‘तपाँईको घर कहाँ हो ?’
बर्दिया ।
बर्दिया कुन ठाउँ ?
मैनापोखर ।
पहाड घर नी ?
दाङ्ग ।
घरमा कोको हुनुहुन्छ ?
मम्मि र भाई बहिनी ।
भाई बहिनी कति ?
हामी सबै गरेर २ भाई २ बहिनी हौं ।
ए…..अनी बुवा ?
बाबा कलकत्ता ।
के गर्नु हुन्छ त्याँ ? प्राईभेट अफिसमा जब गर्नु हुन्छ ।”
यो थियो रेडियोमा बोल्नको लागि मलाई लिईएको पहिलो अन्तरवार्ता ।
जागिरको लागि कहिल्यै कतै अन्तरवार्ता नदिए पनि मलाई थाहा थियो कि अन्तरवार्ता भनेको सम्बद्ध संस्थाले तोकेको विषयवस्तु अनुसारको काम र कार्यक्रमको बारेमा हुन्छ । नकी कसैको व्यक्तिगत जीवन र पारिवारीक संरचनाको विषयमा नै सोधिन्छ । मलाई त्यस किसिमको प्रश्न बडो अजिव लागि रहेको थियो । अन्तरवार्ता सकिएपछि ढोका खोलेर बाहिर निस्कदै गर्दा मेरो मगजमा एउटा कुरा फुर्यो, अनि मेरो अन्तरवार्ता लिनेलाई नै फेरी ढोका बन्द गरेर मैले प्रश्न गरें ।
“सर हजुरले किन मेरो परिवारको बारेमा सोध्नु भयो ? मलाई हजुरले रेडियो सम्बन्धि किन केही पनि सोध्नु भएन ?” त्यसबेला मलाई अन्र्तवार्ता लिने व्यक्ति आफ्नो हातमा रहेको कसैको डकुमेन्ट हेर्दै थिए । त्यसबाट नजर हटाई एकाएक मलाई पो तल देखि माथिसम्म दोहो¥याएर हेरे र अडकल गर्न सजिलै सकिने आक्रोसमा उनले भने “अन्तरवार्ता लिने तपाँई कि म ?’
मैले भने ‘तपाँई सर । त्यसो भए तपाँईको अन्तरवार्ता अघि नै सकियो । गई हाल्नुस् यहाँबाट ।”
मनमा धेरै प्रश्नहरु भएपनि बाहिर जान बाध्य भएँ त्यतिबेला ।
त्यो अन्तरवार्ताको दिनसम्म आईपुग्दा रेडियोमा निरन्तर धाईरहेको झण्डै एक महिना पुग्नै लागेको थियो । त्यतिबेलासम्म प्रायः सबै साथीहरुको कार्यक्रम फिक्स भैसकेको थियो । मेरो भने बल्ल पारिवारिक वायोडाटा लिएर सक्किएको थियो । भ्वाईस टेष्ट र कार्यक्रमको निधो त अझै कति महिना लाग्ने हो भन्ने कुनै हेक्कै थिएन । तर अचम्म भयो । भोलिपल्ट एक्कासी मेरो भ्वाईस टेष्ट गरियो । पढ्नका लागि केही तयारीनै थिएन । सरले जे आउँछ पढ्नुस् हैन भने यो अवसर पनि हातबाट जान्छ भनेपछि सानो छँदा कविता प्रतियोगितामा प्रथम भएको हिमालको बारेमा आफैले लेखेको कविता याद आयो । आखाँ चिम्लिएर त्यही पढें ।
कविता वाचनपछि मलाई घर जान भनियो । मनमा फेरी प्रश्नहरु जागे । मेरो आवाज राम्रो भएन र त होला मलाई घर जान भनिएको । या फेरी हुन सक्छ मलाई एफ.एममा नआओस भन्नको लागि मेरो चित्त बुझाउन भ्वाईस टेष्ट गराई दिएको मात्र पो हो कि ! आदि ईत्यादी ।
अरु दिन जिद्धि गरेरै भएपनि नदिईएको जिम्मेवारी पनि पाए जस्तो गरि साथीहरुसँग मिलेर कार्यक्रमको खाका तयार गरि बस्थें । तर त्यो दिन भ्वाईस टेष्टपछि सरले मलाई बोलेको रुखो पाराकोे बोलि सम्झँदा पनि मलाई त्यहाँ बस्न मन लागेन । त्यसैले मन अमिलो बनाउँदै म एफएमबाट निस्किएँ ।
मलाई लागेको थियो एफ.एममा अब कहिल्यै पनि बोल्न पाउँदिन होला भन्ने ।
तर समय मेरो पक्षमा भईदियो । मेरो आवाज सरहरुले सोचे भन्दा धेरै नै उत्कृष्ट भएछ । त्यसपछि मलाई खोज्न थालिएछ । एकदिन म बजार गएको बेला के हुँदै छ त भनेर म आफैं नै एफएममा गएँ । त्यहाँ पुगेपछि पो थाहा पाएँ कि मेरो आवाज साँच्चै रेडियोमा बोल्नको लागि योग्य रहेछ । मलाई खोजी रहँदा रेडियोमा म जानु सरहरुलाई ढुङ्गा खोज्दा ईश्वर भेटिए झैं भएछ । आवाजले त मेल खायो तर मान्छे मेल खाएन । अनि त त्यही समय देखि शुरु भयो मेरो बारेमा अनुसन्धान ।
त्यो समय संकटकालको थियो । हामीले सुनेका थियौं कि माओबादिहरुले रेडियो कब्जा गरेर रेडियोको सामानहरुलाई डोकोमा हाली ‘डोके रेडियो’ बनाएको भन्ने । त्यसैले मेरो कुनै ज्याक नभएकोले र मेरो सिफारिस कसैले नगरेकोले म माओवादिको सुराकी हुन पनि सक्छु भन्ने अनुमान लगाइएछ । त्यसैले मैले थाहा नपाउने गरि मेरो बारेमा बुझ्न शुरु गरिएछ । मेरो हिंडाई, उठाई, बसाई, बोल्ने भाषा, निडरपन आदि ईत्यादि विषेशता नै भएछन् रेडियोको लागि अनुसन्धानको विषय ।
रेडियो संचालकहरुका लागि म, माओबादी रे । त्यसैले मलाई एक महिना पुग्दासम्म पनि रेडियोमा भ्वाईस् टेष्ट गर्न नदिईएको रे । जब मेरो जर्बजस्तीमा मलाई भ्वाईस् टेष्टका लागी अवसर दिईयो । त्यसपछि मेरो आवाज सबैको भन्दा उत्कृट भईदियो रे । त्यसपछि मेरो बारेमा पत्ता लगाउन हामीसंगै काम गर्न गएको एकजना सहकर्मीलाई खटाईएछ । म कहाँ जान्छु, कोसंग बोल्छु, मेरो क्याम्पस जाने समय कति बजे हो, क्याम्पस जान्छु कि जाँदिन, आदि सबै मेरा क्रियाकलापमा निगरानी । मानौं कि मेरो निगरानी एउटा अपराधि घोषित गरेर रेडियोले नभई प्रहरीले गरिरहेको छ । त्यतिले मात्रै नपुगी पार्टीकै केही मानिसहरुबाट पनि बुझिएछ ।
जो कसैसंँग बुझ्दा पनि म कुन पार्टिसँग आबद्ध छु भनेर मेरो बारेमा केही पत्ता नलागे पछि त्यो समयमा रेडियाको पुरै जिम्मेवारी पाएका डिल्ली बिसी ‘सर’ ले मेरो बारेमा ग्यारेण्टी लिनु भएछ । यी डिल्ली बिसी तिनै हुन् जस्ले मेरो अन्तरवार्ता लिएका थिए अनि मलाई त्यो एक महिनासम्म अनेक थरी परिक्षा लिएर दिनु सम्मको दुःख दिएका
थिए । कहिले पुरै दिन बित्नै लाग्दा पनि मलाई केही सोध्दै नसोध्ने, तर अरुलाई भने धेरै कुरा सिकाउने । कहिले मैले सोध्दा पनि सुनेको नसुनै गरेर वास्ता नै नगरिदिने, कहिले कार्यक्रमको ढाँचा बनाएर ल्याउ भन्ने अनि बनाएर देखायो हेर्दै नहेरी च्याति दिने ।
म त्यो एक दिन कहिल्यै बिर्सन सक्दिन, जुन दिन सरले मलाई एउटा कथा पढ्न दिनु भयो । त्यतिबेला एउटा शब्द मैले अशुद्ध उच्चारण गर्दा शुद्धसँग पढ्न सकिन्न भन्दै निकै चर्काे स्वरमा सबैको सामु कड्किएर गालि गाली
गर्नुभयो ।
‘आफै सल्यानी बोल्छ । यति ठुलो पदमा बसेर पनि गया हो र खाया हो भन्छ अझैं मलाई शुद्ध बोल्न आउँदैन भनेर गालि पो गर्दाे रैेछ’, भन्दै मनमनै मैले पनि गालि गरे । यस्ता गालि त मैले उनलाई मनै मनमा कति गरें गरें । त्यति त सायद उनले मलाई खुलेर पनि गरेनन् ।
चार वर्षे सुर्खेती पत्रकारीताको शिलशिलापछि म नेपालगन्ज झरे । नेपालगन्जमा उनैसँग भेट भयो । त्यो भेटमा पो थाहा पाएँ उनकै मुखबाट सुर्खेतमा मलाई गालि गर्नुको कारण त अर्कै रहेछ । त्यो के भने रेडियोका लागि जति नै पर्फेक्ट भ्वाईस भए नि यो केटीलाई राख्नु हुँदैन भन्ने सबै संचालकहरुको एउटै आवाज हुँदा सरले नै ‘रेडियोको लागि पार्टीको मान्छे चाहिएको हो कि आवाज भएको मान्छे चाहिएको हो’ भन्दै मेरो पक्ष लिएर बाझ्नु भएछ । आफु स्टेशन म्यानेजर भएकाले कर्मचारी छनौटमा सरले अधिकारको प्रयोग गरेर केही परेछ भने मैले ग्यारेन्टी लिने भएँ भन्दै मलाई त्यो अवसर दिनु भएको रे ।
कारण त्यही रहेछ अरुले जति बिगारेरै बोले पनि अरुलाई केही नभन्ने । मैले चाहीं बिगार्दै नबिगारी बोल्दा पनि मलाई भने सात्तो जाने गरि गाली गर्ने । ताकी मैले कुनै मिस्टेक नगरुँ जस्को कारण सर मलाई निकाल्न बाध्य हुनु परोस् । जुन कुरा सरले कहिल्यै चाहानु भएन । यदि चाहेको भए आज म पत्रकार रुपनी जि.एम (क्षितिजा) भनेर चिनीने थिईन ।
मेरो पत्रकारिताको सुरुवात सुर्खेती भूमीबाट भयो । सुर्खेतको बुलबुले र जागरण एफएम गरि मैले तीन वर्ष रेडियो पत्रकारीता गरें । त्यो तीन वर्षे पत्रकारिता मेरो ‘फ्रि’ को पत्रकारिता भयो । सोझो भाषामा भन्ने हो भने पुरै ‘भोलेन्टिएर’ ।
त्यसपछि मैले नेपालगन्जमा झण्डै आठ वर्ष सम्म पत्रकारिता गरें । नेपालगन्जमा झरेर रेडियो वागेश्वरी एफएममा काम गर्ने वातावरण पनि मलाई डिल्ली बिसीलेनै मिलाईदिनु भयो । मलाई धेरै कुरा सिकायो रेडियो वागेश्वरी एफएमले । अनि त्यो भन्दा पनि धेरै कुरा सिकें मैले नेपालगन्जको त्यो आठ वर्षे बसाईमा ।
सुर्खेत हुँदै नेपालगन्जसम्मको पत्रकारिताको दौरानमा मैले झण्डै एक दशक रेडियो पत्रकारीता गरें । पछिल्लो समय स्थान मात्रै हैन मैले गर्दै गरेको पत्रकारीताको धार पनि परिवर्तन भएको छ । रेडियो पत्रकारीताबाट मेरो पत्रकारिता अनलाईनमा पुगेको भएको छ ।
यो यात्रासम्म आईपुग्दा मैले भोगेको कुरा यही हो कि केवल क्षमता भएर मात्र सफल हुन सकिदो रहेनछ । सफल हुनका लागि स्थान र अवसर महत्वपुर्ण कुरा हो रहेछ । हेर्दै जाऊँ पत्रकारिताको यो यात्रामा कहाँसम्म पुगिन्छ । तर यहाँसम्म पुग्नलाई मेरो पहिलो पाईलेदेखि मलाई सघाउने र मलाई सही गलतको फरक देखाएर असल कुराको निर्णय लिन सक्ने बनाउने मेरा सम्मपुर्ण अग्रजहरु प्रति आभारी छु ।