घूस दिएर पनि मुख खोल्दैनन् सेवाग्राही

बाँकेमा केही समय अघि सम्म अख्तियारको त्रास सेवाप्रदायक कार्यालयहरुमा ब्याप्त थियो । साता पिच्छेनै कुनै न कुनै कर्मचारीहरु घूस सहित पक्राउ पर्ने सिलसिला पनि जारी थियो, । तर, अचेल के भइरहेको छ त ? सेवाग्राहीले घूस दिएपनि अख्तियार कर्मचारीलाई जानकारी नदिने गरेको तथ्य बाहिर आएको छ ।

 

केहि महिना अघिसम्म स्टिंग अप्रेशन गर्दै धमाधम घूस सहित कर्मचारी पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले चर्चामा आउन छाडेको छ । सेवाग्राही पनि आफ्नो आवश्यकता र सुविधा अनुसार घूस दिएर काम गराउँछन्, कसैलाई भन्नुको तुक नरहेको उनीहरुको ठम्याइ छ । तर, अख्तियारका अधिकारीहरु भन्छन्, ‘सेवाग्राहीले इमानदारिता देखाउन छाडेकोले काम गर्न कठिनाई भएको हो ।’ विहीवार एउटा सरकारी कार्यालयमा स्टिंग अप्रेशनको तयारीमा रहेका अख्तियारका एक अधिकारीले दैनिक नेपालगन्ज संग भने, ‘अख्तियार सुस्ताएको होइन, सेवाग्राहीले असहयोग गरेका हुन् ।’

 

‘हामी दिनहुँ ड्युटीमा भएपनि काम सफल हुँदैन, हाम्रै आँखा अगाडी घूस दिएको घटना हुन्छ,’ ती अधिकारीले भने, ‘तर सेवाग्राहीले गुनासो र उजुरी गर्न मान्दैनन् ।’ बाँकेमा नापी कार्यालय, मालपोत, जिल्ला प्रशासन, जिल्ला वन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, कोसेबाली विकास कार्यालय लगायतमा अख्तियारले छापा हानेर घूस सहित कर्मचारीहरुलाई पक्राउ गरेको छ ।

 

त्यस बाहेक भेरी अंचल अस्पताल, पप्पु कन्सट्रक्सन लगायतको कार्यालयबाट फाइल बुझेको अख्तियारले सन्तोषजनक कारवाही नगरेपछि सेवाग्राही विस्तारै सूचना दिनबाट पन्छिन् थालेका
हुन् । ‘मैले सूचना दिएर कारवाही गर्न लगाएँ पछि खासै केही भएन मुद्दा नै कमजोर पार्ने काम अख्तियारबाट भयो,’ एक सेवाग्राहीले दैनिक नेपालगन्ज संग भने, ‘अख्तियारको विश्वसनीयता कायम नभएकोले उजुरी र जानकारी दिन छाडिएको हो ।’

 

नेपालगन्जका सेवाप्रदायक सरकारी निकायमा घूस दिएर काम लिनु सामान्य भइसकेको छ । नकसैले गुनासो गर्छ न कुनै निकायले कारवाही नै । ‘अख्तियार माथि भरोसा रहेन,’ नेपालगन्ज वडा नं.११ बस्ने नफीस अहमद खाँले भने, ‘कारवाहीको नाममा मुद्दा मिलाउने प्रमाण मेटाउने र सेवाग्राहीलाई अनावश्यक फँसाउने काम गरेकोले घूस दिनु नै उत्तम देखा परेको हो ।’
बाँकेमा कोहलपुर नगरपालिका देखि नेपालगन्ज नापी कार्यालय सम्म स्टिंग अप्रेशन गरेर अख्तियारले सरकारी कर्मचारीलाई घूस सहित पक्राउ गरेको विषय अचेल सेलाउन थालेका छ । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखा अधिकृत मेघनाथ सापकोटाले अख्तियारले उत्तिकै गतिमा काम गरिहेको दावी गरेका छन् ।
‘पहिलो कुरो त इमानदारिता नै हो,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै शाखा अधिकृत सापकोटाले भने, ‘हामी निरन्तर काम गरिरहेका छौं, तर स्टिंग अप्रेशनको चर्चा बढि हुने भएकोले त्यस्तो काम अहिले सफल हुन सकेको
छैन ।’ ‘अख्तियार सुतेको होइन र सुत्ने कार्यालय पनि होइन’, दैनिक नेपालगन्जको प्रश्नमा सापकोटाले भने, ‘मुद्दा र उजुरी आउने सिलसिला थामिनसक्नु छ ।’ ‘अप्रेशनको तत्कालै चर्चा हुने भएकोले त्यो नहुँदा अलि फितलो लाग्नु स्वाभाविक हो,’ उनले भने, ‘हामी मुद्दामा अनुसन्धान र कारवाही गर्ने काम निरन्तर अघि बढाएकै छौं ।’

 

‘फिल्डमा अप्रेशन चलाउने कर्मचारी लागिरहेका छन्,’ अबेर राति कुरा गर्दै सापकोटाले भने, ‘सफलता हात नलाग्नुलाई अस्वभाविक मान्न मिल्दैन ।’ ‘प्रयास गरेपछि कुनै न कुनै दिन सफलता प्राप्त हुन्छ नै’, उनले भने । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौमा प्रमुख नहुँदा पनि खासै फरक पर्दैैन,’ सापकोटाले प्रष्ट पारे, ‘कार्यवाहक आयुक्त दिप वस्नेत उत्तिकै जोस जाँगरका साथ काममा खटिएका छन् ।’

 

सरकारले प्रमुख आयुक्त सिफारिस गरिरहेकोले छिट्टै समस्या समाधान हुने पनि सापकोटाले संकेत दिए । देशमा जारी स्थानीय तह निर्वाचनका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुने क्रममा ह्रास आएको छ । शाखा अधिकृत सापकोटाले भने, ‘तरपनि हामी आफ्नो स्तरबाट अत्यधिक प्रयासमा लागेका छौं ।’

 

विहिवार नेपालगन्ज क्षेत्रका केही कार्यालयमा आन्तरिक अनुसन्धान भएको समेत सापकोटाले जानकारी दिए । ‘अप्रेशन सफल हुन सकेन,’ उनले भने, ‘हामी र हाम्रा कर्मचारी लागेका छन्, चाँडै केहि राम्रो खबर सुन्न पाइन्छ ।’ पहाडी जिल्लामा घूस सहित पक्राउ गर्ने काम सुर्खेतको टोलीले गर्दै आएको बताउँदै सापकोटाले जनतालाई सहयोगको अव्हान पनि गरे ।

प्रतिक्रिया

प्रतिक्रिया