उदाउदै उमा

किरण ढकाल

महा भुकम्प पछिको पहिलो घन्टि उमाको थियो । लौ न केहि गरौं । हामी भेटियौं । चियाको सर्कोसंगै बन्यो
योजना । र लाग्यौं भुकम्पपिडितहरुलाई राहत वितरणमा । फेसबुक र मोवाइलबाट चलाइएको हेल्पिंग हयान्डस फ्रम नेपालगन्ज अभियान मकवानपुर, धादिंग, काठमाडौं, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुका करिब  ५ हजारसंग पिडितसंग पुग्न सफल भयाे । बैसाख १२ गते भुकम्प गएको थियो । हामी बैसाख १७ गते नै मकवानपुरको टिस्टुंग पुगिसकेका थियौं ।

 

सबैभन्दा ठूलो कुरो यो अभियानमा नेपालगन्ज जोडियो । नेपालगन्ज जुर्मुरायो । र सहयोगी नेपालगन्जको पहिचान थपियो । नेपालगन्जलाई चिनाउने गरी गरिएको अभियानको हामीसंगै नेतृत्व गर्दै थिइन् उमा ।
उमा दिदिसंग जज्बा छ । हौसला छ र छ त आत्मविश्वास । हेल्पिंग हेन्ड्स फ्रम नेपालगन्ज अभियानका अभियन्ता सोम गुरुग भन्छन् ।

उमा थापा कांग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकामा उपमेयर उम्मेदवार हुन् । कस्तो महशुस भैरहेको छ, चुनावी प्रचारमा जान हतारिदै गरेकी उनले नेपालगन्जन्यूजसंग भनिन्, भोट मागिरहेको अनुभव छ, त्यसैले अप्ठेरो परेको छैन । आफ्ना घोषणापत्र सुनाउदै जनतासंग सम्बन्धलाई प्रगाढ बनाउनका लागि लागिपरेको छु ।
१६ बर्ष देखि उनी राजनीतिमा होमिइन् । ०४६ सालको बहुदलीय प्रजातन्त्र पछिको खुल्ला परिवेशमा उनी स्कुलबाट नै राजनीतिमा जोडिइन् ।

 

राजनीतिलाई कर्म बनाउने गिने चुनेका नेपालगन्जका युवाहरु मध्ये उमा एक हुन् । ०४८ ०४९ तिर उनी स्कुलको नेविसंघमा संगठित थिइन् । एसएलसि पछि क्याम्पस आउँदा नेविसंघको साथ निरन्तर रहयो । परिणाम उनी महेन्द्र बहुमुखि क्याम्पसमा स्ववियु सदस्य र कोषाध्यक्ष हुदै २ अवधि चुनिइन् ।
उमाको क्रेज कस्तो थियो भने नोमिनेसन कै बेला जित्ने निश्चित उम्मेदवार उनी मात्र थिइन् । स्ववियु चुनावका मतदाता विद्यार्थीहरु अहिले पनि सम्झन्छन् । आक्रामक प्रचार थियो र विपक्षी अखिलका विद्यार्थीहरु माझ पनि उनी उत्तिकै लोकप्रिय थिइन् ।

 

नेविसंघको राजनीतिलाई उनले केन्द्रिय सदस्य सम्म निरन्तरता दिइन् । र विस्तारै पार्टी राजनीतिमा उपस्थिती जनाउन थालिन् । गत संविधान सभाको निर्वाचनमा कांग्रेसबाट समानुपातिकको बन्द सूचिमा परेकी थिइन् ।

आत्मविश्वासी र इमान्दार उमा दिदिको सक्रियताबाट म प्रभावित छु । उनीसंगै पत्राकारिताको ३ महिने कोर्ष गरेका विशाल राना भन्छन्, उमा दिदिको ट्यालेन्टलाई नेपालगन्जले सम्मान गर्नुपर्छ ।

हुन पनि उनको उम्मेदवारीको खबर जसै नेपालगन्जन्यूज र फेसबुकबाट सार्वजनिक भयो, उनलाई पत्राकारिता सिकाउने गुरु रेशम विरहीले फेसबुकमा लेखे, उमा जस्ता युवाको खाँचो छ । बधाई हो ।

आफ्नो राजनीतिक सक्रियतालाई पत्राकारिताको क्यारीयरसंग जोड्दै उनले करिब ढेड दशक पत्राकारिता गरिन् नेपालगन्जकेन्द्रित रहेर । नेपालगन्जका सक्रिय महिला पत्राकारहरुको पहिलो पुस्ता हुन् उनी । आँखा मात्र देखिने गरि मास्क लगाएर गर्मीको परवाह विना निरन्तर दौडिरहने उनको पहिचानको पारखी नेपालगन्जमा अहिले जहाँतहि भेट्न सकिन्छ । जनआन्दोलन ६२ ६३ मा उनले अग्रणी युवाको भूमिका निर्वाह गरिन् ।

समाजसेवा उनको रुची हो । त्यो रुचीलाई पुरा गर्न विभिन्न जिम्मेवारी वहन गर्दागर्दै उनी राजनीतिमा तानिइन् । लायन्स इन्टरनेशनल लगायतका संस्थाहरुसंग जोडिएकि उनको खासियत नै धेरै भन्दा धेरै नेटवर्किंग हो ।
एउटा युवती, त्यो पनि नेपालगन्जको । कुनै पनि पेशामा सक्रिय हुन अनेकौं व्यवधान खेप्नुपर्ने समयमा उनको निरन्तरता चाहे सामाजिक कर्ममा, पत्राकारितामा र राजनीतिमा नै किन नहोस् त्यो लोभलाग्दो छ ।
उनी नेपालगन्जको सुपरिचित एक्टिभिष्ट हुन् । फोटो पत्रकार विशाल राना भन्छन्, उमा दिदिको एक्टिभिज्मप्रतिको निष्ठाले नै हो यहाँसम्म ल्याईपुराएको ।

काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदको उम्मेदवार उमासंग के छन् त योजना ? भन्छिन्–‘राजनीतिक, सामाजिक र पत्रकारिताका माध्यमबाट मैले नेपालगन्जलाई गहिरो अध्ययन गरेकी छु, यहाँको हरेक सम्भावनाको पहिचान गरेकी छु र समस्यालाई बुझेकी छु ।

उमासंग भिजन छ, त्यो पुरा गर्ने मिसन छ । उमा भन्छिन्, जसले सपना देख्छ, उसैले पुरा गर्छ । म सपना देख्ने मात्रै होइन त्यो सपना पुरा गर्ने उम्मेदवार हुँ । धम्बोझिमा हुर्कि बढेकी उनले भनिन्, नेपालगन्जको गल्ली गल्लीको समस्या, पिडा, अभाव र दवाव सबैबाट परिचित छु । त्यहि अभाव दबाब र प्रभावलाइ चिर्न र नेपालगन्जको समृद्धीका लागि मेरो उम्मेदवारी हो ।

परिणाम के होला, भन्न सकिने अवस्था छैन । तर उमाको उम्मेदवारी समग्र युवाहरुको लागि अनुकरणिय विषय
हो । उनको उम्मेदवारीले धेरै उमाहरुलाई जन्माउने निश्चित छ ।
सद्भावको शहर नेपालगन्जलाई सम्वृद्ध बनाउने उनको जज्बालाई गुड लक भन्दै हामी विदा भयौं ।

ADVT

प्रतिक्रिया

प्रतिक्रिया