सडकमा पशु, काञ्जी हाउस खाली

राजकुमार चौधरी

नेपालगन्जका सडकहरुमा यत्रतत्र छाडा छाडिएका पशुहरु देखिन्छन् । तर छाडा पशु राख्ने काञ्जी हाउस भने खाली छ ।

काञ्जी हाउसको व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाले गरिरहेको छ । काञ्जी हाउसका इन्चार्ज मुखियाका अनुसार, अहिले काञ्जी हाउसमा तीन वटा मात्र पशु रहेका छ।

बाँके जिल्लामा आधिकारिक रुपमा एउटा मात्र कान्जी हाउस रहेको उपमहानगरपालिकाले जनाएको छ ।

यो काञ्जी हाउसमा जिल्ला भरिबाट नै खुल्ला छाडिएका पशुहरुलाई ल्याउन सकिन्छ ।

बाँकेमा पशुपालक किसानहरुले चैत्र, बैसाखमा धेरै छाडा छोड्ने गरेका छन् । यद्यपी नेपालगन्ज नगर भित्र छाडा छोड्ने प्रचलन बर्षै भरि नै रहेको छ ।

चरनको अभाव तथा घरमा गोठ नहुनु पशुहरुलाई छाडा छाड्ने प्रमुख कारण रहेको बताइन्छ ।

सात दिन भित्रमा सम्वन्धित पशु धनीले उपमहानगरपालिका मार्फत काञ्जी हाउसमा निवेदन दिने गर्छन् । सात दिन भित्रमा निवेदन प्राप्त नभएमा वा पशुको धनी पत्ता नलागेमा पशुलाई लिलाम गर्ने गरिएको छ ।खुल्ला छाडिएको पशुलाई काञ्जी हाउसमा लिएर जानेले प्रति पशु एक सय रुपैंया पाउने व्यवस्था छ ।

नेपालगन्ज उपमहानगरपालिका निरिक्षण उप शाखाका प्रमुख पवन कनोजियाका अनुसार, आर्थिक वर्ष २०७३ ७४ को चैत्र मसान्तसम्म नेपालगगन्ज नगर क्षेत्रबाट ४ सय ७० छाडा पशुहरु पक्राउ गरिएको छ । नेपालगन्जन्यूज संग कुरा गर्दै उनले पशु धनी नभेटिएका १ सय ५३ चौपायाहरुलाई जंगलमा लगेर छाडिएको जानकारी दिए ।

यसै गरि छाडा पशुका धनीबाट १ लाख ६२ हजार ३ सय राजस्व रकम संकलन भएको थियो ।

धेरै पशु धनीहरुले काञ्जी हाउसलाई गोठको रुपमा प्रयोग गर्ने गरेका छन् । धेरै पशुहरु दोहोरोरिएर समेत काञ्जी हाउसमा आउने गरेका छन् ।

नियन्त्रणका लागि पशु धनीहरुलाई कडा कानूनी कार्यवाहिको दायरामा ल्याउनु पर्ने तर्क गर्छन् नेपालगन्ज उपमहानगरपालिका निरिक्षण उप शाखाका प्रमुख पवन कनोजिया ।

पशुलाई व्यस्त सडकमा छाडिएको कारणले दुर्घटना समेत हुने गरेको जिल्ला टाफिक कार्यालयले जनाएको छ ।

पशु अधिकारकर्मीहरु पशुपालकहरु जिम्मेवार हुनु पर्ने तथा छाडा छाडिएका पशुहरुलाई काञ्जी हाउसमा यथोचित पोषणयुक्त घाँस र पानीको व्यवस्था हुनुपर्ने बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया