नेपालगन्जका मेयर उम्मेदवार लगभग तय

स्थानीय तह निर्वाचनको मिति नजिकिदैं जाँदा राजनीतिक दलहरु उम्मेदवार छनौटको अन्तिम पडावमा आइपुगेका छन् । २३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख राजनीतिक दलहरुमा उम्मेदवार बन्ने आकांक्षीहरु धेरै देखिएका छन् ।


अहिले राजनीतिक दलहरु अन्तिम स्क्रिनिंग गर्दैछन् , पत्रकार झलक गैरेले भने  ।


दलहरुका आन्तरिक बैठकहरु बसिरहेका छन् । विभिन्न औपचारिक र अनौपचारिक छलफल, भेटघाटले तीव्रता पाएको छ ।

राप्रपाले प्रमुखमा धवल शम्शेर राणाको नाम तय गरिसकेको छ । यद्दपी, उसले राणाको फुलफेज टिम घोषणा गरिसकेको छैन । नेपाली कांग्रेस यसपटक नेपालगन्ज उपमहानगरपालिका जसरी पनि जित्न चाहन्छ । ०४९ सालमा जितेका मेयर विजय गुप्ताले पार्टि छोडिसकेका छन् । परम्परागत रुपमा बलियो रहेको ठानिने कांग्रेस ०५४को चुनावलाई भुल्न चाहन्छ ।

आन्तरिक एकता र सकभर सर्वसम्मत उम्मेदवार छनौट उसको चुनाव जित्ने पहिलो रणनीतिक पाइला हो ।
कांग्रेसबाट सबैकुरा ठिक भयो भने कोहलपुर मेडिकल कलेजका प्रमुख डा. शुरेस कनोडिया नै उम्मेदवार हुन् । कांग्रेस सम्वद्ध श्रोतका अनुसार, कनोडिया बाहेक सुरेन्द्र हमाल र अच्युत प्रसाईको नाम जबरजस्त उठिरहेको छ ।
उपमेयरमा युवा नेतृ उमा थापा मगर बलियो उम्मेदवार हुन् । कांग्रेसको मुद्दा के छ ? उपमेयरकी बलियो उम्मेदवार उमा थापा भन्छिन्, शुसासन र विकास ।

भेग, समुदाय समेत हेर्नुपर्ने छ । कनोडियाको टिमबाट उमा नै हो । तर कोहि पहाडे प्रमुख भएमा पुष्पा शुक्लाको सम्भावना पनि उत्तिकै छ । नाम उल्लेख नगर्ने शर्तमा कांग्रेस श्रोत बताउँछ ।
यसैगरी कांग्रेसले वडा अध्यक्षहरुमा वडा नं. १ बाट सिता काफ्ले, ११ उज्जवलसिंह राठौर, १२ बाट विन्दुभुषण बस्नेतको सर्वसम्मतीमा सिफारिस भएको जनाएको छ ।

०५४ को चुनाव जितेको एमाले त्यसबेला आफुले गरेको राम्रो काम देखाउदै मत माग्न जाने छ ।
दलको आन्तरिक बैठकहरु चलिरहेका छन् । वडा तहसम्म छलफल चलिरहेको छ ।
पार्टिको स्थायी कमिटिले टिकट दिने र सिफारिस नगरबाट हुने भएकोले लेन्थी प्रोसेसले एमालेका धेरै कार्यकर्तालाई तताएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको मेयरका सुर्य ध्वजाबाहक उम्मेदवार शमसुद्दिन सिद्दिकी हुन सक्ने सम्भावना प्रवल छ । सिद्दिकी अघिल्लो पटक एमालेबाट निर्वाचित उपमेयर हुन् ।
यी बाहेक विजय गुप्ताको पनि चर्चा छ । गुप्ता एमाले केन्द्रिय आर्थिक विभाग सदस्य हुन् । र पार्टिका शिर्ष नेतृत्वसंग राम्रो हिमचिम भएका नेता मानिन्छन् ।

उपमेयरमा जिल्ला कै अग्रणी महिला नेतृ शान्ति ढकालको चर्चा छ । केहि वडाहरुले तुलसा थापाको नाम सिफारिस गरी पठाएका छन् । एमालेमा बाहिरबाट उम्मेदवार ल्याएर उम्मेदवार बनाउने गरेको विगतको प्रयोग फेरी दोहरिन नसक्ला भनेर पुरै नकार्न सकिदैन ।

एमाले नगर संयोजक प्रमोद धितालका अनुसार वडा अध्यक्षहरुको पनि सिफारिस आउने क्रम शुरु भएको छ । अहिले सम्म वडा नं.१ बाट प्रमोद रिजाल, २ बाटअम्मेर जंग शाहि, ३ बाट लतिफ अन्सारी, ४ बाट चेत बहादुर गुरुग, ८ बाट प्रवीण अन्सारी, १३ बाट मोहन चौहान, १८ बाट दिपक बर्मा र १९ बाट धनराज चौधरीको नाम सिफारिस भैसकेको छ ।

एनेकपा माओवादी मा सम्भावित उम्मेदवारहरुमा धेरैको चर्चा चलेको छ ।
पार्टिले नेपालगन्ज उद्योग व्यापार संघका पूर्व अध्यक्ष दामोदर आचार्यलाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ । माओवादी श्रोतले बतायो ।

साना दलहरुले निर्वाचनबारे खासै सार्वजनिक नगरे पछि राष्ट्रिय जनमोर्चाले उम्मेदवार उठाउने निश्चित गरेको छ । पार्टी स्रोतका अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा लामो समयदेखि पार्टी प्रतिनिधिका रुपमा रहेका कृष्णराज पाण्डेलाई प्रमुख र माला केसी उपप्रमुख पदमा उम्मेदवारीको टुंगो लागेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया