भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगले गरेको छ ।
आयोगले आज एक विज्ञप्ति प्रकाशित गरि पुन मतदानको निर्णय गरेको हो ।
मतगणनामा खटिएमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । आयोगले छानबिन समिति गठन गरी समितिले प्रतिवेदन बुझाएपछि पुनः मतदानको निर्णय गरेको हो ।
नेपाली काँग्रेस र माओवादी केन्द्रले पुनः मतदानको माग गर्दै आएका थिए भने नेकपा एमालेले च्यातिएका मतपत्र छाडेर अरु मत गणना गर्न आव्हान गरेको थियो ।
वडा नं. १९ को मतगणना अन्तिममा रहेको र वडा नं. २० को मतगणना बाँकी रहेको अवस्थामा मतपत्र च्यातिएको थियो ।
नेकपा एमालेका देवी ज्ञवाली अग्रता सहित जित तर्फ अघि बढीरहेको बेलामा अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाएको छ ।
पुनः मतदानको निर्णय भए दोस्रो चरणको निर्वाचनमा असर पर्ने चेतावनी एमाले अध्यक्ष केपी ओलीले यसअघि नै दिइसकेका छन् । राजनीतिक विश्लेषकहरु पुनः मतदानको निर्णयले गलत नजिर बसेको भन्दै चिन्ता व्यक्त गरेका
छन् ।
हार्ने निश्चित भएमा जुनसुकै पार्टीले पनि मतपत्र गणनाका क्रममा च्यात्न सक्ने भएकाले दोस्रो चरणको निर्वाचनमा मतपत्रको सुरक्षा चुनौतिपूर्ण हुने उनीहरु बताउँछन् ।