बसपार्क रोडको चौडाइ घटाउन बिवाद

नेपालगन्जन्यूज । हुलाकी राजमार्गको पुष्पलाल चोक देखि राप्तीपारीको बसपार्क क्षेत्रमा राजमार्गको चौडाइ घटाउन दबाब अघि बढेको छ ।

बसपार्क क्षेत्रको सडक थप चौडा हुनु पर्नेमा पुष्पलाल चोक देखि क्षेत्रीय विद्युत प्राधिकरण सम्मको हुलाकी सडकलाई मापदण्ड विपरीत चौडाई घटाउन संघर्ष समितिले प्रयास थालेको हो ।

तर समिति भित्रको एक पक्षले आयोजनाको पूर्व शर्त अर्थात २२ मिटर भित्र सडक र नाली निर्माण हुनु पर्ने अडान राखेको छ ।

अर्को पक्षले १४ मिटर भित्र ११ मिटर कालो पत्रे र १.५ मिटरको दरले दुबै तर्फ नाली निर्माण गर्न दबाव दिँदै आएको छ ।

निर्माण भइरहेको सडकको चौडाई ३० मिटर र लम्बाई ४४.६ किलोमिटर रहेको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

बसपार्क क्षेत्रमा यसअघि भारतीय निर्माण कम्पनीले काम थाल्ने भनिएकै बेलामा गरिएको स्थानीयहरुको समिति अहिले विवादित भएको हो ।

बसपार्क क्षेत्र भएकोले सडक बढि चौडा हुनु पर्ने सामान्य मान्यता हो, समितिका सल्लाहकार श्यामलाल आर्यालले नेपालगन्जन्यूज संग भने, १४ मिटर मात्र चौडा हुने  सडकले बसपार्क क्षेत्रमा आवत जावतमा समस्या हुन्छ ।

२० करोड लागतमा निर्माण भइरहेको अत्याधुनिक बसपार्कका लागि समेत सडक चौडा बनाउनु पर्ने स्थानीयहरुको तर्क छ ।

घर जग्गा सडकमा जाने डरले अधिकांश स्थानीयहरु सडकको चौडाई कम गरेर लैजान दबाव बढाएका हुन् ।

समितिले पहिला २२ मिटर भित्र सडक निर्माण हुने कुरामा सहमत भएपनि अहिले आएर १४ मिटरमा सडक निर्माण गर्ने तर्क गर्नु निन्दनीय रहेको सल्लाहकार आर्यालले बताए । उनले २२ मिटर भित्रै सडक निर्माण हुनु पर्ने अडान दोहोर्याए । 

प्रतिक्रिया

प्रतिक्रिया