नो हर्न नो ह्यारेसमेन्ट ?

सुमित्रा भट्टराई

२०७४ वैशाख ०१ गते, काठमाडौँ हर्नमुक्तक्षेत्र घोषणा भएको दिन पंक्तिकारलाई सुर्खेतमा चर्को मोटरको हर्नले
ब्युँझायो । सरकारले २०७४ वैशाख १ गते अर्थात् आजकै मितिदेखि राजधानीलाई हर्न निषेधे घोषणा गरेको छ । उसो त २०७२ वैशाख ०१ गतेदेखि सरकारले प्लाष्टिक मुक्त क्षेत्र उद्घोष गरपनि बैशाख १२ को महाभुकम्पले प्रभावित
बनायो ।

नेपालीलाई हर्न बजाउनु भनेको एक प्रकारको लत लागेझैँ हो । नबजाउँदा केके न नपुग्या झैँ लाग्ने । लाखौँ रुपैँया खर्चेर किनेको मोटर हर्न बजाएर देश दुनियालाई देखाउन पाईएन भने के स्वाद ? मोटरसाईकल प्रयोगकर्ता आफुले हेल्मेटले कान ढाक्दा सायद कानको श्रवण शक्तिमा अवरोध उत्पन्न हुन्छ र ट्र्यार ट्र्यार अनि ट्वाँ ट्वाँ पार्दै पैदलयात्रीलाई हर्नरुपी संगित सुनाईरहन्छन् । अनि मन नलाग्दा नलाग्दै हामीले तिनका लागि रास्ता खाली गर्नै पर्छ चाहे त्यो जेब्रा क्रस होस् कि अन्य स्थल ।

यमराज झैँ बत्तिँदै आएका मोटरसाईकल चालकहरूलाई आफ्नो संगसंगै पैदल र अन्य सवारी चालकहरुले पनि मार्ग प्रशस्त गरिदिनुपर्ने अभिभारा आईलाग्छ । कसैका मोटर बम पड्केझैँ त कसैका हाँडीमा मकै भुटेझैँ सहरवासीका कानमा नयाँ नयाँ स्वाद छर्दै हुँईकिने सवारी चालकले नचिनेका कुनै गल्ली हुँदैनन् । ट्राफिक छल्दै नयाँ ठाउँ पुग्नुपर्ने बाध्यता भएका सवारी चालकलाई बेला बेला साना गल्लीमा कुखुरा मारिँदा भएका जामले अझैँ प्रभाव पार्छ । खाल्डा खुल्डी परेको बाटो कताकति भने बाध्यतात्मक हर्न बजाउनुपर्ने ।

यो त भयो केही मोटरसाईकल प्रयोगकर्ताको कार्य उपलब्धी । अब वातानुकुलित कारमा आतंक मच्चाउँदै हिँड्नेको त कुरै छोडम् । उनीहरूको चालामाला नि उस्तै हो । ठुला मोटर प्रयोगकर्ताहरूको त झन् काम पनि ठुलै हुँदो हो र हतारो नि ठुलै । सानो टाउकामा ठुला अभिभारा बोकेर हिँड्नेको दिल चैँ सानो हो क्यारे !

बाटो नछोडौँ त दुईतर्फी जिन्दगीको सवाल जो छ । बाटो काट्दै गरेका प्रायः ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई झण्डै झण्डै ठोक्कीनै आईपुगेको सवारी धनीले तुच्छ शैलीमा सराप्दै प्रश्न गछन् ‘बाँच्न मन छैन ?’ जिन्दगी कसलाई प्यारो नहोला र एकाधलाई बाहेक ? तर बाँच्ने सवालको प्रश्न छेड्ने ति सवारी चालक स्वयम्लाई उत्तर सुन्ने फुर्सद हुन्न । केलाई सोध्नु प्रश्न ? आफुलाई आएका उत्तर सुन्ने सम्म धैर्यता नराख्ने महानुभावले त प्रश्नै नगर्दा नै जाती हुन्थ्यो हो नि है ।

झरीको दिन होस अनि खाल्डाखुल्डीले भरिएको बाटो । त्यो खाल्डो भएर हिँड्ने यात्रुहरू गाडीले पिच्करी छ्याप्छ की भन्ने त्रासमै चारपाँच मिटर टाढा बसेर पहिले सवारी साधनलाई बाटो छोडीदिनुपर्छ अन्यथा गन्तव्यको साटो ड्रेस चेञ्ज गर्नुपर्ने स्थान खोज्नुपर्छ ।

गत वर्ष दशैँको घटना आफन्तकहाँ टिका थाप्न जाँदा सवारी चालकको नियतका कारण टिका भन्दा पहिला सडकको हिलो टाँस्न बाध्यभएका थियौँ हामी । गाडी यसरी बत्तिएर गयो कि हामी मध्य कसैले पनि गाडी नम्बर नोट गर्न सकेनौँ ।

केहीदिन अघिको कुरो हामी बेलुकीपख बजारतिर घुम्न निस्किएका थियौँ । पछाडीबाट हुईकिँदै आएको एउटा मोटरसाइकलले हामी नजिक पुगेपछि बेस्सरी हर्न बजायो । उसो त हामी सडक पेटीमै हिँडीरहेका थियौँ । कोही चिनेको मान्छे होकी भन्दा पनि हैन । न त त्यहाँ कुनै भिआईपी सवारी नै हुनेवाला थियो । वरपर हेर्दा हाम्रो अगाडी गाडी वा मान्छे पनि थिएनन् । बल्ल थाहा भो त्यो जिस्काउनकै लागी बजाईएको हर्न थियो ।

एकैछिन अर्काको कान टट्याउने गरी मोटरको आवाज चर्काए वापत प्राप्त हुने आनन्दलाई शास्त्रले कुन श्रेणीमा राख्छ ? अथवा यस्ता मनोरोगीहरूलाई कस्तो किसिमको ‘साईकोलोजीकल ट्रिटमेन्ट’ले सामान्य अवस्थामा फर्काउँछ ? यो एक प्रकारको आतंकनै हो ।

नो हर्न नितिले ध्वनी प्रदुषणसंगै त्यही साईकोलोजिकल ईलनेसलाई घटाओस भन्ने चाहना हो । केही मोटर चालकले पैदलयात्री वा साईकल चालकलाई चर्को हर्न बजाएर दिक्कमात्रै पार्दैनन् । कलेज युवती हुन् या जुनसुकै पेशामा कार्यरत् युवती (पीडित कहिलेकाँही पुरूष पनि बन्न सक्छन्) हुन् उनीहरूलाई मानसिक तनाव दिईरहेका हुन्छन् । हर्न बजाएर अथवा हिलो छ्यापेकै बहानामा उजुरी गर्ने आँट पनि प्रायको हुँदैन । हेर्दा सानो घटना जस्तो लागेपनि मोटर आवाजकाण्ड होस या हिलो छ्याप्ने काण्ड दुवैले पीडित पक्षलाई मानसिक पीडा दिन्छ ।

यो विषयलाई मैले प्रश्नका रूपमा केही दिन अघि सामाजिक सञ्जालमा राखेकी थिएँ । मलाई उत्तरका रूपमा हर्न बजाउनुलाई युवतिहरूलाई दिईने अनावश्यक हैरानीसंग अर्थात मेन्टल ह्यारेसमेन्ट (दुव्र्यवहार)संग जोड्न मिल्छ की मिल्दैन भन्ने विषयका बारेमा राय धारणा बुझ्नु पनि थियो ।

मैले सोधेको प्रश्न ‘नो हर्न निति लागु भएपछि ह्यारेसमेन्ट घट्छ की घट्दैन ?’ भन्ने थियो । जसमा अधिकांशको उत्तर हैरानी गर्ने मान्छेले अन्य विकल्प खोज्छ नि भन्ने किसीमको गरेका थिए । यसबाट मैले दुईवटा उत्तर पाएँ । पहिलो त हर्न बजाएर दुख दिनुलाई तपाई हामी मध्ये कतिपयले समस्याको रूपमा लिएकै छैनौँ । केवल मनोरञ्जनकै रूपमा लिएका छौँ । दोस्रो उत्तर भने नोहर्न निति लागुभयो भने पनि युवति जिस्क्याउने विकल्प थुप्रै छन् भन्ने किसिमको थियो ।

यसबाट नेपाली युवतिले हर्न आतंक बाहेक अन्य ‘थुप्रै विकल्पहरू’को सामना गर्नुपर्ने छ भन्ने बारेमा पनि जानकारी पाईयो । अझ तेस्रो किसीमको कमेन्टको त कुरै छोडौँ एकजना प्राध्यापक ज्यूको उत्तर थियो ‘त्यसो भा अब केटीहरू के गरेर आत्म गौरव गर्लान् ?’ । थाहा छैन उहाँले त्यो आफ्नो अनुभव लेख्नुभएको थियो वा अरूको अनुभव तर कुुरा यत्ति हो त्यो उत्तर उहाँको ओहदाले दिने जवाफ भने थिएन ।

‘नो हर्न निति’का बारेमा कसैको विमति रहे पनि मलाई भने सरकारको कदम सकारात्मक लागेको छ । यो निति मैले यहाँ जोड गरेको विषयमा भन्दा बढी ध्वनी प्रदुषण नियन्त्रणका लागि लागु गरिएको हो । ध्वनी प्रदुषण र हर्न आतंक बाहेक यसले सवारी ओभरटेकबाट हुने दुर्घटना न्यूनीकरणमा समेत मद्दत पुर्याउने देखिन्छ । तर निति लागु गर्नु संगसंगै सडकको अवस्था र स्तर सुधार गर्नु भने जरूरी छ किनभने सवारी दुर्घटना मोडहरूमा मात्रै हुँदैनन् । सडकमा खुला गाईवस्तु, असंख्य खाल्डाखुल्डी, लाईटबिनाका अन्धकार सडकहरू, अत्यावस्यक समयमा घण्टौँ लामो जाम पर्खिनु हाम्रा यर्थाथ र बाध्यता हुन् ।

सडक सुध्रिएमा नियत पनि सुध्रिन्छ । यसैगरी यो नितिलाई देशव्यापी निति बनाउन पनि आवश्यक छ ताकी देशका सबै स्थल ध्वनी प्रदुषण मुक्त बनुन्, ओभरटेकले निम्त्याउने सवारी दुर्घटना घटोस् ।

निगरानीको पनि खाँचो छ ताकी यो घोषणा प्लाष्टिकमुक्त क्षेत्र घोषणा झैँ निष्क्रीय नबनोस् । हरेक सडकमा नियम उल्लंघन गरेवापत कारवाही गर्ने निकाय बसेको हुँदैन र मनोमानी चल्ने गर्दछ, नो हर्न निति आफ्नै लागि हो भन्ने बारेमा नागरिकले पनि ख्याल गरौँ । सडकमा हिँड्ने पैदलयात्रीले साईलेन्सर फ्याँकेर हिँडेका मोटरसाईकलहरूको आवाजले तर्सिँदै नागरिक हिँड्नु नपरोस्, स्कुटर चालक युवतीहरूले माईक्रोबसको अनावश्यक हर्न खेप्न सुन्न
नपरोस् । त्यसैले हामी चाहन्छौँ ‘नो हर्न, नो ह्यारेसमेन्ट ।’

@farsumitra

प्रतिक्रिया

प्रतिक्रिया