प्रहरी संग अनुसन्धानका लागि प्रभावकारी प्रविधि नभएको गुनासो बाहिर आइरहेका बेला बाँके प्रहरीले जिल्लामा आवागमन गर्ने हरेक ब्यक्तिलाई निगरानी गर्दै आएको खुलासा भएको छ ।
बाँकेमा अपराध विरुद्ध विभिन्न क्रियाकलाप भइरहेको र सो विरुद्ध अप्रेशनहरु चलिरहँदा बाँकेको सुरक्षा स्थिति फितलो भएको गुनासो पनि आएको छ । खासगरि चोरी, लूटपाट, हत्या, चन्दा आतंक लगायतका विषयमा गुनासो आइरहेको अवस्थामा प्रहरीले बाँकेमा हरेक ब्यक्ति माथि निगरानीको संयन्त्र तयार रहेको र काम गरिरहेको खुलासा गरेको हो ।
नेपालगन्ज नाका सहित बाँकेको विभिन्न ग्रामीण नाका हुँदै भारतबाट नेपाल आउने र नेपालबाट भारत जानेहरुको यकिन संख्या सहित प्रहरीले अनुसन्धान रिपोर्ट पनि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको एउटा ‘रिसर्च रिपोर्ट’ अनुसार, अनुपातमा दैनिक ३० हजार ४ सय ४० ब्यक्ति नेपाल भारत सिमाबाट आवागमन गर्ने गरेका छन् ।
‘आवागमन निगरानी र संख्या गणना गोप्य तरिकाले गरिन्छ,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले भने, ‘आवागमन गर्ने ब्यक्तिलाई थाहा नहुने किसिमले संख्यात्मक रुपमा प्रहरीले अभिलेख राख्छ ।’ एकै ब्यक्ति दिनमा कति पटक र के प्रायोजनका लागि गएको छ भन्ने किसिमको पनि विवरणहरु राखिन्छ । एसपी राईले त्यस बाहेक सिसि क्यामरा मार्फत भारत जाने महिला पुरुषको विवरण समय गोप्य रुपमा राखिने गरिएको जानकारी दिए ।
सिमा क्षेत्रमा मानवबेचविखन, लागुऔषध जस्ता अपराधहरु हुन सक्ने संभावना बढि हुने गरेकोले प्रविधिको सहाराबाट चिन्हित ब्यक्तिहरु बारे पनि सूचना संकलन गरिन थालेको एसपी राईले बताए । उनले घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गर्न सजिलो हुने हिसाबले प्रहरीले काम गर्दै आएको जानकारी दिए ।
‘सुरक्षा कुनैपनि स्थानमा सय प्रतिशत हुँदैन,’ प्रहरी प्रमुख राईले भने, ‘यद्यपि प्रहरीले सय प्रतिशत दायरामा काम गरिरहेको हुन्छ । कुनैपनि ब्यक्ति प्रहरी दायरा भन्दा बाहिर हुन सक्दैन, उनले भने, समाजमा जनसंख्याका हिसाबले अपराध पनि बढ्छ, अपराध नियन्त्रण हुन सक्छ तर उन्मूलन हुन सक्दैन ।’
प्रहरी अभिलेख अनुसार, महिनामा ९ लाख १३ हजार २ सय सहित वर्षमा १ करोड ९ लाख ५८ हजार ४ सय बढि ब्यक्तिहरुको नेपाल भारत आवागमन हुने गरेको छ । रुपैडिहा नेपालगन्ज नाका हुँदै दैनिक रुपमा साइकल २ हजार ४ सय २०, रिक्सा(अटो) २ हजार ७ सय ८०, मोटरसाइकल २ हजार ५ सय २०, कार १ सय २०, ठूलो माल बाहक सवारी साधन १ सय ८० वटा आवागमन गर्ने गरेको प्रहरी तथ्याँक छ ।
नेपाल भारत आवागमनमा चेकजाँच, निगरानी र अभिलेख सम्बन्धी कार्यका लागि नेपाल र सशस्त्र प्रहरीका ५४ जना प्रहरी अधिकारीहरु प्रत्यक्ष रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । त्यस बाहेक भन्सार कर्मचारी, ट्राफिक प्रहरी, अनुसन्धान अधिकारी समेत सिमाक्षेत्रमा निगरानी राख्ने गर्छन् ।
ग्रामीण नाकाहरुका लागि त्यस क्षेत्रमा रहेका प्रहरी युनिटहरु बाट सुरक्षा पुख्ता बनाउने प्रयास भएको छ । बाँकेमा कुनैपनि क्षेत्रमा १० मिनेटमै प्रहरी पुग्न सक्ने किसिमको टिम तयार भएको एसपी राइले बताए । ‘समयमा सूचना प्राप्त भएको खण्डमा सुरक्षा चुक हुनै सक्दैन’, एसपी राइले भने, ‘हामी शान्ति सुरक्षाकै निम्ति खटिएका छौं । ’
सिसी क्यामेरा जडानको तयारी
नेपालगन्ज क्षेत्रमा बढि भिड हुने स्थान र चोकहरुमा प्रहरीले सिसि क्यामेरा मार्फत निगरानी राख्ने तयारी गरेको छ ।
यसअघि पुष्पलाल चोक, बागेश्वरी मन्दिर, जमुनाहा नाका, धम्बोझी लगायत स्थानमा क्यामेरा जडान भएका छन् । बाँकेमा नागरिकहरुलाई चुस्त सुरक्षा दिनका लागि प्रविधिको सहारा लिनु पर्ने देखिन्छ, बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले भने, ‘क्यामेरा सहितको प्राविधिक ब्यवस्थाका लागि नेपालगन्ज उद्योग वाणिज्य संगलाई आग्रह गरिएको छ ।’
प्रहरीको तयारी अनुसार कोहलपुर चोक, त्रिभुवन चोक, सेतु बिक चोक र नेपालगन्ज बसपार्कमा सिसि क्यामरा जडान गर्ने योजना अघि सरेको हो ।