रङ्गीनमय साँझ

कल्पना खरेल

कथा

शरद् ऋतु । आफैँमा आनन्दमय । न गर्मी, न जाडो, न वर्षा, न हुस्सु, न बादल सबैतिर सफा मौसम । दसैँ तिहारको माहोल, निक्कै रमणीय र आनन्दमय । नेपालगन्ज धम्बोजी चोकको कोलाजलाई पन्छाउँदै चोककै पूर्वपट्टि क्रसरोड रेस्टुरेन्टमा निक्कै भिडभाड देखिन्थ्यो । सबै टेबुलमा भर्खरका युवायुवती आआफ्नै तालमा मस्त थिए । हेर्दा विदेशको याद गराउने आउने त्यो रेस्टुरेन्ट निक्कै आकर्षक थियो । रेस्टुरेन्टको भित्तामा ठुलाठुला विदेशी रेष्टुराको झझल्को आउने तस्बिरहरु झुन्डाइएको थियो ।

एक साइडमा घुमाउरो ठुलाठुला सोफासेट । अर्को साइडमा टेबुल कुर्सी । काउन्टर साइडमा विभिन्न भेराइटीको कोल्डड्रिङस र अल्कोहलका बोतलहरु सजिएका । सुमधुर डिमलाइट । एसीले तापक्रमलाई नियन्त्रित गरिरहेको । रेस्टुरेन्टमा पस्दै आनन्दमय । त्यही भिडभाडको माहोलमा मेरो साथी र म कफीको चुस्कीमा रमाउँदै थियौँ । अनायास मेरो नजर नजिकको टेबुलमा पुगेर अडियो । घुमाउरो ठुलो सोफामा एक हुल टिनएजका युवक र युवती
थिए ।

युवतीहरु अति आधुनिक ड्रेसमा सजिएका । लाग्थ्यो कलेजका विद्यार्थी हुन् । केही युवती सेतो मुलायम तिघ्रा देखिने हाफ पाइन्ट र मिनिस्कर्ट, वक्षस्थलको फेदसम्म देखिने खुल्ला टीसर्टको पहिरनमा । केही युवती फुल पाइन्ट र टी सर्टमा । केही युवती कुर्ती र पलाजोमा । युवतीहरुको हियर स्टाइल पनि थरीथरीको थियो । कसैको कपाल स्ट्रेट गरेर सर्लक्क लामो देखिएको । कसैको कपाल कर्ली चाउचाउको आकार जस्तो । कसैको कपाल माथि लगेर जुरो
पारिएको । कसैको कपाल ब्वायजकट छोटो ।

केही युवकहरु पनि स्क्रेज, फाटेको जस्तो पाइन्ट र टी सर्टमा । केही युवकहरु रङ्गीबिरङ्गी कपडामा । युवावर्गको एकै टाउकामा कतै कपाल सेठ्ठी त कसैको कपाल लामो । कुनै युवकको छोरी मान्छेको जस्तो लामो कपाल रबडले एक छुल्ठी बाँधिएको । कुनै युवकको कानको नजिकको कपाल सेठ्ठी टुप्पी र तालुको कपाल चुच्चो ठाडो पारिएको । कुनै युवकको कानमा मुन्द्रा त कुनै युवकको एकै कानमा टप देखिन्थ्यो ।

सबैका आआफ्नो जोडी थिए । मेनु हेर्दै सबैले आआफ्नै रुचिअनुसार अर्डर गरे । कसैले मम, कसैले चिकेन रोस्ट, कसैले छोइलाको साथै हुस्की र बियर विभिन्न परिकार । केही क्षणमै वेटरले अर्डरअनुसारका परिकार टेबलमा राखिदियो । सबै खादै रङ्गरसको चुस्कीमा मस्त हुँदै थिए । एक युवकले गिटारको सुरताल निकाल्यो । गिटारको धुनका साथ पप गीत गुन्जियो । गिटार बजाउने र गाउने युवकलाई साथीहरूल स्वरमा स्वर मिलाएर साथ दिए । रेस्टुरेन्टको प्राङ्गणमा अझै रौनक थपियो । हरेक टेबुलको युवक युवती आआफ्नै धुनमा मस्त देखिन्थे । कसैले कसैसँग चासो देखिँदैनथ्यो ।

सन्ध्याको आगमनसँगै सुर्य अस्त नेपाली युवा मस्त छर्लंग स्पष्ट हुन्थ्यो । कोही हुक्काको धुँवा फाल्दै मस्त मस्त । कोही टङकिसमा मस्त मस्त । कोही प्रेममय गफमा मस्त मस्त । कोही गिटारमा मस्त मस्त । कोही गीत सङ्गीतमा मस्त मस्त । कोही खानमा मस्त मस्त । कोही पिउनमा मस्त मस्त । रेस्टुरेन्ट नै मस्तमय देखिन्थ्यो । त्यो वातावारणले पश्चिमा  संस्कृतिको झल्को  दिलाइरहेको थियो ।

जति साँझ पर्दै थियो । उति नै माहोल रोमाञ्चक बन्दै थियो । नजिको अर्को टेबुलमा बसेका जोडीमा मेरो नजर
पर्यो । सुकिलो भद्र कपडामा करिब तीस बत्तीस वर्षको युवक र पातली लामो  मोहोडाकी पच्चीस छब्बीस वर्षकी सुन्दरी युवती मासु र बियरको चुस्कीमा रमाउँदै थिए । हेर्दा लाग्थ्यो दुवै जिम्मेवार व्यक्ति जस्तो । एकै श्रीमान श्रीमती नै हुन् कि जस्तो पनि । प्रोफेसनल कुनै जरनालिस्ट, प्रोफेसर, अफिसर जस्तो । ती दुवै आफ्नै गुन्गुनाहटमा मस्त थिए ।  विहेभ हेर्दा देखिन्थ्यो भर्खर प्रेम बसेको जोडी जस्तो । नजिकै भएकोले उनीहरूको गुन्गुनाहट मेरो कानमा स्पष्ट सुनिन्थ्यो । रङ्गरसको मस्तानामा दुवैले रङ्गीनमय गफमा मस्त थिए ।

युवकले आफ्नो पुरुषत्व प्रदर्शित गर्दै युवतीको कपाल मुसार्दै डार्लिङ तिमी कति सुन्दरी । तिमीबिना म सधैँ अधुरो हुन्छु डार्लिङ । युवती मसक्क मस्किँदै सिसाको गिलासमा बियरको चुस्की लिँदै रङ्गरसले लठ्ठिएका आँखाले युवकको आँखामा हेरेर आफ्ना आँखा जुधाई । युवतीको नसालु हेराइले युवक अझै उत्तेजित भयो । रसरङ्गको मस्तीमा युवकले प्रेमभावले स्पर्श गर्दै भन्यो— ‘‘तिमी त मेरो मुटुको धडकन नै भयौ डार्लिङ । तिमीबिना खै म कसरी जिउनु ?

तिम्रो हरेक क्रियाकलाप मलाई मन पर्छ । तिमी जस्ती परी भेटेपछि घरमा त आजभोलि हेर्ने मनै लाग्दैन । त्यो आइमाई नजिक भई भने पनि रिस उठ्छ । ऊ सँगको सम्बन्ध औपचारिकता मात्र हो । सधैँ तिम्रै अँगालोमा बाँधिन मन लाग्छ प्रिया । तिमी भन न यार तिमीलाई कस्तो महसुस हुन्छ ? युवती भन्छे मलाई पनि उप्रति कुनै इच्छा हुँदैन । मेरो शरीरमा उसले छोयो भने रिस उठ्छ । त्यो नाम मात्रको श्रीमान डिबोर्स गर्न  पाए आनन्द हुने थियो । छुटकारा पाउने थिएँ । तर के गर्नु पाँच वर्षको छोराले गर्दा समस्या भयो । त्यही त समस्या मेरो पनि दुवै छोरी ठुली भइसके । छोरीहरु नभएको भए त्यो आइमाईलाई पहिले नै छोडी सक्थे । युवकले सिसाको गिलासबाट बियरको चुस्की लिँदै प्रेममय शैलीमा भन्यो । जे जस्तो समस्या भएपनि तिमीसँग छुट्टिन सक्दिन यार । तिमीसँगको आनन्द छुट्टै छ यार । तिमीले मात्र मलाई सन्तुष्ट बनाउन सक्छ्यौ । तिमीले त मलाई स्वर्ग नै पुरयाउँछ्यौ ।

युवती मख्ख पर्दै भन्छे म पनि तपाईंलाई भेटेपछि निक्कै खुसी छु । सधैँ तपाईंको अँगालोमा रहन मन लाग्छ । मिठासपूर्ण गफगाफमा भुलेकी युवतीको एकाएक फोनमा रिङटोन बज्छ । रेस्टुरेन्टको  आवाज पन्छाउँदै युवती फोन लिएर हतारहतार सुनसान बाथरुममा पस्छे । फोन रिसिब गर्छे । हेल्लो भन्नासाथ घरबाट श्रीमानले— ‘‘हेल्लो तिमी कहाँ छौ ?’’ भनेको सुन्छे र युवतीले बनावटी कुरा गर्छे— ‘‘म मामाघर आएको छु । पेट दुखेको छ । भर्खर मेडिकलमा जँचाएर दबाई लिएर आएकी छु । साँझ भइसक्यो भोलि मात्र घर आउँछु । बाबुलाई खाना खुवाएर सुतइदिनु र आफू पनि खानुहोला ।’’ श्रीमानले उताबाट— ‘‘हुन्छ, बिहान अलि छिट्टै आऊ है । बाबुलाई  स्कुल पठाउनुपर्छ । मलाई अफिस जान ढिलो हुन्छ तिमीले ढिलो गरयौ भने’’ भन्यो । श्रीमतीले मिठो पारामा हवस् भोलि बिहानै  फर्किन्छु भनी ।

नारीको चरीत्र बुझ्न गारो हुन्छ भनेको जस्तै सोझो श्रीमानले झुटो बहानाबाजी पत्यायो । युवती मख्ख पर्दै बाथरुमबाट फोन हातमा लिएर उही प्रेमी अर्थात् ब्वाइफ्रेन्डको साथ आई । सोही कुर्सीमा बसेर बियरको चुस्कीमा मस्त हुँदै भन्न थाली— ‘‘मनभरी माया भए पनि भेट हुन निक्कै गारो छ । कति बहानाबाजी गर्नुपर्छ । भेटेर तनमनको प्यास मेट्न ठूलै भूमिका खेल्नुपर्छ । जता टेक्यो उतै काँडै काँडा छ । घरमा बोलाऊँ भने पोइ भनाउँदोले मार्ला भन्ने डर । होटेलमा भेट गर्न पुलिसले पक्डेर बेइज्जत गर्ला भन्ने डर । माया गर्न सजिलो काहाँ छ र । आज भोलि त तपाईंको फोन आउँदा पनि शङ्का गर्छ त्यस मोराले । फेसबुकमा नै म्यासेज पठाउनु है । प्रेमीले भन्छ— ‘‘हुन्छ डार्लिङ तिमी जे भन्छ्यौ म मानिहाल्छु नि ।’’

बोतलको बियर  गिलासमा खन्याउँदै कामउत्तेजनामा उर्लेको युवक भन्छ जेजस्तो भए पनि आजको रातचाहिँ हामी सँगै बिताऊँ है डार्लिङ ? युवतीले पनि चाहेकी त्यही थिई । उत्तेजक युवक युवतीको अझै नजिकै टाँसिन पुग्यो र युवतीका गाला सुम्सुमाउन थाल्यो । रसरङ्गमा झुलेकी युवती पनि मन परेको पुरुषको स्पर्शले रातोपिरो भई । लाग्थ्यो दुवैलाई त्यही सुनसान एकान्त अन्धकार भइदिए हुन्थ्यो जस्तो ।

प्रेमिकासँग  रोमान्टिक मुडमा मस्त भइरहँदा युवकको फोनमा घन्टी बज्छ । युवक फोनतिर हेर्दै मुख खुम्च्याउँछ । फोन रिसिब गर्छ । हेल्लो भन्छ । श्रीमतीले— ‘‘हेल्लो कतिखेर आउनुहुन्छ ? हजुरलाई खाना पर्खेर बसेकी छु ।’’ युवकले श्रीमतीलाई भन्छ—  ‘‘आज म अफिसको सेमिनारमा छु । भोलि मात्र घर आउँछु । खाना पर्खिनु पर्दैन ।’’ बहानाबाजी गरेर  दुवैले घरबाट छुट्टी पाए । यत्तिकैमा वेयटरले बिल लिएर आयो । युवकले बिल भुक्तान गर्यो । खाने मुखलाई जुँगाले छेक्दैन भनेको जस्तै जिम्मेवारी बिर्सेका दुवैले रात बिताउने सुरक्षित ठाउँतिर लागे र  रङ्गीनमय रात बिताए ।

प्रतिक्रिया

प्रतिक्रिया