‘ईदगाह गेट’ को चुपचाप शिलान्यास किन ?

बिपी चौकस्थित नेपालगन्ज ईदगाहको मुख्य द्वार पूनर्निर्माण शुरु भएको छ । त्यसका लागि मंगलवार शिलान्यास गरिएको हो ।


नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले संयुक्त रूपमा शिलान्यास गर्नुअघि पूर्वकादरी मस्जिदका इमाम ‘धर्मगुरु’ हाफिज अहमद यारले कुरानको पाठ वाचन गर्दै देशमा सुख शान्तिका लागि प्रार्थना गरेका थिए ।


नेपालगन्ज उप महानगरपालिकाको ५५ लाख बजेटमा ईदगाहको मुख्य द्वार निर्माण गर्न लागिएको हो । उप नगर प्रमुख कमरुद्दीन राईले बहु धार्मिक, साँस्कृतिक शहरको रूपमा परिचित नेपालगन्जमा आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउन र धार्मिक सम्पदाको संरक्षणमा नेपालगन्ज उप–महानगरपालिकाले विशेष ध्यान दिएको बताए ।


५५ लाख बजेटमा ६० फिट उचाईको निर्माण हुन लागेको ईदगाह मुख्य द्वार निर्माणका लागि बशीर पठानको अध्यक्षतामा ७ सदस्यी उपभोक्ता समिति बनाइएको छ । समितिको सचिवमा अब्दुल बहाउ सिद्दीकी, कोक्षाद्यक्ष तारा सिद्दीकी, सदस्यमा महेर जहाँ खान, गौहर शेख, श्यामा यादव र राजु गोडिया छन् ।


शिलान्यासमा नगर प्रमुख, उप प्रमुख, कार्यपालिका सदस्य बसन्त कनौजिया र जमाल अहमद हलवाई, ईदगाह संचालक समितिका अध्यक्ष फिदा हुसैन अन्सारी, उपाध्यक्ष जियाउल हक र अल्फाज सिद्दीकी, महासचिव इरफान सिद्दिकी, कोषाध्यक्ष नफीस अन्सारी, सदस्य, मुश्ताक अन्सारी र प्यार सिद्दीकी, ईदगाह गेट निर्माण उपभोक्ता समिति अध्यक्ष बशीर पठान र सचिव अब्दुल बहाउ सिद्दीकी लगायत सहभागी थिए ।


मुस्लिम समुदायको धार्मिक आस्थाको केन्द्र ईदगाहको मुख्य द्वार शिलान्यास चुपचाप गरिएको भन्दै  आक्रोश व्यक्त गरिएको पत्रकार सकिल अहमद कादरीले बताएका छन् । ‘शिलान्यास हुने खबर समुदायलाई गराउने त परे जाओस ईदगाह समितिकै कतिपय सदस्यले पनि सूचना नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्,’ पत्रकार कादरीले दैनिक नेपालगन्जसँग भने, ‘समितिका सिमित व्यक्तिको मोनोपोलीले समुदायमा चौतर्फी आलोचना भइरहेको छ ।’


औलामा गणना गर्न सकिने व्यक्तिहरुको उपस्थितिमा भएको शिलान्यास कार्यक्रमले समुदायकै बेइज्जती भएको स्थानीयको टिप्पणी थियो । ‘ईदगाहकैवरपर रहेका मुस्लिम समुदायले समेत सुइँको पाइएन,’ आक्रोशित ईदगाह रोड़ निवासी अब्दुल शेखले भने । उनले महत्वपूर्ण पुण्यको कार्यको शुभारम्भमा आफुहरु सहभागी हुन नपाउँदा फैजुन्नाबी ईदगाह सञ्चालक समितिप्रति धेरैले आक्रोश पोखेको टिप्पणी गरे ।

प्रतिक्रिया

प्रतिक्रिया