लकडाउनको सातौं दिन आइतवार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले सुकुम्वासी र मजदुरबस्तीमा सहयोग गरेको छ । नेपालगन्ज १८ को नयाँ गाउँ सुकुम्बासी वस्तीमा वडाध्यक्ष दिपक कुमार बर्माले खाद्यान्न सहयोग वितरण गरेका हुन् ।
वडाध्यक्ष बर्माका अनुसार, ४१ घरपरिवारलाई ५ किलो चामल, एक किलो दाल, एक किलो प्याज र दुई किलो आलु सहयोग गरिएको हो । नयाँ वस्तीमा बसोबास गर्नेमध्ये अधिकाँश दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरु लकडाउनका कारण समस्यामा परेपछि वडाले सहयोग गरेको अध्यक्ष वर्माले बताए । लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै वर्माले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन वडाबासीमा आग्रह समेत गरिएको बताए ।