व्यापारिक शहर नेपालगन्ज सहयोगी चरित्रको छ ।
किरण ढकाल
शनिबार १२ बैसाख २०७२ । मध्यान्ह १२ बजेर ५६ मिनेट । हल्लायो । हल्यायो । यहि आवाजसंगै भुकम्प गयो भन्ने थाहा पाइयो । एकै छिनमा भारतीय न्युज च्यानलहरुले काठमाडौं तहसनहस भनेर खबर दिन शुरु गरे ।
बल्ल एहसास भो यो भुकम्पमात्र हैन । महा भुकम्प हो । अर्थात महाविपत्ती ।
के गर्ने कसो गर्ने केहि सोच्न सकिरहेको थिइन । तर मनमा थियो, अब केहि गर्नुपर्छ । राती नै एउटा ब्लग पोस्ट गरे आफ्नो ब्लगसाइटमा । विशालसंग फोनमा कुराकानी भयो ।
भोलीपल्ट सखारै केहि गर्ने सोच सहित हामी भेटियौं । उमा, सोम जी, विशाल, तुल्सीमणि र म । केहि गरौं न छलफल गर्यौ । हामी संगै थिए सुरेन्द्र कार्कि, पुष्पान्जली, प्रदिप, गगन, क्षितिजा र ममता ।
संकटको त्यो त्रासदीपुर्ण अवस्थामा नेपालगञ्जलाई जुर्मुराउने अवसर दिनु थियो । र त्यहि अवसरको निम्ती हामीले पहल गरेका थियौं । सोम जीले बनाउनु भयो फेसबुक ग्रुप, नेपालगन्जबाट सहयोगी हातहरु अभियान । जसले नेपालगञ्जका सहयोगी हातहरुलाई जोड्ने प्रयत्न गर्यो ।
अभियानको सफलताको मापन सायदै होला । मकवानपुर टिस्टुग गाविस सचिवले “अब म त्रिपालका लागि कहि कतै ढोका चाहर्न जान्न र यसको श्रेय नेपालगञ्जीया अभियानलाई जानेछ भन्दा मन ढक्क फुल्यो ।”
पहिलो पल्ट हामी टिस्टुग पुग्दा एक ट्रक खाद्यान्न लिएर गएका थियौं । टिस्टुंगका गाविस सचिवले त्रिपाल आवश्यक छ भन्नु भो । तुल्सीमणिले हामीलाई हेरे र फ्याट्ट भनिदिए, …हामी ५ सय त्रिपाल ल्याइदिन्छौं । जबकि हामीसंग कुनै श्रोत नै थिएन ।
फेरी राहत सामाग्री संकलन गर्ने हाम्रो कुनै योजना नै थिएन । विशालले तत्काल पोस्ट गरे फेसबुकमा । ५ सय त्रिपाल चाहिएको छ भनेर ।
हामीले त्रिपाल जुटाएर अर्को हप्ता टिस्टुग पुग्दा झमक्क साँझ परिसकेको थियो । गाविस सचिव आफैं भान्से भएर हामीलाई खाना पस्किदै थिए । अभियानका अगुवा उमा भन्छिन्, …यो अभियानले यति गती लेला भनेर सोचिएकै थिएन । हामीले जसो तसो एक पटक मात्र राहत सामाग्री वितरण गर्न सकौला कि भन्ने लागेको थियो ।Ú
हामीले चाहेको यति मात्र थियो कि अभियान नेपालगञ्जको साझा बनोस् । सहयोगी हातहरु नेपालगञ्जमा प्रशस्त छन् भनेर थाहा पाउन् सबैले । र हामी दावा गर्न सक्छौं, नेपालगञ्जलाई चिनाउने अवसर सिर्जना गरेका छौं ।
हामी जहाँ गयौं, जहाँ पुग्थ्यौं हामीले सिर्फ एउटै कुरा दोहोराइरयौं, “हामीलाई नाम चाहिएको छैन, हामी कुनै संस्थाको प्रतिनिधित्व गर्दैनौं, मात्र नेपालगञ्जले आएर राहत वितरण गरिदियो भनेर सम्झिए पुग्छ ।”
अभियानको निरन्तरतासंगै हामीलाई हाम्रा सिमीतता थाहा थियो । हामीलाई हाम्रो अवस्था थाहा थियो ।
महाविपत्तीको पिडा र असरको वयान गरिसाध्ये छैन । जीवनलाई जिउने तरीकामा फेरवदल आउने गरी आईपरेको महाविपत्तीको यो समयमा हाम्रा साना प्रयत्नहरुले सम्पुर्णतामा सहयोग पक्कै गर्न सक्दैनन् । तर काफी महत्वपुर्ण हुदा रहेछन् । हाम्रो सिकाई हो यो ।
चेतराम दादा जो मेरो घरमा दुध लिएर आउने गर्नु हुन्थ्यो । एक दिन विहान उहाँले २० किलो चामल लिएर आउनु भयो र भन्नु भयो, ‘यो चामल पनि पुरयाइदिनु है ।’
हाम्रा प्रयत्नहरु एक थुक सुकी, लाखौं थुक नदी झैं हुन् । अर्थात साना साना प्रयासहरु । हो, हामी र हामी जस्तै लाखौं सहयोगी हातहरु जुरमुराएर उठे । जोडिए । उठ्नु जरुरी थियो । आवश्यकता थियो । र थियो त मानवीयताको दरो नाता । केहि गर्नुपर्छ भन्ने जुनून् ।
भन्नेले भन्दै गरुन्, सामाजिक सञ्जालमा फोटो चप्काउन यसो गरेका हुन् भनेर । लोकप्रियताका लागि यसो गरिरहनु किमार्थ जरुरी थिएन । यो कर्तव्य थियो । र दायित्व पनि ।
हामीले पहल गरिरहदा, चियर्स नेपाल बाँकेका भाईवहिनीहरुले सडकमा पानीपुरी बेचिरहदा, केहि मानिसहरु संशयपुर्ण तरीकाले भन्दै थिए, ‘नेपालगञ्जबाट के को राहत सामाग्री उठ्न सक्ला ?’
हामीले भन्नै पर्ने हुन्छ, हामी आफैं पनि धेरै विश्वस्त थिएनौं । तत्काल राहतका लागि चिउरा, चाउचाउ, पानी, विस्कुट वितरणका लागि शुरु गरिएको अभियान चामल, दाल हुदै सुत्केरी तथा गर्भवती महिलालाई न्यानो र तातो लुगा, अनि पुननिर्माणका लागि जस्तापाताको सहयोग सम्म पुग्यो ।
अर्थात हामी प्रत्यक्ष ५ हजार प्रभावितहरु सम्म पुग्यौं । २१ लाख भन्दा वढिको सहयोग संकलन गरेर वितरण गर्यौ मात्र ८ हप्तामा । काममा प्रष्टता, समर्पण र गतीशिलताले उद्देश्य प्राप्तीमा सहजता ल्याउने छ भन्ने हाम्रो सिकाई हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जती पनि जिन्सी सामाग्री प्राप्त गर्यो । सबैको ढुवानी हामीले गर्यौ । धेरै सामाजिक संघसंस्थाले उठाएका जिन्सी सामाग्री हामीले वितरण गर्यौ ।
वितरण गर्न जाँदा प्रत्यक्ष पिडितसंग पुग्यौं हामी । दर्जनौं संस्थाहरुले आफ्ना राहत सामाग्री प्रशासन कार्यालयमा छाडेर जाँदा हामी पिडितको घरमा गएर राहत बाडिरहेका थियौं ।
‘’हामीले पानी बेचेर खायौं भनेर सम्म भन्न भ्याए ।’ अगुवा तुल्सीमणी भन्छन्, खुद्रे सूचना र सतहि विश्लेषणका आधारमा आफू विशिष्ट भएको आत्मरतिमा रम्ने प्रवृत्ती र पात्रहरुका टपरटुईयाँ तर्कहरुले यस्ता अभियानहरुलाई रोक्न सकिदैन भन्ने हेक्का राखिदिएको भए हुन्थ्यो ।
निरपेक्ष नकारात्मकताको वकालतले केवल घृणा जन्माउँछ । राष्ट्र निर्माण त आपसी सद्भाव सहयोग र सम्मानले हुन्छ ।
राज्यलाई बलियो बनाउन र मनकारी मनहरुलाई जोड्ने अभियान थियो यो । हाम्रो उद्देश्यमा पवित्रता थियो । अनि हाम्रो काममा प्रष्टता थियो । हामी आफ्नै पैसा खर्चेर जाने गथ्र्यौ । अर्थात राहतको एक सुका पनि हिनामिना गरेनौं ।
त्यसैले त सबै गतिविधिहरु सामाजिक सञ्जालमा पोस्टिने काम मात्र गरेनौं, सहयोगी दाता र सरकारी निकायका सामुन्नेमा राहत वितरणका फेहरिस्त सार्वजनिक गर्यौ ।
जहाँ जहाँ राहत वितरण गर्यौ, भुकम्प प्रभावितहरुका सामुन्ने खर्च विवरण सार्वजनिक गर्यौ । पारदर्शिता हाम्रो अभियानको प्राण थियो ।
सम्भवत नेपालगन्जमा भुकम्पको राहत सामाग्री वितरण गर्ने कसैले यसरी फेहरिस्त सार्वजनिक गरे ।
यो अभियानले नेपालगन्जलाई भुकम्प प्रभावित मकवानपुर, धादिग, काठमाडौं र सिन्धुपाल्चोकका दर्जन बस्तीहरुमा पुरयाउन सफल भयो । हजारौं पिडितहरुको घर घरमा नेपालगन्ज सुनियो ।
हाम्रो फेसबुके अभियान (कहि कतै दर्ता नि नभएको । न त लेटरप्याड । न कार्यालय ।) लाई राज्यका निकायहरुले मनै देखि सहयोग गरे । चाहे त्यो प्रशासनिक लेखापढिमा सहयोग र आफुसँग प्राप्त भएका राहत सामाग्री वितरणका लागि सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालयबाट अनुरोध होस् वा राहत सामाग्रीको व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालयबाट स्वयंसेवक प्रहरीको परिचालन र राहत सामाग्री ढुवानीका यातायातको व्यवस्थामा ।
अभियानको लक्ष्य प्रति एकाकार भएर होला, नेपाल पत्रकार महासंघ बाँकेको महत्वपुर्ण सहयोग रहयो, फलस्वरुप हामीले भौतिक रुपमा अभियानलाई निरन्तरता त्यहिबाट दिईरहयौं ।
चियर्स नेपालका कर्मवीर, भाइ बहिनीहरु, कमला र सरिता दिदि, केशव कोइराला लगायत दर्जनौंको उत्साहपुर्ण सहभागिताले अभियानले सार्थकता पाएको थियो भन्दा अत्यूक्ति नहोला ।
अभियानमा विभिन्न सन्दर्भमा खटिएका सय बढि युवासाथीहरुको लगाव र प्रतिवद्धताको जगमा उभिएर भन्न सक्छौं, , व्यापारिक शहर नेपालगन्ज सहयोगी चरित्रको छ ।