दैलेख :मन्दिरको काम गरेका मजदूर ठगिए

अमर सुनार / दैलेख -भगवतीमाई गाउँपालिकाको स्वीकृत बजेटभित्र वडा नं‌. १ कोटाटाकुराको शिव मन्दिर जाने बाटोको सिंडी निर्माणको काम गरेका मजदूरहरुले दुई वर्ष हुन लाग्दा पनि काम गरेको रकम नपाएको लिखित उजूरी र मौसिक गुनासो गर्दा समेत न्याय पाउन सकेका छैनन् ।

२०७४ को निर्वाचनबाट आएका जनप्रतिनिधिहरु जनताको भोट पाएर जिते तर उनीहरुले देवीदेउताको भाकलले पनि जितेको ठाने होलान् झण्डै छब्बीस लाख रुपैंयाँमा गाउँपालिका मुकाम बेस्तडा बजारबाट पगनाथ तर्फको उकालोको कोटाटाकुरामा मन्दिर बनाएका छन् ।
निर्वाचित भएको पहिलो बजेटबाट मन्दिर बनाउन अनुत्पादक खर्च भनेर विवाद भएपछि वडा नं. १ का वडाध्यक्ष मानबहादुर बुढा, गाउँपालिका अध्यक्ष दानबहादुर थापा र उपाध्यक्ष चन्द्रा रेग्मीको अनुनयमा बजेट स्वीकृत भएको थियो ।

‘धार्मिक काममा वाधा नहाल्नुस्, देवी देउता सबैका हुन्’ भनेपछि भइगो त भनेर बजेट स्वीकृत गरिएको भगवतीमाई गाउँपालिका–७ का वडाध्यक्ष रत्नबहादुर शाहीले त्यतिबेलाको घम्साघम्सी सुनाए । गाउँपालिकाको निर्वाचित बोर्डको पहिलो बजेटबाट १० लाख रुपैंयाँमा शिव मन्दिर र मन्दिर जाने बाटोको लागि १५ लाख ८४ हजार रमक छुट्टयाएर २०७४ पुसमा दुई वटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गराई २०७५ जेठमै काम सकाइएको थियो ।

खानेपानी, बिजुली वा जनजीविकाको सवाल छोडेर गाउँपालिकाले पहिलो विकास कार्यक्रम मन्दिर र सिंडी बनाएको विषयलाई जनप्रतिनिधिहरुलाई ‘स्वर्ग जाने बाटो’ भन्दै स्थानीयले व्यंग्य गर्ने गरेका छन् ।

त्यही स्वर्ग जानेबाट अर्थात धार्मिक स्थलको काम गरेका मजदूरहरुले काम गरेको रकम पाएका छैनन् । बाख्रा जान नसक्ने भीरमा ज्यान जोखिम राखेर सिंडी बनायौं तर मजदूरी गरेको मजदूरी रकम नपाएको भगवतीमाई गाउँपालिका–६ कट्टीका सिंहबीर रोकायले बताए ।
चुनाव जितेकै वर्ष आर्थिक वर्ष २०७४÷०७५ मा माघमा गठन भएको उपभोक्ता समिमिका अध्यक्ष खगेन्द्रबहादुर थापा भए पनि कामको जिम्मा लिएका बलबहादुर थापाले बिनियोजित बजेट सकिएको जानकारी गराउँदा गाउँपालिकाले ‘काम गराउँदै गर्नुस् पैंसा पाइहाल्नुहुन्छ’ भनेको आधारमा बढी काम गरेको तर घाटा गएको भनेर मजदूरले रकम नपाएका हुन् ।

‘आँटिला र जाँगरिला युवाहरु छानेर भीर काटेर मन्दिर जाने बाटो बनायौं तर मजदूर पाएनौं’ भगवतीमाई गाउँपालिका–२ रुमकी लक्ष्मी नेपालीले भनिन् । लक्ष्मी जस्तै ७३ जना मजदूरले रकम नपाएको बताइएको छ ।

दैनिक पाँच सय रुपैंयाँको दरले दिने सहमतिमा काम गरेका मध्ये कट्टीका मनोज थापाले ३७ दिनको १८ हजार ५ सय, ३३ दिनको ढालबहादुर केसीले १६ हजार ५ सय पाउन बाँकी छ । सबै मजदूरको रकम हिसाव गर्दा ७ लाख ५ हजार १ सय ८० रुपैंयाँ नपुग अर्थात घाटा गएको जिम्मा लिएका उपभोक्ता समितिका सदस्य बलबहादुर थापाले जनाए ।

‘गाउँपालिका अध्यक्ष दानबहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी र इञ्जिनियर शैलेस शर्मा समेतलाई रकम सकियो काम रोक्छु भन्दा गर्दैगर्नुस्, पछि पाइहाल्नुहुन्छ भनियो तर पछि जानीजानी घाटा गराउन मूल्यांकन घटायो’ थापाले भने ।

थापाका अनुसार झण्डै ४ लाखको ४ यस बोरा सिमेण्ट, ३ लाख बढीको रलिङ्ग पाइप, ग्रील ओल्डिङ्गको ७५ हजार समेत १३ लाख २० हजार ९ सय १० रुपैंयाँ निर्माण सामग्री अनि सेवामा खर्च लागेको र बाँकी ९ लाख ४४ हजार ५ सय १० रुपैंयाँ मजदूरको पारिश्रम लागेको छ ।
काम गरेका मजदूरले रकम माग्दा आइरहने गरेकोले ५–७ हजार सबैलाई आफ्नो पकेटबाट साढे ३ लाख रुपैंया मजदूरलाई तिरें तर गाउँपालिकाका पदाधिकारीहरुको बदनियतका कारण सरकारी काम गरेर आफूले बेइज्जती खेप्नू परेको बलबहादुर थापाको भनाई छ ।

मजदूरहरु र उपभोक्ता समितिले कामको पुनर्मूल्यांकन गरी रकम पाउन गाउँपालिकाको न्यायिक समिति, जिल्ला प्रशासन कार्याजयमा निवेदन दिंदा समेत वेवास्ता भएको मर्कामा परेका मजदूर ढालबहादुर केसीले बताए । यसबारे गाउँपालिका अध्यक्ष दानबहादुर थापाको ध्यानार्षण गराउँदा उपभोक्ता समितिसंगको पहिलो संझौता अनुुसार १५ लाख ८४ हजार भुक्तानी गरिएको तर संझौता नभई गरिएको कामको भुक्तानी नगरिएको प्रतिक्रिया दिए । उनले भने ‘सरकारी काम थप काम गर्नैै परे सम्झौता गरेर गर्नुपथ्र्यो ।’

गाउँपालिकाको काम गरेर ठगिएको विषयमा न्यायिक समितिमा सिकायत गर्दा पनि सुनुवाई नभएको पदम कसेराले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष चन्द्रा रेग्मीले आफू कहाँ लिखित उजूरी नआएकोले छलफल गराउन नगराएको टिप्पणी गरे ।
यो घटना साउन २० गते जिल्ला प्रशासन कार्यालयले निवेदन फिर्ता गरेको पीडित मजदूरको भनाई छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आफू आएको एक महिना अवधिमा निवेदन नआएको बताउदै निवेदन आयो भने कारवाही अगाडि बढाउने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया