नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम संयोजक झलक गैरेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका महासंघका सदस्यहरुलाई आफ्नो गन्तव्य सुनिश्चित गर्न सुझाव दिएका छन्. ।
महासंघ बाँके शाखाले बाँकेमा उम्मेदवार बनेका आफ्ना सदस्यहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक गैरेले राजनीति र पत्रकारिता सँगै अगाडी बढाउँदा स्वार्थ बाझिन सक्ने भएकाले नैतिकताको संकट उब्जिएको बताए । राजनीति र पत्रकार दुई वटा छुटाछुटै लिक हो, उनले भने, फरक लिकमा एकैपटक हिड्दा सन्तुलन विग्रन सक्छ । र, त्यसले दुर्घटना निम्त्याउन सक्छ ।
राजनीतिक यात्रा तय गर्ने निश्चित गरिसकेपछि महासंघको सदस्यता त्याग्नु नै नैतिकता भएको तर्फ संकेत गर्दै संयोजक गैरेले भने, राजनीतिमै लाग्ने हो भने ढुक्क भएर मात्र कदम राख्नुस् ।
राजनीतिमा लाग्दैमा, महासंघको सदस्यता त्याग्दैमा कमल चलाउनु नै हुँदैन वा पाइदैन भन्ने होइन, संयोजक गैरेले भने, दुवै क्षेत्रका अनुभवले झनै कलम तिखारिर्छ, लेख्नका लागि कसैले रोक लगाउन सक्दैन ।
उम्मेदवारहरुलाई शुभकामना दिंदै क्षेत्रीय संयोजक गैरले भने, सदस्यता त्याग्दा तपाईको फोकस झन् गन्तव्य तिर एकिकृत हुनसक्छ । डुडुवा गाउँपालिकामा प्रमुख पदका उम्मेदवार बनेका पत्रकार सकिल खानले महासंघको सदस्यता त्याग्ने निर्णयको कदर गर्दै उनको नैतिकताले सबै पत्रकारलाई गौरवबोध गराएको धारणा राखे ।
पत्रकारिता मार्फत समस्याको पहिचान र उजागर गर्ने दायित्व निर्वाह भैरहेको धारणा राख्दै महासंघका केन्द्रीय सदस्य गैरेले भने, अब तपाईहरु राजनीति मार्फत जनप्रतिनिधि भएर ति पहिचान गरिएका समस्या समाधान गर्न सफल हुनुस् । जनप्रतिनिधि भएर राष्ट्रसेवामा योगदान पुर्याउने पत्रकार सदस्यहरुलाई महासंघ कारवाही गर्न चाहँदैन, सदस्यता खारेजी तर्फ संकेत गर्दै उनले भने, राम्रो हुन्छ, तपाई आफै सदस्यता त्यागेर राजनीतिमा सक्रिय हुनुस् ।
शाखा अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उम्मेदवार उमा थापाले महासंघको सम्मानले थप हौसला प्रदान गरेको बताइन् । उनले पत्रकारिता क्षेत्रका समस्या आफुले बेहोरेको बताउँदै विजयी भएमा यस क्षेत्रको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उम्मेदवार थापाले आफ्ना कमी कमजोरी भए औंल्याउन आग्रह गर्दै आफु पत्रकार पनि भएकाले आफ्नो क्षेत्रको उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्न आग्रह गरिन् ।
नेपागन्ज–१० बाट सदस्य पदका उम्मेदवार अछरी पोखरेलले आफ्नो ठाउँको समस्या समाधान गर्न आफै अग्रसर हुनुपर्ने भएकाले उम्मेदवारी दिएको बताइन् । उनले भनिन्, आफैले देखेको भोगेका विकासका समस्या समाधान गर्न आफै लाग्ने निर्णय गर्दै उम्मेदवारी दिएको बताइन् ।
पत्रकारिताबाट सेवा गर्दै आएको उल्लेख गर्दै पोखरेलले अब गाउँ र टोल विकासमा पनि लाग्ने बताइन् ।
मेरो उम्मेदवारी आफ्नो टोलको विकासका लागि हो, उनले भनिन्, पत्रकारिता मेरो पेशा हो र राजनीति सेवा ।
शाखा सचिव तिलक गाउँलेले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रुपा गहतराजले गरेकी थिइन् ।
उम्मेदवार पत्रकारलाई क्षेत्रीय संयोजक गैरे, वरिष्ठ पत्रकार शिव डोटेल, वरिष्ठ पत्रकार पूर्णलाल चुके, प्रेस चौतारीका पूर्व उपाध्यक्ष सुरेन्द्र काफ्ले, पूर्व अध्यक्ष रुद्र सुवेदी, शाखा अध्यक्ष थारु लगायतले दोसल्ला र कदरपत्र पत्रले सम्मान गरेका थिए ।
७ पत्रकार होमिए निर्वाचनमा
पत्रकार महासंघ बाँकेका ७ जना सदस्यहरु स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बनेका छन् ।
उमा थापा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर, सकिल खान डुडुवा गाउँपालिकाको प्रमुख, दिपा आले खजुरा गाउँपालिकाको उपप्रमुख, अछरी पोखरेल नेपालगन्ज १० बाट सदस्य, शिव सुनार कोहलपुर ५ बाट अध्यक्ष, विरेन्द्र प्रकाश पुन नेपालगन्ज २० बाट अध्यक्ष, मेराज सल्मानी नेपालन्ज ४ बाट सदस्य पदको उम्मेदवार बनेका छन् ।
महासंघ शाखा गत असार ३ गते भएको बैठकले उम्मेदवार भएका महासंघका सदस्यहरुलाई नैतिकताको आधारमा राजिनामा दिन आव्हान गरेको थियो । आव्हान लगत्तै सदस्य सकिल खानले राजिनामा दिएपछि अन्य उम्मेदवार बनेका सदस्यले त्यसबारे औपचारिक धारणा दिएका छैनन् ।