रोजगार खोज्दै मेलामा युवा

पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको रोजगार मेलामा युवाहरुको आकर्षण देखिएको छ । युुवाहरुलाई लक्षित गरि नेपालगन्जमा विहीवार देखि देखि दुई दिने रोजगार मेला आयोजना गरिएको हो ।

रोजगार मेलाको पहिलो दिननै ३ सय बढीले रोजगारीका सम्भावना खोजेका छन् । ‘एक सय जनालाई तत्काल रोजगारको सम्भावना पनि देखिएको छ,’ आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले
भने ।

संघका अनुसार, पहिलो दिन मेलामा बाँकेका १२ उद्योगले आफुलाई आवश्यक कामदारका लागि सूची दर्ता गराएका छन् । ‘ एक सय बढी भ्याकेन्सी प्राप्त भएको छ,’ संघका कार्यक्रम अधिकृत कुशल गुप्ताले दैनिक नेपालगन्ज सँग भने, ‘४ जनाले त अन द स्पट रोजगारीका लागि नियुक्तिपत्र लिएका छन् ।’

नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघसंगको सहकार्यमा दुई दिने रोजगार मेलाको आयोजना गरेको हो । आइएलओ र रोजगार सुचना केन्द्र समेतको सहयोगमा गरिएको मेलाको बाँकेका प्रमुख
जिल्ला अधिकारी रविलाल पन्थले उद्घाटन गरेका थिए ।

‘रोजगार मेलामा जाऔं बेरोजगारी घटाऔं, आफुलाई आत्मनिर्भर र राष्टूलाई समृृृद्ध बनाऔं’ भन्ने मुल नाराका साथ रोजगार मेला आयोजना गरिएको हो । दैनिक सयौं नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य छन्,’ अध्यक्ष बैश्यले भने, ‘हाम्रा उद्योगधन्दा कामदार नपाएर समस्यामा छन् ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले जिल्लामा भएका उद्योग, कलकारखानाका सञ्चालक र रोजगारी आवश्यक भएकाह बीच परिचयात्मक सम्बन्ध स्थापित गर्न खोजिएको बताए ।

‘रोजगारदाता र कामदार बीचको सम्बन्ध स्थापित गर्न खोजिएको हो,’ श्रेष्ठले त्यसले दुबैलाई सहयोग पुग्ने आशा व्यक्त गर्दै भने । महासंघका केन्द्रीय सदस्य श्रेष्ठले रोजगारदाता र रोजगारीका इच्छुक व्यक्तिहरुलाई एउटै स्थानमा भेला गराई रोजगारी अवश्यकता परिपूर्ति गर्न खोजिएको बताए ।

भेरी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाह, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राई, श्रम कार्यालय बाँकेका प्रमुख मनोज यादव , सिप विकास तालिम केन्द्र बांकेका, कार्यालय प्रमुख जेन्टील गौतम लगायतले मेलाको सराहना गरे ।

संघका अध्यक्ष बैश्यको अध्यक्षतामा भएको उद्घाटनमा वरिष्ठ सदस्य बसन्त लामिछानेले सहजीकरण र कार्यसमिति सदस्य रोमनाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै मेलाको औचित्य प्रकाश पारेका थिए ।
आयोजकले रोजगार नपाएर बसेका युवाहरुका लागि रोजगार मेला महत्वपूर्ण अवसर बताउदै रोजगारदाताहरुलाई भेटेर आफ्नो सिप अनुसारको कामका लागि आवश्यक परामर्श लिन सकिने जनाएको छ । मेला आज शुक्रवार दिनभर चल्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया