नीतिगत निर्णयदेखि व्यक्तिगत इखसम्ममा विवादले कोहलपुर नगरपालिका किचलोमा परिरहेको देखिन्छ ।
नेपालगन्ज – स्थानीय निर्वाचन भइ जनताले जनप्रतिनिधि पाएको दुइ वर्ष बितिसकेको छ । यो दुइ वर्षको अवधिमा कतिपय स्थानीय सरकारले राम्रो काम गरेर प्रशंशा कमाइ रहेका छन् भने कतिपय स्थानीय तहहरुले बिभिन्न कारणले बद्नाम कमाएका छन् । कतिपय जनप्रतिनिधिहरुले उदाहरणीय कामहरु गरेर चर्चा बुटुलेका छन् भने कतिपय विभिन्न विषयमा विवादित बन्दै आएको देख्न र सुन्न सकिन्छ ।
मुलुकभरका कतिपय स्थानीय तहमा प्रमुख उपप्रमुख र पक्ष विपक्ष बीचको विवाद चर्किदैं आएको छ । कतिपयको त बोलचाल नै बन्द भएको पनि सुन्न पाइन्छ । केही जनप्रतिनिधिरु अधिकार खोसिएको भन्दै अदालतसम्म पुगेका समाचार पनि बेलाबेलामा सुन्न र पढ्न पाइन्छ । बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, कर्मचारी भर्ना, निणय प्रक्रिया लगायतका कारण विवाद चुलिँदै आएको छ ।
प्रमुख उपप्रमुख र पक्ष विपक्ष विच विवाद हुँदै आएका बिभिन्न पालिका मध्येको बाँकेको कोहलपुर नगरपालिका पनि एक हो ।
स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भइ नगरपालिकाको जिम्मेवारी सम्हाले देखिनै बिभिन्न विषयमा विवाद चुलिँदै आएको हो। नगरपालिकामा शुरुदेखि नै उत्पन्न प्रमुख र उपप्रमुखको विवाद दुइ वर्ष बित्दा समेत साम्य हुन सकेको छैन । उनीहरुको विवादले उग्र रुप लिदै गएको देखिन्छ । जनप्रतिनिधिबीचको द्वन्द्व र विवादको कारण समग्र नगरको विकास निर्माणमा अवरोध पुगेको छ भने नगरवासीहरु मर्कामा परेका छन् ।
नगर प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरी पक्षबीचको विवादले बेला बेलामा नगरपालिकामा तरंग ल्याउने गर्छ । नगरसभामा बजेट प्रस्तुतिकरण, सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन, योजनाको नामाकरण, वजेट बाँडफाँड, करारमा कर्मचारी भर्ना, लगायतको विषयलाई लिएर विवाद विवाद उत्पन्न हुने गरेको छ । सबै मिलेर नगरपालिकाको विकास र समृद्धिको लागि काम गर्नुपर्नेमा एक आपसमा विवादित हुन थालेपछि नगरको विकासले गति लिन नसकेको नगरवासीहरु बताउँछन् ।
केहि समय अघि नगरका बिभिन्न ८ वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनका लागि कर्मचारी छनोटको विषय अदालत सम्मै पुग्यो । नेपाली काँग्रेस पक्षका जनप्रतिनिहरुले नगर प्रमुखले बिधि प्रक्रिया विपरित एकलौटी गर्न खोजेको आरोप लगाउँदै नगरपालिकामा ताला लगाउने र अदालतमा मुद्धा हाल्ने काम गरेका थिए । बिधि र प्रक्रिया अनुसार लिखित तथा मौखिक परीक्षा मार्फत निष्पक्ष तरिकाबाट कर्मचारी छनोट गर्नुपर्नेमा लिखित परीक्षा नलिएर आफ्नो तरिकाले छनोट गर्न खोज्दा आफुहरुले प्रक्रियामा जाने माग गर्दै विरोध गरेको वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउनेको आरोप छ । नगर प्रमुख लुट बहादुर रावतले भने स्वास्थ्यकर्मीहरु छनोटका लागि बिज्ञापन भए बमोजिम आवेदन परेका ब्यक्तिहरुको लिष्ट तयार गर्दै गर्दा प्रक्रियामा जानु अघि नै शंकाको भरमा बिरोध गरि ताला लगाउने सम्मको निज कार्य गर्न पुगेको बताए । यस्तो सामान्य विषयमा पनि आन्तरिक छलफल गर्न छोडेर ताला लगाउने र अदालत सम्म पुग्नु कसैका लागि पनि राम्रो नभएको प्रमुख रावतको भनाइ थियो ।
श्रावण महिनामा आ.व. ०७५÷७६ समिक्षा गर्ने उद्धेश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगरप्रमुख कार्यक्रममा उपस्थित हुनुपर्ने माग गर्दै विरोध गरेका थिए । नगर प्रमुख रावत अस्वस्थताको कारण उपप्रमुख सन्जु कुमारी चौधरीलाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएर उपस्थित थिएनन् । त्यही विषयले सार्वजनिक सुनुवाइमा तोडफोडको अवस्था उत्पन्न भयो । महत्वपूर्ण कार्यक्रममा नगरप्रमुख उपस्थित नभएको भन्दै पछि कार्यक्रम नै स्थगित भएको थियो ।
नगरपालिकाको वार्षिक बजेट प्रस्तुतिकरण कार्यक्रमको दिन पनि विभिन्न कारण विवाद उत्पन्न हुने गरेको थियो । पटक–पटक जनप्रतिनिधिको विवादले जनता मर्कामा पर्ने गरेको र विकासमा अवरोध सिर्जना हुने गरेको स्थानीयहरु बताउँछन् ।
गत वर्षको बजेट भाषणका बेला बीपी मार्ग घोषणा, उपप्रमुखसँग महिला कार्यक्रम, १४ वटामा औद्योगिक ग्राम नभएर पर्यटन बनाउने, ११ नम्बर वडामा रहेको थारू संग्रहालय १० नम्बरमा सार्ने जस्ता विषयको विवादले तालाबन्दी देखि नगरसभा अवरुद्ध गर्ने काम सम्म भएको थियो ।
नगरपालिकाका प्रमुख रावतले आन्तरिक कुरा बाहिर लिनु हँुदैन, केही बिमतिहरु भए भित्रै छलफल गर्नुपर्छ भन्ने पक्षमा आफु भएको भएपनि काँग्रेस पक्षका प्रतिनिधिहरु हरेक विषयमा विवाद मात्र गर्ने मनसायले प्रस्तुत हुने गरेको बताए । नगरपालिकाको विषयमा बैठकमा छलफल गरि समस्या समाधान गर्नुको सट्टा अराजकता देखाउने गरेको बताउँदै रावतले भने, ‘कुनै विषयमा बिमति भए आन्तरिक छलफल गर्ने, बहस गर्ने र निणयमा चित्त नबुझे स्पस्ट धारणा सहित नोट अफ डिसेन्ट लेख्ने लोकतान्त्रिक प्रक्रिया अवलम्बन नगरि खुल्ला रुपमा अराजक तरिकाले प्रस्तुत हुने गरिएको छ ।’ बहुदलीय प्रणालीमा बहुमतको निणय मान्न हुने भएपनि बैठकनै बहिष्कार गर्ने, नगरसभानै बहिष्कार गर्ने गर्नुले नगरपालिका र नगरवासी कसैलाई फाइदा नपुग्ने रावतको भनाइ थियो ।
कांग्रेस निकट वडा नम्बर १० का अध्यक्ष निमबहादुर चलाउनेले नगरपालिकाले प्रदान गर्ने सेवा, संचालन हुने योजना तथा कार्यक्रम व्यवस्थित, पारदर्शी हुनुपर्ने, जवाफदेहिता बहन गर्नुपर्ने, कार्यशैलीमा सुधार आउनुपर्ने, गैरकानुनी रुपमा लिंदै र दिदै आएको सेवा सुविधा बन्द गर्नुपर्ने, सहमति, आवश्यक्ता र प्राथमिकताको आधारमा योजना छनोट तथा कार्यान्वयन हुनपर्ने आफुहरुको सुरुवातदेखिको माग भएको बताए ।
नगरका काम कारबाहीहरु एकलौटी ढंगले बहुमतको आधारमा गर्ने गरिएको र गलत क्रियाकलाप हुदै आएकाले पटक–पटक विरोध गर्दै आएको वडाध्यक्ष चलाउनेको आरोप छ । पालिकाले गरेका कामहरु चौमासिक रुपमा सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रममाध्यामबाट पारदर्शिता गर्ने, नियमित छलफल गर्ने, अनियमित कामलाई रोक्नुपर्ने लगायतको विषयमा बारम्बार आवाज उठाउँदै आएको भएपनि सुनुवाई नभएको काँग्रेस पक्ष जनप्रतिनिधिहरुको आरोप छ ।
नगर कार्यपालिका सदस्य नारायणी वलीले आफुले पाएको ऐतिहासिक अवसरलाई विवादमा रुपान्तरण गर्नु भनेको जनप्रतिनिधिहरुलाई कलंक लाग्ने बाम भएको बताइन् । तीनै तहका कानुनहरु र जनप्रतिनिधिको भुमिका स्पस्ट नहुँदा र बिभिन्न विषयमा बुझाइमा फरक पर्दा विवाद हुने गरेको भन्दै वलीले दैनिक नेपालगन्ज सँग भनिन् ‘नगरप्रमुखले सबैलाई समेटेर लिने र काम गर्ने कोशिश गर्दै आएको भएपनि अर्को पक्षले कहिल्यै सहयोग नगर्ने र विरोधको नाममा विरोध तथा विवाद गर्दै आएको र जस्को कारण विकासमा अवरोध आउने गरेको छ ।’ ‘सबै मिलेर विकासका लागि लड्नुपर्नेमा एक आपसमा इगोको लडाइँ लड्दा जनताले धिक्कार्ने भन्दै स्थानीय सरकारमा पक्ष र प्रतिपक्षको भुमिका हुनु हँुदैन,’ वलीको भनाइ छ ।