गाउँमै सरकार, जनता बेखबर

स्थानीय तहको सुविधामा चासो

स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधाका बारेमा जनता बेखबर जस्तै छन् । पछिल्लो समयमा फेरबदल भएको आफ्नो वडा नंम्बर पनि थाहा नपाउँदा सरकारी कार्यालयमा स्थानीयहरु सास्ती खेप्दै आएका छन् ।

सेवाग्राहीलाई कर्मचारीको पहिलो प्रश्न हुन्छ, नयाँ ठेगाना के हो ? सेवाग्राहीले फेरबदल भएको संरचना बारे राम्ररी बुझ्न पाएकै छैनन् ।

बाँके बागेश्वरीबाट नापी कार्यालयमा नक्सा पास सम्बन्धी काम लिएर पुगेका पुगेका दलविर थापाले आफुलाई नयाँ ठेगाना थाहा नभएको बताए । पुरानो ठेगानालाई आधार मानेर काम हुने गरेपनि नयाँ अनिवार्य रहेको कर्मचारीले सेवाग्राहीलाई जानकारी दिँदै आएका छन् ।

 पुरैनाका चुम्नलाल बर्मा भन्छन्, गाबिसबाट प्राप्त हुने सेवाका बारेमा हामी अनभिज्ञ थियौं, नयाँ स्थानीय तहको सुविधा यति चाँडै कसरी थाहा हुन सक्ला । महिनौ लाग्छ आफ्नो ठेगाना थाहा पाउन, उनले भने, जनताले राम्ररी सरोकार नराख्दा स्थानीय तहका सेवासुविधा थाहा पाउन सकिदैन ।

साविकको होलिया गाबिस तथा हाल डुडुवा गाउँपालिका वडा नं.१ का विनोद कुमार तमोलीले सुविधाहरु बढेको सुनिएको बताए । बाँके परसपुरबाट सिफारिसका लागि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा पुगेका सियाराम साईंलाई प्रशासकीय अधिकृत मोहन हमालले वडाबाट प्राप्त हुने सुविधा बारे जानकारी दिँदै भने, अब कुनैपनि कामका लागि उपमहानगरपालिका धाउनु पर्दैन ।

अधिकाँश काम वडा कार्यालयबाटै सम्पन्न हुने किसिमको सुविधा विस्तार भएको हमालले सेवाग्राहीलाई बताए पछि साथमा आएका तीन जना अन्य सेवाग्राही वडा कार्यालय फर्किए ।

नयाँ स्थानीय तह, अनभिज्ञ जनता रहेको अवस्थामा स्थानीय तहका कर्मचारी आफ्नो टेबलमा फेला नपर्दा जनतालाई कुन स्तरको सास्ती छ भनी साध्य छैन, अधिकृत हमालले भने, जनतालाई झुक्याउने, गुमराह गर्ने काम कर्मचारीबाटै हुन्छ ।

गाउँ गाउँमा सरकार पुग्यो भन्ने हिसाबको स्थानीय तह डिजाइन भयो तर कर्मचारी छैनन्, १५ जना कर्मचारीले गर्नु पर्ने काम वडा सचिवबाट कसरी सम्भव छ, हमाल भन्छन्, सामान्य सिफारिसका लागि पनि वडा कार्यालयबाट सेवाग्राहीलाई उपमहानरपालिका पठाउने पुरानो चलन अझै यथावत छ ।

नेपालगन्जन्यूजसंग हमालले भने, वडा कार्यालयबाट सम्पादन हुने अधिकाँश काममा तोक लगाउन सेवाग्राहीलाई उपमहानगरपालिका पठाएर सास्ती दिने चलन कायमै छ ।

यसअघि गाबिस कार्यालयबाट सेवा लिँदै आएका जनताले अझै गाउँमै सरकार पुग्ने अवस्था बुझ्न सकिरहेका छैनन् ।

बाँकेमा अहिले ८ वटा स्थानीय तह छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका बाँकेको सहरी स्थानीय तह हुन् ।

स्थानीय तह अझ गाउँपालिका र वडापालिकाको काम कर्तब्य, अधिकार र त्यहाँबाट जनताले पाउने सेवा सुविधाका बारेमा जनतालाई सूसुचित गराउन ढिला भैसकेको बताउँछन् सरोकारवालाहरु ।

स्थानीय तहले गर्ने काम

संबिधान कार्यान्वयनको लागि सरकारले स्थानीय निकाय विघटन गरेर स्थानीय तह गठन गरिसकेको छ ।

संबिधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको काम, कर्तब्य र अधिकार स्थानीय निकायको भन्दा ब्यापक छ । स्थानीय तहमै सरकार, संसद र अदालत हुन्छ, केन्द्र सरकारले जे जस्तो सेवा प्रवाह गरिरहेको हुन्छ, त्यो सबै काम स्थानीय तहले गर्छ, नेपालगन्ज उपमहानगरपालिका कार्यालय बाँकेका प्रशासकीय अधिकृत मोहन हमालले बताए ।

सरकारले स्थानीय तहको काम, कर्तब्य र अधिकार प्रष्ट पारिसकेको छ । गाउपालिका वा नगरपालिकाका वडा कार्यालयहरुलाई सरकारले तोकेर नै काम दिएको छ । वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह हुँदा जनतालाई राहत पुग्ने कुरा भएपनि जनतालाई सेवा बारे जानकारी नहुँदा झन जोखिम बढेको जस्तो देखिएको हो, हमालले भने ।

 बैशाख ३१ को स्थानीय तह निर्वाचनले निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सन्चालन गर्नेछन् । र सघन रुपमा काम गर्ने विश्वास गर्न सकिन्छ । जनताको आँगनमा सरकारलाई चरितार्थ गर्न स्थानीय तह अझ विशेष गरि वडापालिकाबाट प्रदान हुने सेवा सुविधाका बारेमा प्रशस्त सूचनाहरु दिनु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया