मतदानको संकेत

मतदानको संकेत २०५४ साल पछि पहिलो पटक जनताले स्थानीय निर्वाचनमा भाग लिए ।

प्राप्त समाचार अनुसार, केहि मतदान केन्द्रहरुमा भएका छिटफुट घटना बाहेक सम्पुर्ण रुपमा निर्वाचन शान्तिपुर्ण रुपले सम्पन्न भएको छ । जनताहरु नागरिक बन्ने यो महान अभियानको सुत्रधार हो आजको मतदान प्रक्रिया र यसमा देखिएको सहभागी जनताहरूको उत्साह ।

एक, यो मतदानमा भएको मतदाताहरुको उत्साहपुर्ण सहभागिता रहयो । दुइ, नागरिकहरु अत्यन्त शिष्टतापुर्वक मतदानमा सामेल भए । भद्रता देखाए । सन्देह कत्ती पनि छैन कि, यो निर्वाचन अत्यन्त तरल राजनीतिक माहौलका बीचमा हुन गइरहेको थियो ।

उम्मेदवार मनोनयनको दिनसम्म पनि निर्वाचन हुने र नहुने आशंका र अड्कलहरु बजारमा छयाप्छयाप्ती थिए । तर हामीले हेक्का राख्नुपर्ने कुरा के हो भने यो निर्वाचन खासै कुनै गम्भीर राजनीतिक समस्या रहेका ठाउँहरुमा भइरहेको थिएन । आजको मतदानले बाँकि रहेका स्थानीय तहमा निर्वाचन सुनिश्चितताको लागि पक्कै पनि राजनीतिक पार्टीहरुलाइ जिम्मेवार बनाएको छ । किनकि नागरिकहरुमा आफ्नो आँगनको सरकार बनाउन तीव्र चासो र आकांक्षाको प्रतिविम्वित आजको निर्वाचनको उत्साहपुर्ण सहभागिता हो ।

राजनीतिशास्त्री प्राध्यापक डाक्टर जनार्दन आचार्यको विश्लेषणमा निर्वाचन राजनीतिक समस्याको ‘सोलुसन’ हो । यदि समाधान हो भने दोश्रो चरणको निर्वाचन अगावै मधेश केन्द्रित दलहरुको आक्रोशलाइ ठोस समाधानतिर लिएर जानु आवश्यक छ ।

मतदानमा भाग लिएका मतदाताको मुडलाइ हेर्ने हो भने लोकतन्त्र आत्मसाथ हुदै गइरहेको देखिन्छ । पद्धती बन्दै गइरहेको छ । झडपका घटनाहरु अत्यन्तै न्यून हुनु यसको पुष्ट्याइ हो । कस्का अजेन्डा पारित भए । वा कुन पार्टीले स्थानीय सरकारमा जीत हासिल गर्यो ? यो मत परिणाम पछिको विश्लेषण हुन सक्ला ? तर एउटा कुरा के प्रष्ठ छ भने जनताको मतको सम्मान नगरी राजनीतिक पार्टीहरुको गुन्जायस नै छैन ।

परिणाम जे सुकै आओस्, जीत लोकतन्त्रको भएको छ । संविधानको भएको छ । र तरल राजनीति अब ठोस हुदै जाने प्रक्रियाको ठोस शुरुवात भएको छ । अबको अवश्यकता भनेको नागरिक कर्तव्य शुशासनका लागि निरन्तर सचेत र विवेकि नागरिक खबरदारी हो ।

प्रतिक्रिया

प्रतिक्रिया