लाग्यो चुनाव : सम्भावित उम्मेदवारहरु भोट माग्न पसे गाउँ
करिब २ दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवार भन्दा बढि उत्साहित जनता देखिएका छन् ।नेपालगन्जन्यूजको टिमले नरैनापुर गाँउपालिकामा गरेको स्थलगत रिर्पोटिंगको क्रममा उम्मेद्वार र मतदाता दुबै उत्साहजनक स्थितीमा रहेको पाइएको हो ।
निर्वाचनको सम्भावना नजिक पुगेपछि प्रचार र घरदैलोले गति लिएको हो । बैठक, सभा, छलफल र भेटघाट अभियान बढ्दै जान थालेकाले मतदाताहरु निर्वाचन हुने मा विश्वस्त देखिन थालेका हुन् ।
नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी, राप्रपा लगायतका दलहरु उम्मेदवार छनौटको प्रारम्भिक चरणमा रहेका छन् । दलहरुले आफ्ना गतिविधिलाई तेज बनाएका छन् ।
आफ्नो माग सम्बोधन नभएसम्म निर्वाचन बहिष्कार र निर्वाचनमा अवरोध गर्ने भन्दै आएका मधेशी मोर्चाले पनि आन्तरिक रुपमा उम्मेदवार तय गर्ने गृहकार्य गरिरहेको बुझिएको छ ।
आफु उम्मेदवार बन्दैछु, भोट दिनुहोला भन्दै दैनिक दर्जन बढि नेता कार्यकर्ता आउँछन्, नरैनापुरका हलिम खाँले भने, वडा अध्यक्ष देखि गाउँपालिका अध्यक्षका दावेदारहरु घरदैलो हुँदै खेतमै भोट माग्न पस्छन् ।
यसै विच पार्टीबाट रुष्ट भएका तथा टिकट नपाएका ब्यक्तिहरुले स्वतन्त्र उम्मेदवारी दिने चर्चा चुलिएको छ । नेपाली काँग्रेसले नरैनापुर गाउँपालिकामा आफ्नो उम्मेदर प्रभावकारी ब्यक्ति राख्ने हिसाबले स्थलगत अध्ययन कार्य अघि बढाएको छ ।
पार्टीका युवा नेता सुधान्शु कोइरालाले दिएको जानकारी अनुसार केहि वकिल र प्राध्यापकहरुलाई स्थलगत रुपमा नेताहरुको अवस्था र जनतामा रहेको प्रभावबारे अध्ययन गर्न खटाइएको छ । रिपोर्ट आएपछि सोही आधारमा उम्मेदवार तय गर्ने रणनीति लिइएको छ, उनले भने, अहिले पार्टीले कुनैपनि नाम तय गरेको छैन ।
नेपाली काँग्रेसका स्थानीय नेताहरु रामचन्द्र मौर्य, इसहाक जोलाह प्रचारमा लागेको पाइएको छ । उनीहरु मध्ये गाउँपालिका अध्यक्षको टिकट कसले पाउने पक्का नभएपनि जनतामाझ प्रभाव देखाउने कार्य सुरु भएको हो ।
नेकपा एमालेका तर्फबाट नरैनापुर गाउँपालिका अध्यक्षका सम्भावित उम्मेदवार विक्रम यादव सक्रिय रुपमा घर दैलोमा खटिएका छन् । उनी सांसद दिनेशचन्द्र यादवका छोरा हुन् ।
शनिवार एमाले बाँकेका शिर्ष नेताहरुसंगै मटेहियामा सभा गर्दा भेटिएका उनले आइतबार नरैनापुर र लक्ष्मणपुरमा स्थानीयहरुसंग भोटका लागि अपिल गरेका थिए ।
गाउँपालिकाका अध्यक्षका अर्का सम्भावित उम्मेदवार रामानन्द शर्मा हुन् । उम्मेदवार जनताले बनाउने हो, जिताउने पनि जनताले नै हो, नेपालगन्जन्यूजसंग कुरा गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिने बताइरहेका रामानन्द शर्माले भने, स्थानीय तहको निर्वाचनमा पार्टीले खासै महत्व राख्दैन । ब्यक्तिगत हिसाबले भोट आउने सम्भावना बढि हुन्छ, उनले भने, जनताको लागि काम गर्ने साहस म भित्र छ ।
संघीय समाजवादी फोरमका नेता अजय श्रीवास्तवले पनि सक्रिय रुपमा भित्र भित्रै प्रचार अघि बढाएको स्थानीयले बताएका छन् ।
गाउँमा चारपाँग्रेको आवतजावत बढेको छ । घर घरमा नयाँ अनुसार आउन थालेका छन् । गाउँमा उपस्थित हुने निमन्त्रणा घर घर पुगेको छ । दिनहँु गाउँमा भेला हुने र भाषण हुन थालेपछि चुनाव आएको जनतालाई अनुभूति हुन लागेको छ ।
कटकुईंयाका होलीराम यादव भन्छन्, राप्तीपारि क्षेत्रको मुहार परिवर्तन गर्न सक्ने हिसाबको नेतालाई मात्रै भोट दिने हो ।भारतीय सीमावर्ती क्षेत्र र जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका सबैखाले विकास सूचकांकमा पुछारमा रहेको नरैनापुर गाउँपालिकाका मतदाताको अपेक्षा राप्तीपारि विकासको मूलधारमा प्रवेश गरोस् भन्ने हो । जनता जो संग विश्वस्त हुने छन् जित उसैको हुने छ, होलीराम भन्छन् ।
जिल्लाका ६ गाविस गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुईंयालाई समेटेर नरैनापुर गाउँपालिका गठन भएको हो । नरैनापुर गाउँपालिकाको जनसंख्या ३४ हजार ९ सय ४२ रहेको छ भने क्षेत्रफल १७२.३४ वर्ग किमि छ ।