पत्रकारिताका चुनौती

राष्ट्रिय पत्रकारिता दिवस

आज ‘राष्ट्रिय पत्रकारिता दिवस’ । गोरखापत्र संस्थानको वार्षिकोत्सव पनि । गोरखापत्रको प्रादुभाव राणा प्रधानमन्त्री देवशम्शेर जबराको सत्प्रयासबाट १९५८ वैशाख २४ गते भएको हो । यो नेपाली भाषामा प्रकाशित पहिलो समाचारपत्र हो । विसं १९५८ देखि निरन्तर प्रकाशित गोरखापत्र अहिले गणतन्त्र नेपालको बहुुुभाषी राष्ट्रिय दैनिकको रूपमा चर्चित छ ।

मुलुककै पहिलो (जेठो) पत्रिका, पत्रकारिताको ऐतिकासिक धरोहर, गोरखापत्रको पहिलो अङ्क प्रकाशन भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाइरहेका छौं । पत्रकारहरुले आज देशभर विविध कार्यक्रमका साथ यो दिवसलाई स्मरण गरिरहेका छन् ।

निरकुश शासनकालमा प्रकाशित गोरखापत्रले आफुलाई सदैव पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभ्याएको इतिहास छ । अहिले गणतान्त्रत्रिक व्यवस्थामा संविधानमै विचार र अभिव्यक्ति स्वतन्त्रताबारे उल्लेख छ, तर अझै पनि ‘तर’भन्ने शब्द लगाएर त्यो स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन मिल्ने आशय उल्लेख छ । त्यसैगरी धारा १९
(१) मा प्रकाशन र प्रशारण सम्बन्धी व्यवस्था गरिएको छ । त्यहाँ पनि कानून बनाएर प्रतिबन्ध लगाउन मिल्ने लामो व्याख्या गरिएको छ । यसले के देखाउँछ भने, राज्यले चाहेको खण्डमा पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतामा धावा बोल्न सक्ने छ ।

राष्ट्रिय पत्रकारिता दिवस मनाईरहदा पत्रकारिताको विकास, चुनौती, स्वतन्त्रतासँगै हाम्रो दायित्व लगायतका विषयमा पनि समिक्षा हुन जरुरी छ । समाजको विकासका लागि पत्रकारको रक्षा तथा स्वतन्त्र सञ्चारको सुनिश्चितता पनि अत्यावश्यक छ । हरेक नागरिकले सूचनाको हक प्रयोग गर्नका लागि समेत यो महत्वपूर्ण हुन्छ ।
मोफसलको पत्रकारिता पत्रकारिता आफैमा चुनौतीपूर्ण पेशा हो । जुनसुकै ठाउँको किन नहोस्, पत्रकारिता गर्दा अनेकन चुनौती आउँछन् । सुविधा सम्पन्न, शहरमुखी पत्रकारिता र मोफसलको पत्रकारितामा पनि केही भिन्नता अवश्य नै छ ।

राजधानीको तुलनामा मोफसलको पत्रकारिता कमजोर छ । तथापी मोफसलको समग्र विकासका लागि मोफसलको पत्रकारिताको विकास पनि आवश्यक छ । मोफसलका समाचार मोफसलकै सञ्चार माध्यमका लागि चासो र प्राथमिकताका विषय पनि हुन् । तथापी तिनको उठान र सम्वोधनका लागि भने अनेकन जोखिम छन् ।

पत्रकारिता सुदृढ र व्यवसायिक नहुँदा मोफसलका विकास लगायतका महत्वपूर्ण सवाल र मुद्धा पनि कमजोर बन्न जान्छन् । समाचारलाई रोचक, आकर्षक, पठनीय, दर्शनीय र श्रवणीय रूपमा सम्प्रेषण गर्नु पत्रकारको प्रमुख काम र दायित्व पनि हो । तर मोफसलका अधिकांस पत्रकारलाई यही दायित्व भार भइरहेको छ । हरेक जिल्ला, शहर, वजारमा सञ्चार माध्यम छन् तर तिनको गुणस्तरियता र प्रभावकारिताप्रति भने प्रश्न उव्जीरहन्छ । तीनले पस्कीने विषयवस्तु र सामाग्रीमा वजन र नविनता छैन भन्ने सुनिन्छ । आवाजविहीनको आवाज भनिने सञ्चारमाध्यममा हुने खानेहरुकै आवाज सुनिन्छ/देखिन्छ ।

पछिल्लो समय नेपालगञ्जमा कोठे र कपी राइट पत्रकारिता फस्टाएको छ । अधिकांंस स्थानीय पत्रिकाका समाचार, लेख अनलाइन बाट साभार गरिएका हुन्छन् । सायद यो रोग अन्यत्र पनि होला । जुन स्वंयं पत्रकार र पत्रकारिताका लागि घातक छ । स्तम्भ लेखनका लागि पारिश्रमिक दिने परिपाटी छैन (अपवाद वाहेक) । पत्रिका, रेडियो जेनतेन चलेका छन् तर तिनको स्थायीत्वको कुनै सुनिश्चितता छैन् । तर पनि नयाँ निस्कीने र खुल्ने क्रम रोकिएको छैन् । मीडिया सञ्चालक (लगानीकर्ता)हरू पनि थरि थरिका छन् ।

पेशा, व्यवसाय र अनुभव अर्कै छ तर पनि हालीमुहाली गर्न खोज्छन्, मिडीयामा । आफुले अन्तबाट कमाउँछन् तर श्रमजीवीहरूलाई न्यून ज्यालामा काम गराउन खोज्छन् । तिनीहरु मोटाउँदै छन्, सञ्चारकर्मी पारिश्रमीक नपाएर दुव्लाउँदैछन् ।

पत्रिका होस् या रेडियो संस्थागत र व्यवसायिक हुन सकीरहेका छैनन् । कतीपय सञ्चारगृह त सिंगो परिवारले नै चलाएका छन् । अधिकांंसमा व्यवस्थापकीय, सम्पाकीय मुल्य/मान्यता र स्वतन्त्रता छैन् । विज्ञापनलाई समाचार, समाचारलाई विज्ञापन बनाईदिने प्रवृति छ । एउटै व्यक्ति सम्वाददाता, सम्पादक, व्यवस्थापक आदि बन्नु पर्ने स्थिती छ । विज्ञापन डिल गर्नेदेखि उठाउने सम्मको काम सम्पादक आफैले गरेको पनि पाइन्छ ।

कतिपय पत्रकार दाहोरो–तेहेरो भूमिकामा पनि छन् । पत्रकारको परिचय दिन रुचाउने त्यो व्यक्ति अर्को ठाउँमा शिक्षक, व्यापारी, राजनीतिकर्मीका रुपमा प्रस्तुत भइरहेको हुुन्छ । प्रहरी, प्रशासन तथा व्यापारीसँग पनि त्यस्ताको अस्वभाविक हिमचीम देखिन्छ । व्यवसायिक भन्दा अन्य सम्वन्ध हावीले पनि पत्रकारिता प्रभावित भएको पाइन्छ । समाज पनि पत्रकार प्रति सशंकित हुने बातावरण बन्दैछ ।

अधिकांसको पत्रकारिता औपचारिकतामा सीमित छ । खोज तथा अनुसन्धानमुलक समाचारतर्फ ध्यान छैन । भनिन्छ, पत्रकारिता एउटाबाट पैसा लिने अर्कोलाई सेवा दिने व्यवसाय हो । पत्रपत्रिका मात्रै बिक्री हुन्छ, रेडियो टेलिभिजन त श्रव्य तथा श्रव्य/दृश्य माध्यम हुन् । अधिकांस मुनाफा विज्ञापनबाट नै लिने हो तर सेवा चाहिँ पाठक, श्रोता र दर्शकलाई दिने हो । स्थानीय रेडियो, पत्रिकालाई न राज्यले विज्ञापन दिन्छ, न स्थानीय उद्योग, कलकारखानाले । ठुला र बहुराष्ट्रिय कम्पनीेले त झन दिने कुरै भएन । राहदानी हराएको सूचना समेत राष्ट्रिय पत्रिकामा छाप्नु पर्ने बाध्यात्मक स्थिती छ ।

राज्यले पत्रकारिताको मापदण्ड त निर्धारण गर्न खोज्छ तर विज्ञापनको खै ? पत्रिकाका लागि लोककल्याणकारी सुविधा (विज्ञापन) हैन, राज्यले विज्ञापन सहजै पाउने वातावरण सिर्जना गरिदिनु पर्छ । विज्ञापनको पनि कुनै दर, मापदण्ड छैन । अस्वस्थ प्रतिष्पर्धा छ । जसले जती ल्याउन (फकाउन) सक्यो, त्यती पायो । अधिकांस पत्रिकाहरु स साना विज्ञापन, शुभकामना र समवेदनाका भरमा छन् ।

विज्ञापनको न्यूनतम दर कायम गरेर स्वस्थ प्रतिष्पर्धाको बातावरण बनाएको पाइदैन । त्यसमा कसैको अग्रसरता पनि देखीदैन । बरु एउटाले छापेको विज्ञापन, कसरी हुन्छ अर्कोले तान्ने प्रयास गरिरहेका हुन्छन् । आफनो ठाउँ, क्षेत्रको पत्रकारिताको दिगो विकासका लागि अरुले गरिदिने होइन । स्थानीय पत्रकार र पत्रकारिताको विकासमा त्यहींंका राजनीतिककर्मी, उद्योगी व्यवसायी, प्रशासनिक निकाय, सामाजिक संघसंस्थाको अग्रसरता आवश्यक छ । राजधानी सरह मोफसलमा पत्रकार र सञ्चारमाध्यमले अवसर पनि पाइरहेका हुँदैनन् । तसर्थ पनि मोफसलका लागि राज्यले केही निश्चित योजना र कार्यक्रम ल्याउनु जरुरी छ ।

अनेकन जोखिम

पत्रकारिताको बढदो विकाससँगै चुनौती पनि थपीदै गएका छन् । एफएम रेडियो, निजी र सामुदायिक टेलिभिजन खुल्ने क्रम रोकिएको छैन । अहिलेसम्म झन्डै ३२ वटा टेलिभिजन च्यानल र चार सयको हाराहारीमा एफएम रेडियो छन् । देशभर आठ हजारको हाराहारीमा पत्रपत्रिका छन् भने अनलाइन मिडीयाको पनि भरमार छ । पत्रकारिताको
दायरा बढेसँगै समस्या र चुनौती पनि बढेका छन् । धेरै जसो चुनौती स्वयं सिर्जीत छन् भने कतीपय राजनीतिक लगायतका कारणले सिर्जीत छन् ।

पत्रकारिताभित्र विषयवस्तुको उठान, त्यसको लेखनी, भाषा र प्रस्तुतीसँग भन्दा सम्वन्ध, आचरण र व्यवहार लगायतका कारणले पनि पत्रकार असुरक्षित भइरहेका छन् । राजनीतिक संलग्नता र पक्षधरताको विसंगतीले पत्रकार र पत्रकारितालाई झनै गम्भीर मोडमा पुर्याएको छ । न्यूयोर्क टाइम्ससँग आवद्ध पत्रकार एएम रोजेन्वले राजनीतिक आस्थाबारे भनेका छन्, पत्रकारहरुले मतदान गर्नु बाहेक अन्य कुनै किसिमको राजनीतिक क्रियाकलापमा लाग्नु
हुँदैन । यो पत्रकार भए वापत हामीले तिर्नु पर्ने मूल्य हो । तर यहाँ अधिकांस पत्रकार दलगत विचारबाट प्रभावित भइरहेका छन् ।

सञ्चार क्षेत्र उद्योगतर्फ उन्मुख हुनु सकरात्मक भएपनि पत्रकारहरु आधारभूत सिद्धान्त, मूल्यमान्यता र ज्ञानशीप विना अघि बढ्न खोज्नु स्वयंले चुनौतीहरु व्यताउँनु हो । अहिले पत्रीका, रेडियो स्थापना गर्नेहरु उद्योगी, व्यापारी, राजनीतीकर्मीहरु छन् । उनको प्रष्ट ध्येय छ, पत्रकार र सञ्चारगृहलाई आफु अनुकल प्रयोग गर्ने र स्वार्थपूर्ति गर्ने । श्रमजीवी पत्रकारहरु लगानी गर्ने स्थितीमा छैनन् । उनीहरु आफ्नै पारिश्रमीकको लागि आन्दोलन गर्नु पर्ने बाध्यतामा छन् । आफु अनुकलको समाचार प्रकाशन र प्रशारण नभए धम्क्याउने प्रवृत्ति छ ।

कुन विषयलाई छनौट गर्ने, कति प्राथमिकता दिने भन्ने सञ्चारगृह (सम्पादकीय) को स्वतन्त्रता हो । यसमा कसैको दवाव, हस्तक्षेप, प्रभाव पर्नु हुँदैन । तर यहाँ दिनहुँ भइरहेको हुन्छ । जबकी यसो गर्न खोजिनु प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रता विरुद्ध मात्र होइन, लोकतन्त्र र मानवअधिकार विरुद्ध पनि ठहरिन्छ ।

समाचार लेखेकै कारण पत्रकारलाई सार्वजनिक धम्की दिने, कुटपिट गर्ने प्रवृत्तिको विकास हुनु, प्रेस विरुद्ध दुष्प्रचार गरिनु, पत्रकारको आस्था, रङ, अनुहारका आधारमा सतही मुल्यांकन गर्ने दुस्साहस गर्नु, दबाव/ प्रभाव र सेल्फसेन्सरशिपको वातावरण सिर्जना गरिनु पनि पत्रकार र पत्रकारिताका लागि चुनौती हुन् । पत्रकार र सञ्चारमाध्यमप्रति असहमति जनाउने, आपत्ति प्रकट गर्ने, गुनासो पोख्ने अधिकार सबैलाई सुरक्षित छ । तर त्यसका लागि केही विधि र प्रक्रिया छन्, जुन पुरा गर्न जरुरी छ । तर यहाँ त्यसो गरिएको पाइदैन । त्यसो नहुनु पनि एक खाले खतरा हो । पत्रकारमाथि दिनहुँ आक्रमण भइरहेका छन् ।

आक्रमणकारी पक्राउ पनि पर्छन् तर कुनै न कुनै खाले सम्झौतामा छुट्छन् । त्यस्ता घटनाको अनुसन्धान नहुनु थप हिंंसाका लागि निमन्त्रणा हो । पीडित पत्रकारमाथि न्याय नहुँदा त्यसले पीडकलाई घटना घटाइ राख्नका लागि बल प्रदान गर्छ । श्रमजीवी पत्रकार ऐन र सूचनाको हकको कार्यान्वयन गर्नु पर्ने पनि चुनौती छ । यसका साथै सत्य तथ्य सूचना प्रवाहमा वेवास्ता, प्रयाप्त सीप/दक्षता र खुवी नहुनु, पर्चा कारिता र पार्टीकारिताले स्थान पाउनु, शीप अभिवृद्धिका लागि सञ्चार गृहले ध्यान नदिनु, स्वतन्त्र ढंगले काम गर्ने वाताबरण नहुनु, बढ्दो दण्डहिनता, भौतिक तथा व्यवसायिक असुरक्षा सञ्चारकर्मीका मुख्य चुनौतीका रुपमा देखिएका छन् ।

प्रेस स्वतन्त्रता उल्लघंनका घट्नाको प्रभावकारी अनुगमन र दण्डहिनताको अन्तय नहुनुले पनि अनेकन जोखीम बढाएको छ । प्रेस स्वतन्त्रता उल्लङ्घंनका घटनाको अध्ययन/अनुसन्धान गरिरहेको फ्रिडम फोरम नेपालका अनुसार, देशभर अघिल्लो वैशाख २० देखि हालसम्म पत्रकारमाथिको धम्की, आक्रमण लगायत प्रेस स्वतन्त्रता उल्लङ्घंंनका २९ वटा घटना (रेकर्ड) भएका छन् । यस्तै नेपाल पत्रकार महासंघको रेकर्ड अनुसार सन् २०१६ मा देशभर ७० वटा पे्रस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् ।

सबैको दायित्व

पत्रकारको जती स्वतन्त्र छ, त्यतीकै जिम्मेवार बन्न पनि जरुरी छ । पत्रकार माथिको दुव्र्यवहार, धम्की, आक्रमण सा“च्चिकै समाचार लेखेकै कारण हो या पत्रकारको अन्य व्यवहारले हो, त्यो अध्यन गर्नु पर्ने स्थिती सिर्जना हुँदैछ । पत्रकार महासंघको अहिले बनिबनाउ दिनचर्या हुने गरेको छ, विज्ञप्ति निकाल्ने, भत्र्सना गर्ने, कारवाही र क्षतिपूर्तिका लागि जोडदार माग गर्ने । सदस्यहरुका पक्षमा बोल्ने, संरक्षण गर्ने र न्याय दिने महासंघको दायित्व हो ।

तथापी आफना सदस्यहरुलाई अपनत्वसँगै दायित्व बोध गराउनु पनि महासंघको कर्तव्य र जिम्मेवारी बन्नु पर्छ । यतिबेला लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन, राज्य पुनर्संरचना, शान्ति, एकता, विकासको बातावरण सिर्जना गनु पर्ने दायित्व पनि पत्रकारको काँधमा छ । पेशागत दायित्व निर्वाहको अग्रसरता त छदैछ । पत्रकारहरुको पेशागत सुरक्षामा सञ्चारमाध्यम पनि सम्वदेनशिल र जवाफदेही बन्नु पर्ने देखिन्छ । सञ्चारमाध्यमले आफना सञ्चारकर्मीलाई दक्ष, जिम्मेवार बनाउन जरुरी छ ।

स्वतन्त्र र निर्भीक पत्रकारिताको बाताबरण सिर्जना गर्नु आम नागरिकको पनि दायित्व हो । ज्यानको बाजी लगाएर रिपोर्टिङ गरिरहेका पत्रकारको समस्या, चुनौती अनि मिडिया हाउसको प्रकृृति लगायतका विषयमा पनि आम नागरिकले जानकारी राख्ने, बुझने कोशीष गर्नुपर्छ ।

यस्तै पत्रकारलाई प्रयाप्त सुचना दिने, पत्रकारको सुरक्षामा विशेष चासो राख्ने र निरन्तर समन्वयमा रहने प्रवृतिको पनि विकास हुनुपर्दछ । यस्तै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका लागि पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा र हकहित स्थापित गर्नु नै मुख्य दायित्व बन्नु पर्दछ । बढ्दो चुनौतीलाई सामना गर्दै सञ्चारकर्मीलाई सामाजिक उत्तरदायीत्व वहन गर्न सक्ने बनाउनु राज्यको पनि प्रमुख दायित्व हो ।

प्रतिक्रिया

प्रतिक्रिया