
स्वास्थ्य सेवा र अत्यावश्यक उपभोग्य वस्तु व्यवस्थापन गर्ने प्रतिवद्धता
बाँकेका जनप्रतिनिधिहरुले आपतकालीन स्वास्थ्य सेवा, अत्यावश्यक उपभोग्य वस्तु व्यवस्थापनमा पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । कोरोना (कोभिड –१९) को जोखीम न्यूनीकरण, उपभोग्य वस्तुको सहज परिपुर्ती, जनप्रतिनीधीको भूमिका र सरोकार पक्षसँगको सहकार्यका सन्दर्भमा जनप्रतिनीधीसँग सोमबार गरिएको भिडीयो सम्वादमा सो प्रतिवद्धता सार्वजनिक भएको हो । सम्वाद समूह बाँकेको पहलमा सात वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच गरिएको अनलाइन भिडीयो कलमा कोरोना रोकथाम र नियन्त्रण, विपन्नलाई राहत वितरण, खाद्यान्न\ तरकारी सहज विक्री व्यवस्थापन आदिलाई प्राथमिकतामा राखेर काम गरिएको जनाइयो ।
स्वास्थ्य, सुरक्षा, वाणीज्य, सामाजिक\नागरिक संघ संस्था लगायत सम्वद्ध सरोकार निकायसँग प्रभावकारी समन्वय नगरेको गुनासो सार्वजनिक भइरहेका बेला जनप्रतिनीधीले भने आपतकालीन अवस्थामा सबैसँग समन्वय र सहकार्य गर्ने हर प्रयास गरिएको दावी गरेको सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिएका छन् ।