक्ष भएर काम गरेका एमालेका एक कार्यकर्ता भन्छन्, ‘उनी वास्तवमा जनपक्षिय थिए । उनको व्यवहार हामीले पढ्ने गरेका कम्युनिष्ट नेताकार्यकर्ताको जीवन शैलीसंग मिल्छ ।’
डा. धवल नेपालगन्जलाई चाहिने विकासप्रेमी नेतृत्व हो । मतदाताले त्यसैले विश्वास गरेका हुन् । शाह भन्छन् ।
नेपालगन्जन्यूज संग कुरा गर्दै डा. धवलले भने, मैले १०० दिनको प्राथमिकताको सूचि बनाइसकेको छु ।
हुन पनि पहिलो इनिंगमा प्रशस्त काम गरेको अनुभव छ उनीसंग । उनको नेतृत्वमा बनेका नगरपालिका कार्यालयको शटर, रानीतलाउ र महेन्द्र पार्क, वाटरपार्क र न्यूरोडलाई नजिकैबाट देखेका नेपालगन्जवासीहरुले यसपटक हाम्रो हैन, राम्रो चुने ।
डा. धवललाई नजिकबाट चिन्नेहरु भन्छन्, उनमा एउटा राजनीतिक नेतामा हुनुपर्ने सबै गुण छ । उनको कार्यकर्तासंगको सान्निध्यता, पार्टी संगठनलाई सर्वोपरी ठान्ने गुण छ । सादगी छ । सामुहिक नेतृत्वमा विश्वास गर्ने नेता हुन् ।
विरासतमा प्राप्त सम्पत्तीको सफल व्यवस्थापन गरेका छन् उनले । बुवाले खनजोत गरेर बनाएको राधेपुर कृषि फार्ममात्र हैन, होटल बाटिका लगायतको व्यापारिक संस्थाहरुमा उनको लगानी छ । धेरैले त्यहाँ रोजगारी पाएका छन् ।
आम रुपमा राजनीतिक नेताहरु भ्रष्टाचारले गन्हाइरहेको बेलामा उनलाई भने मतदाताहरु ‘मिष्टर क्लिन’ भन्छन् । उनले विगतको मेयर हुदाँ जस्तै यसपटक पनि तलवभत्ता नलिने घोषणा गरेका छन् । उनले आफ्नो तलब भत्ताबाट भेरी अञ्चल अस्पतालमा विरामी कुरुवा प्रतिक्षालय बनाए ।
एक जमानामा शिकार खेल्दै बाँकेको पुर्नवास क्षेत्रको जंगल घुम्ने डा. धवल प्रकृति प्रेमी छन् । प्रकृतिसंग रमाउने अवसर नेपालगन्ज मै  नेपालगन्जबासीलाई दिनुपर्ने गरी काम गर्ने योजना छ उनकाे ।
उनी ग्रेटर नेपालगन्ज अवधारणाबाट पनि चर्चित छन् । बाहिरी रिंगरोड, नडुब्ने नेपालगन्ज, खाल्डाखुल्डि रहित बाटो मात्र हैन, नेपालगन्जको सामाजिक विकासको सूचकांकलाई बढाउनुपर्ने चुनौती पनि छ ।
यसैले उनी भन्छन्, विकासमा अति पछाडि पारिएका मुस्लिम समुदायका लागि मुस्लिम विश्वविद्यालयको स्थापना गर्ने छुु ।
नेपालगन्ज सुकिला मुकिलाहरुको मात्र शहर हैन । यो विकासले छुदै नछोएका चिढिमार, किंगरियन तथा घसियारनहरु समुदायको पनि हो । डा. धवलसंग यी समुदायले ठूलो अपेक्षा राखेका छन् । राप्रपा नेता शाह भन्छन्, डा. धवलको लगाव नै समाजको तल्लो तहमा रहेकाहरुको प्रगतीमा छ ।
प्रदेश ५ को मुख्य शहर हो नेपालगन्ज । प्रदेश ६ को पनि मुख्य प्रवेशद्धार हो । प्रदेश ५ को उच्च अदालत तुल्सीपुरमा स्थापना भैसकेको छ । प्रदेश राजधानी बनाउने अजेण्डाको साथमा बुटवलमा दलहरु चुनावमा भाग लिए । प्रदेश ५ मा नेपालगन्जको भूमिकालाई कसरी बढाउने ? यो चुनौतीलाई सामना गर्न नेपालगन्जले उनलाई बागडोर सुम्पेको छ ।
धवलको भिजन नेपालगन्जको सम्बृद्धिसंग जोडिएको छ । शुसासन र जवाफदेहितालाई व्यवहार मै उनले सम्मान गर्ने गरेका छन् भन्छन् तेजविक्रम शाह ।
नगर कार्यपालिकामा अल्पमतमा रहेका राजनीतिका व्यवहारिक खेलाडी डा. धवलले बुझिसकेको हुनुपर्छ, युवा र फुर्तिला उपमेयर र वडा अध्यक्षहरुले आफ्नो राजनीतिक अजेण्डामा हैन, सम्बृद्ध नेपालगन्ज बनाउने योजनामा मात्र साथ दिनेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया