हुलाकी सडक : २५ लाख असूलीको प्रयास

विनय दीक्षित

बाँके प्रहरीले जिल्लामा चुस्त सुरक्षा ब्यवस्था भएको दावी गरिरहँदा राप्तीपारि हुलाकी सडक निर्माण गरिरहेको ठेकेदार संग नेपालगन्जबाट गएको युवाहरुको एउटा समूहले २५ लाख रुपैया“ हप्ता रकम माग गरेको खुलेको छ ।

हुलाकी राजमार्ग निर्माणका लागि माटो फिलिंग पछि गिट्टी फिल गर्ने काम भइरहेका बेला नेपालगन्जबाट युवाहरुको एक हुल फत्तेपुर स्थिति गिट्टी निकासी गर्ने स्थानमै पुगेर डोजर हेक्साभेटरमा तोडफोड गरी ६ लाख बराबरको क्षति गरेको निर्माण कम्पनी गणपति गु्रप अफ कन्स्ट्रक्सन प्रालिका इन्जिनियर इन्द्र केसीले जानकारी दिए ।

बुधवार साँझ ५ः३० बजेको समयमा युवाहरु आक्रमण गरेको कर्मचारी मार्फत खबर आएको थियो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्जिनियर केसीले भने, ‘युवाहरुले प्रति ट्रिप फिक्स गर्नु पर्यो वा २५ लाख एकमुष्ट दिए मात्र काम गर्न दिने धम्की दिएका हुन् ।’

‘करिब ४० जनाको समूह थियो’, केसीले भने, ‘मेसिनको साँचो उनीहरु नै लगेका छन् ।’ आक्रमण पछि काम अवरुद्ध भएको छ । उनले घटनापछि आफु पुग्दै गर्दा केहि ब्यक्तिहरुलाई चिन्न सफल भएको बताए । नेपालगन्ज बस्ने विक्रान्त श्रीवास्तव, आकाश सेर्पा, थर थाहा नभएका अशोक र घमण्ड बुढा रहेको इन्जिनियर केसीले बताए ।

राप्तीपारिको सडक निर्माणमा यसअघि जिल्ला वन कार्यालयले गिट्टी निकासीमा अवरोध गरेको थियो । ‘आइतवार छलफल पछि कुरा मिलेका कारण बुधवारबाट काम सुरु भएको हो’, उनले भने, ‘गुण्डाहरुका कारण काम गर्न सक्ने अवस्था नै छैन ।’
‘गुण्डाहरुको धम्की र त्रासका कारण काम बन्द भएको छ’, केसीले भने, ‘यसरी हप्ता दिएर सडक निर्माण कसरी सम्भव छ ।’ ‘डोजर इस्क्याभेटरको साँचो तिनीहरु नै लगेका छन्’, उनले भने, ‘पटक पटक निर्माण प्रभावित बन्दै गएकोले समयमा काम पूरा हुने संकेत देखा नपरेको हो ।’
‘अषाढ अघि नै राप्तीपारि माटो फिलिंग भएको स्थानमा गिट्टी हाल्न नसके हिलोका कारण आवतजावत प्रभावित हुने स्थिति छ’, केसीले भने, ‘तोडफोडबाट एउटा जेसीभीको पम्पमा खराबी आएको छ ।’
बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले आफुलाई चारवटा नाम आएको खुलाए । उनले बाँकेमा गुण्डागर्दी गर्नेहरुलाई हामी कडा कारवाही गर्ने चेतावनी दिए । ‘समयमा निर्माण कम्पनीले जानकारी नदिएको युवाहरुलाई तत्कालै पक्राउ गर्न नसकिएको हो’, उनले भने, ‘हामी फिल्डमै छौं, चाँडै उनीहरु फन्दामा आउँछन् ।’
‘निर्माण कम्पनीको तर्फबाट कुनै आएको छैन’, एसपी राईले भने, ‘तरपनि प्राप्त भएको सूचनाको आधारमा हामी कारवाही अघि बढाएका छौं ।’ ‘बाँकेमा सुरक्षा ब्यवस्था खल्बल्याउने किसिमको कुनै काम गर्न छुट छैन’, उनले भने, ‘हामी गुणगिरी हेर्नैै सक्दैनौं ।’
‘घटनामा संलग्नहरु जमिन मुनी गएपनि हामी झिक्छौं’, राईले भने, ‘ढुक्क हुनुस् बाँकेमा कुनै किसिमले सुरक्षा चुक हुने अवस्था छैन ।’ निर्माण कम्पनीले नेपालगन्ज देखि सुईया सम्म ४४.६ किलोमिटर सडक निर्माण कार्य सुरुवात गरेको हो ।
अबेर राति दैनिक नेपालगन्जको सम्पर्कमा आएका आरोपित विक्रान्त श्रीवास्तवले सडक निर्माणमा अनियमिता भइरहेकोले कारवाही गरिएको बताएका छन् । उनले सांकेतिक रुपमा युवाहरु गएको विषयलाई अनावश्यक बबाल मच्चाउन खोजिएको दावी गरे ।

मध्यरातमा ‘गुण्डा अप्रेशन’

हुलाकी राजमार्गका ठेकेदार संग युवाहरुको समूहले चन्दा असूली गर्ने उद्देश्यले दबाव बनाएको र तोडफोड गरेको विषयमा बाँके प्रहरीले बुधवार मध्यराज सम्म विनौना, बैजापुर फत्तेपुर क्षेत्रमा अप्रेशन चलाएको छ ।

ठेकेदारबाट चन्दा असूल गर्ने हिसाबले केहि युवाहरुले डोजर लगायत सामाग्रीमा बुधवार साँझ तोडफोड गरेको बारे बाँके प्रहरीले ६ वटा मोटरसाइकल र एउटा गाडी सहितको ४० बढि प्रहरी टोली सो क्षेत्रमा खटाएको छ ।

प्रहरी निरीक्षक विर बहादुर थापाको कमाण्डमा गएको टोलीले घर भित्र समेत खोज तलाश गरेको छ । राति १२ः२५ बजे फोन सम्पर्कमा बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले भने, ‘हाम्रो टोली फिल्डमा खटिएको छ र सबै गुण्डाहरुको पहिचान भइसकेको छ ।’

‘देशमा शान्ति ब्यवस्था कायम भइरहेको समयमा चन्दा असूली गर्दै हिंड्नेहरुको विषयमा सामान्य हुन सकिँदैन’, उनले भने, ‘सबै गुणहरुको पहिचान भइसकेकोले आत्म समर्पण गर्न सके राम्रो हुन्छ ।’ ‘आफै हाजिर हुन
आएनन् भने हामी हर सम्भव बल प्रयोग गर्छौं’, उनले भने, ‘कोही पनि कानूनको दायरा भन्दा माथि हुन पाउँदैन ।’

अप्रेशनमा खटिएका प्रहरी निरीक्षक विर बहादुर थापाले कानून विपरीत काम गर्ने जो कोही भएपनि बच्न नसक्ने बताए । करिब एक बजेको समयमा विनौना क्षेत्रमा रहेका थापाले आवश्यक स्थानमा अप्रेशन जारी रहेको जानकारी दिए ।

‘विहान सम्म अधिकाँश अभियुक्ताहरु फन्दा भित्र हुनेछन्’, उनले भने, प्रहरीले बैजापुर देखि फत्तेपुर सम्मको क्षेत्रलाई सिल गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया