ब्राउनसुगर विरुद्ध गनापुरमा अभियान

विहान गाउँमा चिया खाने बेला भएको थियो । शुक्रवार गनापुरको कोठारपुर गाउँ भित्र रहेको चोकमा गाउँलेहरु जुवा जिते हारेकाहरु बारे गफ गरिरहेका थिए । कोही ब्रस गर्दै उभिएका थिए, कोही कुचो र त्यहाँ एक प्रकारको पक्ष विपक्षको बहस थियो ।

देशमा चुनावी महोल भएका बेला गाउँलेहरुको ध्यान स्थानीय निर्वाचनले तान्न सकेको छैन । विहिवार कसले कति जितेको र कति हारेको विषयमा गफ भइरहेकै बेला बाँकेका प्रहरी प्रवक्ता डीएसपी सरोज पौडेल प्रहरी दस्ता सहित चोकमा पुगे ।

डीएसपी पौडेल स्थानीय विद्यालयमा जानु पर्ने कार्यक्रम स्थानीय विद्यालयमा आयोजित थियो । तर, कार्यक्रम बारे बेखबर रहेका स्थानीयहरुले प्रहरीको प्रवेशलाई आपत्तीजनक स्थितिबाट हेर्ने थाले ।

कारण थियो, गाउँमा जुवाडे ब्राउनसुगर सेवनकर्ताको संख्यामा कमि छैन । स्थानीयहरुको गफ विचमै रोकियो र कता तिरबाट निस्कने भन्ने विचार बनाउँदै गर्दा पछाडीबाट पुगेको स्थानीय प्रहरी चौकी गनापुरको टोलीले सबै गाउँलेहरुलाई विद्यालयमा आमन्त्रण गर्यो ।

उनीहरुलाई गाउँमा भइरहेको ब्राउनसुगरको कुलत बारे केहि जानकारी दिन विशेज्ञहरु आएको सूचना दिइएपछि कार्यक्रममा सेवनकर्ता र तस्करहरु अप्रत्यक्ष रुपमा सहभागी भए ।

स्थानीय बेचु यादव भन्छन्, ृ‘गाउँमा सजिलै प्रहरी आउँदैन ।’ स्थानीय प्रहरी चौकी टाढा रहेकोले गाउँमा खुलेआम जुवा र ब्राउनसुगरको कारोबार चलेको छ । गाउँमा युवाहरु दिनभरि जुवा खेल्ने र जितेको रकमबाट रुपइडिहा पुगेर ब्राउन सुगर ल्याएर दाङ्ग र सुर्खेत जिल्लामा बेच्ने गरेको तथ्य बाहिर आएको हो ।

बाँके गनापुर क्षेत्र ब्राउनसुगरको अर्को हब भएको बारे तथ्यहरु १५ दिन अघि दैनिक नेपालगन्जले समाचार बाहिर ल्याएपछि प्रहरीले सो ठाउँ बारे विभिन्न पक्षबाट अनुसन्धान सुरु गरेको थियो ।

शुक्रवार सामुदायिक प्रहरी, सामुदायिक सेवाकेन्द्र र सहारा हाउसले गनापुरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले गनापुर क्षेत्रमा ब्राउनसुगर कारोबार र त्यसबाट भइरहेको प्रभाव बारे खुलेर कुरा गरेका थिए ।

लागुऔषध विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था सहारा हाउसका प्रमुख अविराज क्षेत्रीले आफुले लागुऔषधको कुलतमा फसेर चोरी सम्म गर्नु परेको तथ्य खुलासा गरे । ब्राउन सुगर सेवनबाट हुन सक्ने प्रभाव बारे ब्याख्या गर्दै क्षेत्रीले मानसिक रुपमा शुन्यताको स्थितिमा पुर्याउने लागुऔषधबाट समाज जोगिनु पर्ने आग्रह गरे ।

गनापुर माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बाँकेका प्रहरी प्रवक्ता डीएसपी सरोज पौडेलले केटाकेटीले अप्रत्यासित रुपमा बानी ब्यहोरामा परिवर्तन गरेको महसुस भएमा निगरानी भित्र राख्नु पर्ने सुझाव दिएका छन् । एक्लै गएर पढ्ने, आफ्नो समस्या खुलासा नगर्ने, झर्केर बोल्ने, एकान्तमा बढि मन पर्ने, सँधै तनावमाझैं देखा पर्ने स्थिति आएमा केहि गलत भइरहेको छ भन्ने अभिभावकले अनुमान गर्न सक्नु पर्ने डीएसपी पौडेलले सुझाव
दिए ।

प्रहरी प्रवक्ता पौडेलले बाँकेको सिमाना खुल्ला भएका कारण भारतीय क्षेत्रबाट नेपालगन्ज र आसपास क्षेत्रमा ब्राउन सुगर ब्यापक मात्रामा फैलिँदै गएको बताए । कार्यक्रममा सहभागी नेपाल शिवसेना पार्टीका केन्द्रीय उपाध्यक्ष किशोर थापाले कुलतमा फसेपछि निस्कन निकै कठिने हुने भएकोले सो प्रति सचेत रहन स्थानीयहरुलाई सतर्क गराए । कार्यक्रममा गाउँपालिका सचिव, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रहरी ईकाईका प्रतिनिधीहरु, विद्यार्थी, स्थानीय अभिभावक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया