संस्थागत विद्यालयहरुले मनोमानी ढंगले शुल्क वृद्धि गरिरहेको भन्दै त्यसविरुद्ध विद्यार्थीहरुले जिल्ला शिक्षा कार्यालय बाँके घेराउ गरेका छन् । उनीहरुले निजी विद्यालयको शुल्क अनुगमन र नियमन गर्न जिल्ला शिक्षा कार्यालयलाई दबाब दिने आज शुक्रबार घेराउ गरेको बताएका छन् ।
विभिन्न विद्यार्थी संगठनहरुले निजी शैक्षिक संस्थामा ‘ढाड सेक्ने गरी’ शुल्क वृद्धि गरिएको भन्दै चरणबद्ध आन्दोलन घोषणा गर्दै जिशिका घेराउ गरेका हुन् ।
अनेरास्ववियु बाँके अध्यक्ष मोहित शाह, नेविसंघका सहसचिव चक्र बहादुर रावत, अखिल क्रान्तिकारी नेकपाका संयोजक मदन चन्द, अखिल क्रान्तिकारी माओवादी केन्द्रका तुल्सीमणि केसीले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेका हुन् ।
विद्यार्थीहरुले बैशाख १७ गते चर्को शुल्क लिने निजी शैक्षिक संस्थाको लेखा र प्रशासन शाखामा तालाबन्दी, बैशाख १८ र १९ गते अनुमति विना सञ्चालित निजी शैक्षिक संस्थामा तालाबन्दी गर्ने घोषणा गरेका हुन् ।
जिशिका घेराउका क्रममा त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।