उद्योग वाणिज्य महासंघ प्रादेशिक संरचनामा

नेपालगन्जमा उद्योग, व्यवसायीहरुको छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो संरचनालाई प्रादेशिक ढाचामा लैजाने निर्णय गरेको छ ।

महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार, हालै बसेको केन्द्रीय समितिको बैठकले प्रादेशिक संरचनामा महासंघलाई लैजाने निर्णय गरेको हो । महासंघको विधान २०४९ को छैठौं संशोधनले प्रदेश उद्योग वाणिज्य महासंघको व्यवस्था गरेकाले सोही अनुसार प्रादेशिक संरचना बनाइएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।

प्रदेश नम्बर ५ मा उद्योग वाणिज्य महासंघमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य तदर्थ समितिको सदस्यमा मनोनित भएका छन् । निवर्तमान केन्द्रीय सदस्य गुणनिधि तिवारीको संयोजकत्वमा गठित प्रदेश उद्योग वाणिज्य महासंघको तदर्थ समितिमा बुटवल, पाल्पा, गुल्मी, कपिलवस्तु, प्युठान, तुल्सीपुर, तौलिहवा र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मनोनित भएका छन् ।

प्रदेश नं. ५ अन्तर्गत २० वटा उद्योग वाणिज्य संघ सदस्य रहेको जानकारी दिंदै केन्द्रीय सदस्य श्रेष्ठले आगामी कार्यसञ्चालनका लागि जेठ महिनाभित्रै प्रदेश महासंघको निर्वाचन गरिने बताए । ‘तदर्थ समितिको पहिलो बैठक शुक्रबार बुटवलमा बस्दैछ’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले दैनिक नेपालगन्जस“ग भने, ‘बैठकले निर्वाचनको तिथिमिति लगायतका आवश्यक निर्णयहरु गर्नेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया