आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

कोहलपुर – कोहलपुर नगरपालिका वडा नं ८ पिपीरीको सरस्वती चोक स्थित वडा नं ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । विहिबार कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।

त्यसक्रममा नगर प्रमुख रावतले सरकारले स्वास्थ्य सेवा जनताको घरदैलोमा नै प्रदान गर्ने लक्ष्य अनुसार वडा नं ८ मा स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको बताए । नगर प्रमुख रावतले भने, ‘अब स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान, चेतना र स्वास्थ्य सेवा यसै केन्द्र बाट स्थानीय जनताले प्राप्त गर्ने छन् ।’

रावतले सेवा केन्द्र उद्घाटन कार्यक्रममा उपस्थित वडावासी जनसमुदायलाई सम्बोधन गर्दै भने, ‘आफ्नो वडामा सञ्चालन हुने हरेक योजनाहरुको हकदार वडाका सबै जनता भएकाले वडामा हुने विकास निर्माणमा तपाइहरु सबैले सुझाव–सल्लाह दिने र सहयोग गर्ने प्रक्रियाको थालनी गर्नुहोला । ८ नं. वडा विकास निर्माण गर्ने काममा कोहलपुर नगरपालिकामा सबै भन्दा अगाडि रहेको छ , यसको श्रय पनि वडावासीले नै लिने हो ।’

कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक नारायणी वलीले राज्यले आम नागरीकलाई प्रत्याभूत हुने गरी उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवा यस केन्द्र मार्फत उपलब्ध हुने दावी गरिन् । वलीले हाल संघीय सरकार मार्फत सशर्त अनुदानका रुपमा यो आधारभूत स्वास्थ्य केवा केन्द्र स्थापना गरिएको भए पनि आगामी दिनहरुमा कोहलपुर नगारपालिकाले आफ्नो कार्ययोजनामा पारेर नै सबै जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने बताइन् ।

नेकपा वडा कमिटि अध्यक्ष हुम बहादुर वली र नेपाली काँग्रेस वडा सभापती बेल बहादुर क्षेत्रीले वडामा नै स्वास्थ्य सेवा केन्द्र स्थापना गरी वडावासी जनतालाई स्वास्थ्य सेवा प्रदान गरेको कोहलपुर नगरपालिका र ८ नं वडा पालिकालाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

८ नं वडाका वडा अध्यक्ष रेशम बहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा वडा अध्यक्ष खत्रीले वडामा योजना ल्याउने काम आफूले गर्ने र ती योजनाहरुलाई गुणस्तरीय रुपमा सम्पन्न गराउन वडावासी सबैको साथ सहयोग आवश्यक हुन पर्ने बताए । जनताको साथ सहयोग पाएा ८ नं वडालाई आफनो कार्यकालमा कोहलपुर नगरपालिकाको नमूना वडा बनाएर देखाउने दावी समेत गरे ।

भर्खर स्थापना भएको स्वास्थ्य सेवा केन्द्रमा नासु सरहको एक जना र खरिदार सरहको एक जना गरी दुई जना स्वास्थ्य प्राविधिक र एक जना कार्यालय सहयागी गरी तीन जना कर्मचारी रहेका छन् । सेवा केन्द्रमा स्वास्थ्य चौकीमा उपलब्ध हुने सबै स्वास्थ्य सेवाहरु प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया